धान दिवस अर्थात् रोपाइँ जात्रा : छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला… | Khabarhub Khabarhub

धान दिवस अर्थात् रोपाइँ जात्रा : छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला…


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानो रोपेर मुरी फलाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।

वि.सं. २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

२०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

यसवर्ष कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमकाबीच पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुने भएको छ ।

कृषि विभागले तयार पारेको प्रोटोकल अनुसार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अघिल्ला वर्षहरुमा एकअर्कामा हिलो छ्यापेर महोत्सव मनाइए पनि यो वर्ष भने हिलो खेल्न तथा छ्याप्न पाइने छैन ।

सीमित सहभागिता र सुरक्षा मापदण्ड पालना गरी महोत्सवको कार्यक्रम गरिने बताइएको छ । भौतिक दुरी पनि कायम गरिनेछ ।  काठमाडौं उपत्यकामा भने कृषि विभागले खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को हातामा कार्यक्रम गर्नेछ ।

कृषि विभागका महानिर्देशक, कञ्चनराज पाण्डेले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा राष्ट्रिय धान दिवस गरेर रोपाइँको औपचारिक शुरुआत गरिने भएको जानकारी दिए ।

नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ ।

असार १० सम्म आइपुग्दा नेपालको उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भएसकेको छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ ।

नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ ।

कूल गार्हस्थ्य उत्पादनमा धानको उत्पादन ११ प्रतिशत रहेको छ । धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ ।

धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतले नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व रहेको जानकारी दिए । उनले भात खाने आदतमा परिवर्तन नगर्ने हो भने चामलको आयात रोक्न धानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुको विकल्प नरहेको जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ४४ बजे

गठबन्धन सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह

तानसेन – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई संकटबाट

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

एजेन्सी– ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६

शिक्षकका माग शीघ्र सम्बोधन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग

काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ– पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित