बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वर दर्शनको व्यवस्था « Khabarhub

बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वर दर्शनको व्यवस्था


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ ।

भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो । यस वर्ष आगामी मङ्सिर १ गते सोमबार भाइटीका परेको छ ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो ।

उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । भाइटीकाकै लागि कामपाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको कामपा वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

मन्दिर पुरानै शैली (ग्रन्थकूट/शिखर) मा पुनःनिर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन् ।

भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा यो पोखरी बनाए । पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० अर्थात् विसं १७२७ अर्थात् इसं १६७०० मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १२ : २५ बजे

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल