एक समय बन्दुक बोकेका गोरखबहादुरको गोरस धन्दा | Khabarhub Khabarhub

एक समय बन्दुक बोकेका गोरखबहादुरको गोरस धन्दा



नवलपुर– जुम्ला तातोपानीका गोरखबहादुर राउत बिहानै गाईबस्तुको स्याहारसुसारमा लाग्छन् । उनको सानो गोठमा अहिले सात वटा गाई छन् ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–७, साँढका बासिन्दा गोरखबहादुरले गाई पाल्न थालेको सात वर्ष भयो ।

नेपालका लागि राष्ट्र संघीय मिसन (अनमिन) ले प्रमाणीकरण गरेका १९ हजार ६०२ लडाकुमध्येका एक हुन् गोरबहादुर । ती १५ हजार ६३० जना लडाकु ‘स्वेच्छिक अवकाश’ रोजेर घर फर्केका थिए । एक हजार ४२१ जना नेपाली सेनामा समायोजन भएका थिए ।

गोरखबहादुरले पनि अवकाश नै रोजे । माओवादीमा छँदा गौरव उपनामले चिनिन्थे । सेना समायोजनका समयमा उनी जनसेनाको चौथो डिभिजन हेडक्वार्टर अन्तर्गतको हात्तीखोर शिविरमा थिए ।

माओवादी सेनाको छैठौँ डिभिजनको २७ नम्बर बटालियनका सदस्य गोरखबहादुर चौथो डिभिजनको क्यान्टोन्मेन्ट अन्तर्गतको हात्तीखोर शिविरमा आइपुग्दा ब्रिगेड कार्यालयमा थिए ।

https://www.facebook.com/khabarhubofficial/videos/315032003068669/

गीत सुनेर माओवादीतिर

जुम्लाको साबिक लाम्रा नमुना गाविस घर भएका गोरखबहादुर विचारशून्य थिए । उनले २०५२/५३ सालमा नेकपा मशालका कार्यकर्ताहरूको गीत सुनेका थिए । गीतबाट खुब प्रभावित थिए । आफूजस्ता सामान्य वर्गका मान्छेलाई माया गर्ने उनीहरूलाई सेनाले दुःख दिन्थ्यो । राज्यबाट हेपिएको महसुस गरेका गोरखबहादुर भने माओवादीबाट प्रभावित भए ।

गोरखबहादुर २०५६ सालमा माओवादीमा लागेर जुम्लाको पार्टी सङ्गठनमा जोडिए । माओवादीको प्रारम्भिक युवा दस्ता मानिने जनमिलिशियामा स्थानीय टोलको जिम्मेवारी पाए अनि २०५८ सालको मंसिरमा जनमुक्ति सेनामा आबद्ध भए ।

खारा भिडन्तमा घाइते

पहिलोपटक मिलिशियामा जोडिएपछि गृहजिल्ला जुम्लामै पहिलो लडाइँको अनुभव गरेका गोरखबहादुरलाई सुरु सुरुमा आफ्नो ज्यान सुरक्षाका लागि भनेर ग्रिनेट दिइएको थियो ।

उनी रुकुमको खारा सत्पोलिया, पाल्पाको तानसेन, सुनवलको रमवापुर, कालीकोटको पिली, कपिलवस्तु र मुगुको ठूला भिडन्त हुँदै दर्जनौँ साना भिडन्तमा सहभागी भए ।

कैलालीको आमखैया, बाँकेको चिसापानी कृष्णमन्दिर, स्याङ्जाको भटुके, छिपछिपे बैदु, तनहुँको ढुङ्गढाँठी, नवलपरासीको चोरमारा थुप्रै भिडन्तमा सहभागी भएका गोरखबहादुर खारा भिडन्तमा घाइते भए ।

विगत सम्झिँदै उनले भने, ‘संसार जितिन्छ भनेर साथीहरूको लासमाथि टेक्दै लडियो, आखिर नेतृत्वको कमजोरीले पछि हट्नु पर्‍यो ।’

गोरखबहादुर गाईबस्तुको स्याहारसुसारमा व्यस्त छन् । भन्छन्, ‘विगत सम्झिएर के पनि के गर्ने ! बिर्सनै पर्ने रहेछ ।’ उनी बितेका दिनतिर धेरै फर्किन चाहेनन् । उनले जीवनमै नर्बिसिने चोट खारामा पाएका थिए । बायाँ हात र खुट्टाको फिलामा लागेको युद्धको डोब अहिले पनि मेटिएको छैन ।

शान्ति प्रक्रियामा आएपछि खार भिडन्तको रक्तमुछेल आफ्नो तस्विर क्यामेराको रिलबाट निकालेर शान्ति मन्त्रालयमा पनि नपुर्‍याएका होइनन् । मन्त्रालयमा फाइल कता हरायो उनले अहिलेसम्म पत्तो पाएका छैनन् ।

पार्टीको अन्तरविरोधले हिनताबोध

खारामा लागेको गोलीको छर्रा बोकेर चौथो डिभिजनको क्यान्टोन्मेन्ट अन्तर्गत हात्तीखोर आइपुग्दा गोरखबहादुर ब्रिगेड कार्यालयमा थिए । त्यही क्यान्टोन्मेन्टमा समायोजनको अन्तिम समयमा पार्टी फुटको संघारमा पुग्यो ।

‘पार्टीमा अन्तरविरोध चर्को भइसकेको रहेछ । कोही कसैसँग बोल्नै नहुने । जोसँग बोल्यो, यो त त्यो गुटको भन्ने भइसकेछ,’ उनले ती दिन स्मरण गरे, ‘त्यतिबेला त कहाँ आएर फसियो भन्ने भयो ।’

ब्यारेकमा हुँदा बाहिरको अवस्था बुझ्नै नपाइने, भेडाजस्तै । पार्टीभित्र अन्तरविरोध के थियो भन्ने थाहा भएन । कोसँग हिँड्दा कुन पक्षको देखिने हो पत्तै नहुने !

श्रम गरेर बाँच्ने आँट

सेना समायोजनमा स्वेच्छिक अवकाश रोजेपछि गोरखबहादुरलाई जुम्ला जान मन भएन । यतै रहेर संघर्ष गर्ने विचार आयो । चिया पसल थापेर पनि बाँच्न सकिन्छ भन्ने उनलाई लाग्यो ।

घाइते र अपाङ्ग भएपछि क्यान्टोनमेन्टबाट बाहिर निस्किनुपर्ने निश्चित थियो । त्यसभन्दा अघि नै जनमुक्ति सेनाबाट केहीलाई वाइसिएल लगायतका सङ्गठनमा ल्याउने कुरा चलेको थियो । नेताहरूले राज्यसत्ता कब्जा गर्न वाइसिएल बनाएको भनेर दिमाग भरिदिए । त्यतिबेला निस्कनेको सूचीमा गोरखबहादुर पनि तर कसरी हो ब्यारेकबाट बाहिर निस्कनु परेन ।

अवकाशले गोरेटो बदलियो

जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाश रोजेपछि पाँच लाख रुपैयाँ हात पर्‍यो । त्यही पैसाले उनको जीवनमा नयाँ मोड ल्यायो ।

क्यान्टोन्मेन्टको टहरा निर्माणका लागि बाँस लिन जाँदा सस्तो जग्गाको भेउ पाएका थिए । अहिले गाईपालन गरेर बसेको ठाउँमा १० जनाको टिम बनाएर जग्गा बिन्ने योजना थियो तर सफल भएन ।

अवकाशको एक वर्षपछि गोरखबहादुरले कसो कसो १२ हजार रुपैयाँमा ८ कठ्ठा जमिन खरिद गरे । सँधियारले पोखरी खन्न नदिएपछि फेरि १२ हजारमै ८ कठ्ठा जमिन थपे । अहिले त्यही ठाउँमा जमिनको भाउ कठ्ठाको एक लाख रुपैयाँभन्दा बढी छ ।

अनि, भयो गाईपालन

जनताको मुक्तिमा लागेको मान्छेले विकल्पमा स्वेच्छिक अवकाश रोजेपछि पाएको थोरै पैसाबाट सस्तो मूल्यको जग्गामा लगाए । बाँकी पैसाले बस्ने टहरो बनाए । केही पैसा पशुपालनमा लगानी गरे ।

त्यतिबेला आफ्नो सानो बच्चा दुधका लागि एउटा गाई किने । दैनिक १७–१८ लिटर दुध दिने राम्रो गाई परेछ । गाईले सन्तान बढाउँदै लगेपछि उनको गाईपालन पेशा सुरु भयो ।

त्यसपछि उनी माछा पोखरी खनाउनेतिर लागे । गाईको दूधले आम्दानी दिन थालेपछि गाईपालन व्यवसाय बढाउँदै जाने सोच पलायो । व्यावसायिक पशुपालनमा आकर्षण बढ्दै गयो । उनले गोठमा ११ वटा माउ गाई पुर्‍याए । उचित गोठको अभावमा चार वटा बेचे ।

गोरखबहादुरको गोठमा अहिले दुध दिने गाई ७ वटा छन् । दैनिक ६० देखि ६५ लिटरसम्म दूध उत्पादन हुन्छ । फ्याटको मात्राअनुसार प्रतिलिटर ५२ देखि ५५ रुपैयाँमा बिक्री हुन्छ ।

उनसँग १२ माछा पोखरी छन् । तीन वटा आफ्नै हुन् । अरू ९ वटा पोखरी लिजमा लिएका छन् । एउटा पोखरी खनाउन ४५ हजारदेखि ६० हजार रुपैयाँ लाग्यो । माछापोखरीको डिलमा गाईको घाँस रोपेका छन् ।

गोरखबहादुरलाई माछाबाट पनि राम्रो आम्दानी भएको छ । साथमा श्रीमती, एक छोरी र एक छोरा छन् । युद्धकालमा नेताहरूले भनेअनुसार संसार नजिते पनि उनलाई आफ्नो जीवनसँग कुनै पछुतो छैन । आफ्नै श्रमले जीवन चलेकोकोमा उनलाई गौरव छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  २ : २७ बजे

काठमाडौँबाट राडी हिनेको बस दुर्घटना, नौ जना घाइते

त्रिवेणी– काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११

मधेसका मुख्यमन्त्री सिंह अयोध्या प्रस्थान

जनकपुरधाम– यही मङ्सिर २१ यहाँ आयोजना हुने जानकी विवाह महोत्सवका

गण्डकी प्रदेश महोत्सव : जातीय परम्परागत घर अवलोकनकर्ताको रोजाइमा

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको दोस्रो

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

भक्तपुर– भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः आक्रमण  

एजेन्सी – इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय