डाँडापारिमा बिरामी परे हेलिकप्टरकै भर « Khabarhub

डाँडापारिमा बिरामी परे हेलिकप्टरकै भर


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- खानीखोला गाउँपालिका–६ का १७ वर्षीया किशोरीलाई उपचारार्थ अस्पताल लैजान मङ्गलबार दिउँसो हेलिकप्टर गाउँ पुग्यो तर हेलिकप्टर रित्तै फर्किनुपर्‍यो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भयो ।

तीन दिनदेखि झाडापखालाले ग्रस्त रञ्जिता थोकरलाई थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले मङ्गलबार बिहानै निर्णय गरे । सोहीअनुसार गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी हेलिकप्टरको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरे । लगत्तै प्रशासनले गृह मन्त्रालयलाई आग्रह गरी हेलिकप्टर गाउँ पुर्‍याइएको हो । ‘हेलिकप्टर गाउँ आउँदै थियो, रञ्जिातको मृत्यु भयो, हेलिकप्टर रित्तै फर्किनुपर्‍यो’, वडाध्यक्ष मानबहादुर तामाङले भने ।

सोमबार पनि खानीखोला गाउँपालिकाकै ४ नम्बर वडास्थित जगथलीकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत नै उद्धार गरियो । केही दिनदेखि व्यथाले च्यापेकी उनलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकप्टर मगाइएको अध्यक्ष खुलालले बताए ।

आइतबार पक्षघात रोगबाट ग्रसित महाभारत गाउँपालिका–७ का ७५ वर्षीय वृद्ध लालबहादुर लोलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगियो ।
एक हप्ताको बीचमा डाँडापारि क्षेत्रबाट तीन बिरामीका लागि हेलिकप्टर प्रयोग गर्नुपर्‍यो भने साउन पहिलो साता महाभारत गाउँपालिका–२ की २१ वर्षीया गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गरे । उनले भने, ‘वर्षायाममा गम्भीर बिरामी/गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प छैन ।’ उनका अनुसार महङ्गो भए पनि विकट क्षेत्रमा सडक अवरुद्ध हुँदा हेलिकप्टर निकै सजिलो साधन हो ।

साउन महिनाको दुई सातामा महाभारत पर्वत शृङ्खलापारि (डाँडापारी) अवस्थित दुई गाउँपालिका महाभारत र खानीखोलाका दुई गर्भवती र दुई बिरामीको उद्धार गरिएको छ । मनसुन शुरु भएसँगै बाढीपहिरोले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकप्टर ‘चार्टर्ड’ गर्नुपर्ने खानीखोला गाउँपालिका अध्यक्ष खुलालले बताए ।

उनले भने, ‘पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा केही सहजता भएको छ ।’

हेलिकप्टरबाट बिरामी/गर्भवतीको उपचारार्थ उद्धार गरिए पनि काठमाडौँ लैजानुपर्ने अर्को बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनले भने, ‘हेलिकप्टर काठमाडौँबाट मगाइएपछि उतै लैजानुपर्छ, जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकप्टर अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्छ, सजिलो उतै हो ।’

सरकारले विकट क्षेत्रका गम्भीर बिरामी तथा गर्भवतीको उद्धार गर्नका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि–२०७५ बनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ११ : ३९ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२