गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै | Khabarhub Khabarhub

गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ ।

चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।

उनका अनुसार निकुञ्जले घाँसे मैदान व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती मध्ये नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न तीन करोड र पुरानो १०० हेक्टरमा रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

यसका लागि बोलपत्र आह्वान भइसकेको छ । ठेकेदार कम्पनीले एक करोड ८७ लाखमा सबै काम गर्नका लागि ठेक्का स्वीकारेको र केहीदिनभित्र काम शुरुआत हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए ।

नयाँ ५५ र पुरानो १५ स्थानमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जको कूल क्षेत्रफलको १० प्रतिशत हाराहारी घाँसे मैदान रहेको अनुमान छ ।

प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मकै बढी रकम घाँसे मैदान व्यवस्थापन गर्नका लागि निकासा भएको जानकारी दिए । गत वर्ष १९ लाख मात्रै घाँसे मैदान व्यवस्थापन गर्न बजेट विनियोजन भएको थियो ।

उनका अनुसार यस वर्षबाट आगो लगाउन बन्द गरेर औजार उपकरण प्रयोग गरेर घाँसे मैदान व्यवस्थापन गरिने भएको छ । यसका लागि उपकरणसमेत झिकाएर परीक्षण गर्ने काम भइरहेको छ । आउँदो तीन वर्षभित्रमा एक हजार ५०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्ने तयारी निकुञ्जले जनाएको छ ।

चालु आवमा ४९ वटा पोखरीको मर्मतसम्हार, निर्माण र व्यवस्थापन गरिने कार्यक्रम रहेको छ । दुर्लभ एकसिङ्गे गैँडा प्राकृतिक कारणले मर्ने क्रम बढेपछि निकुञ्ज विभागले घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा विशेष जोड दिएको हो ।

गत आर्थिक वर्षमा निकुञ्जमा ४३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । यस वर्षको हालसम्म निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा १८ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।

निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको भए पनि घाँसे मैदान र पानीका स्रोत कम भएपछि तीनको खोजीमा भौतारिएका गैँडा धेरै मरेको अनुमान छ । दुई वर्ष अघि आएको बाढीका कारण बगाएर धेरै गैँडा पश्चिम क्षेत्रमा पुगेका थिए ।

चैत महिनामा गैँडा गणनासमेत गरिँदै छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । पछिल्ला वर्षहरुमा शिकारीका कारण भने गैँडा मरेका छैनन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : ४५ बजे

दीपक आचार्यको ‘परान’ कात्तिक १४ मा

काठमाडौं – हाँस्य टेलिभिजन सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’बाट चर्चामा आएका

जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू)

काठमाडौँ- भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छ : नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार