एशियाकै पुरानो सुरुङमार्गको पुनर्निर्माण वैशाखबाटः मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

एशियाकै पुरानो सुरुङमार्गको पुनर्निर्माण वैशाखबाटः मुख्यमन्त्री पौडेल


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेश सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्ने भएको छ ।

वर्तमान सन्दर्भमा व्यावसायिक प्रयोगका लागि उपयुक्त नभए पनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन पर्वर्द्धनका लागि सुरुङमार्गको जीर्णोद्वार गरेर पुनःसञ्चालनमा ल्याउने योजना अगाडि सारिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।

तत्कालीन समयमा एशियाका विशाल र शक्तिशाली भनिएका देशले बनाउन नसकेको सुरुङमार्ग नेपाली प्राविधिक र कामदारसमेत नेपालीलाई नै सहभागी गराएर निर्माण हुनु आफैँमा गौरवपूर्ण भएको उनको भनाइ छ ।

त्यो इतिहासको प्रचारप्रसार गर्नु तथा पर्यटन पर्वर्द्धन गर्नु एवं विकासका परम्परागत प्रविधिका बारेमा अध्ययन गर्ने स्थलका रुपमा विकास गरेर विगतमा के कस्ता सामग्रीको प्रयोग कसरी गरिँदोरहेछ भन्ने जानकारी वर्तमान पुस्ता र भावी पुस्तालाई समेत गराउने उद्देश्यसहित व्यवस्थित र सुरक्षित तबरले पुनःनिर्माण गरिने उनको भनाइ छ ।

प्रदेश दुईसँगसमेत सहकार्य गरेर सुरुङमार्गलाई आकर्षक हिसाबले पुनःनिर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको देशलाई पर्यटनमय बनाउने योजना तथा मुख्यमन्त्री डोरमणि पौडेलको परिकल्पनामा काम भइरहेको बताउँदै मन्त्री फुयाँलले वैशाखदेखि काम शुरु गरिने जानकारी दिए ।मन्त्री फुयाँलले नेपालकै पहिलो सुरुङमार्गको संरक्षण र सम्बर्द्धन आवश्यक रहेको उल्लेख गरे ।

चुरियामाई मन्दिर र सुरुङमार्ग प्रवेश गर्ने स्थानमा आकर्षक प्रवेशद्वार निर्माण गरिने उनले बताए । पुरातत्व विभागसँग समन्वय गरेर काम गरिने उनको भनाइ थियो ।

“हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी” विसं १९७३ मा पाँचौँ राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौँडा छिचोल्न सुरुङ खनिएपछि मकवानपुरका स्थानीयवासीले यस्तो गीत बनाएका थिए । उक्त गीत बुढापाका हिजोआज समेत गुन्गुनाउँछन् ।

आफ्नो २८ वर्षे शासनकालमा चन्द्रशमशेरले थुप्रै विकास निर्माणका काम गरेका थिए । त्यो काममध्येको महत्वपूर्ण काम थियो अमलेखगञ्जदेखि भीमफेदीसम्मको मोटरबाटो । सोही खण्डमा पर्ने बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर द्रुतमार्ग  बनाइएको थियो ।

त्यस समय भारतबाट बाराको अमलेखगञ्जसम्म रेल आउँथ्यो भने अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो ।

भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पुर्‍याइन्थ्यो । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

आजभन्दा १०३ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोल शास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् ।

उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा उल्लेख गरेका छन् । स्वीट्सजरल्याण्डबाट नेपालको खानी लगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किन्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

नेपालको पहिलो इञ्जिनीयर डिल्लीजङ्ग थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६