काठमाडौँ– यति बेला काठमाडौँको कमलपोखरी पानीले भरिएको छ । गाडीहरूको कोलाहलबीच चराहरूको मधुरो चिरबिर पनि सुनिन थालेको छ । शहरी गन्जागोलका बीच पनि कमल पोखरी शान्त छ र बगैँचाको हरियाली भरिन थालेको छ ।
धेरै लामो समयपछि कमलपोखरी घुम्नलायक बनेको छ । आहा ! कमलपोखरी ! भन्न लायक बनेको छ । भूकम्प–२०७२ ले पोखरीमा क्षति पुगेको थियो ।
भूकम्प गएको चार वर्षपछि २०७६ असारमा महानगरले ‘हाम्रोे काठमाडौँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ कमलपोखरी पुनर्निर्माण थालेको थियो । महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर–१ का अध्यक्ष भरतलाल श्रेष्ठले संयुक्तरूपमा शिलान्यास गरेका थिए ।
महानगरले पोखरी निर्माणका लागि नौ करोड ४७ लाख रूपैयाँ छुट्याएको थियो । कँडेल निर्माण सेवाले करिब साढे ६ करोडमा निर्माण सम्पन्न गर्न ठेक्का लिएको थियो । पुनर्निर्माणका लागि सुरुमा पोखरी सुकाइयो ।
काम सुरु भएको केही दिनपछि कङ्क्रिटको प्रयोग गरिएको भन्दै सम्पदाप्रेमी तथा अभियान्ताहरूले विरोध गरे । निर्माणको काम पनि रोकियो । पछि महानगरले विज्ञ, स्थानीयवासी र सम्बन्धित व्यक्ति तथा निकायहरूसँग छलफल गरी काम अघि बढायो ।
अहिले पोखरीले आफ्नो स्वरूप पाउँदैछ । करिब २४ रोपनी क्षेत्रफलमा रहेको पोखरी पुरानै स्वरूपमा फर्किंदैछ ।
महानगरले दिएको जानकारीअनुसार अहिले पोखरीको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । कमलपोखरीको सडक हिँड्नेले पोखरीको सौन्दर्य देख्न थालेका छन् ।
पोखरी निर्माण देखापरेका समस्याबारे जानकारी लिन र निरीक्षणका लागि महानगरका मेयर शाक्य गत साता कमलपोखरी पुगेका थिए । निरीक्षणका क्रममा उनले भने, ‘अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको छ ।’
छिट्टै पोखरीको उद्घाटन गरेर पर्यटन व्यवस्थापनसँग जोड्ने उनले बताएका छन् । ‘सबैले रानीपोखरी मात्रै देखेका छन्, हामी कमलपोखरीलाई पनि रानीपोखरीजस्तै आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ,’ शाक्यले भने, ‘एकातिर पानी र अर्कोतिर हरियाली हेर्दै आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रूपमा चिनाउने योजनासहित पुनर्निर्माण भइरहेको छ ।’
पोखरीमा पानी भरिराख्न आकाशे पानी संकलन र पुनर्भरण तथा पानी शुद्धीकरणका लागि पनि काम भइरहेको छ । निर्माणधीन कमलपोखरीमा २०७७ चैतमा मेलम्चीको पानी हालिएको थियो ।
कमलपोखरीमा हिउँदमा पानी कम र बर्खामा टनाटन पानी हुन्थ्यो । एकपटक पानी भरेपछि करिब ६ महिना रहने र त्यसपछि घट्न सक्ने उपाध्यक्ष बस्नेत बताउँछन् । ‘बर्खामा पानी भर्नु पर्दैन हिउँदमा एक/दुई महिना पानी घट्छ त्यतिबेला मेलम्चीकै पानी हाल्ने हो,’ बस्नेतले खबरहबसँग भने ।
पानी चलायमान गराउन बीच भागमा एउटा ठूलो र वरिपरि ९ वटा फोहरा राख्ने योजना छ । नामअनुसार पोखरीको पहिचान दिन बीचमा फाइबरको कमलको फूल पनि राखिनेछ ।
पुनर्निर्माणको दोस्रो चरणमा यसअघि प्रहरी कार्यालय रहेको ठाउँमा पार्क निर्माण गरिनेछ । शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार महानगरले कमलपोखरी वरपर चिल्ड्रेन पार्क, ढुङ्गधारा, अपाङ्गतामैत्री शौचालय, व्यायामशाला, उद्यान, खुला क्षेत्रसहितको डिजाइन अनुरूप पुनर्निर्माण गरिरहेको छ ।
पोखरीका चार कुनामा संस्कृति झल्किने चार ओटा र पूर्वतिर मूल ढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहनेछन् । पोखरी वास्तुशास्त्रमा आधारित छ । परम्परागत नेवारी शैली आत्मसात गर्दै पोखरी पुर्नर्निर्माण गरिएको पुरातत्वविदहरू बताउँछन् ।
पोखरी निर्माणमा नेपाली इटा र ढुङ्गा प्रयोग गरिएको छ । विभिन्न ठाउँमा चैत्य र ५ ओटा मकरधारा छन् । पोखरी पुनर्निर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरमा ध्यान दिएको जनाइएको छ ।
निर्माणपछिको व्यवस्थापनका लागि मासिक करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान छ । वडाध्यक्ष भरतलाल श्रेष्ठले पुनर्निर्माणपछि वडालाई हस्तान्तरण गर्नुअघि महानगरले यस विषयमा ध्यान दिने अपेक्षा राखेको बताए ।
सहरी पूर्वाधार विकास विभागका इञ्जिनियर प्रेम श्रेष्ठका अनुसार प्रवेशद्वार, शौचालयको केही भाग र रङरोगनलगायतको केही काम बाँकी छ । महानगरले गत वैशाखमा पोखरीको उद्घाटन गर्ने भनेको भए पनि काम पूरा भएन ।
आउँदो छठ पर्वका लागि कमलपोखरी तयार हुने आयोगका उपाध्यक्ष बस्नेतले बताए । ‘तिहारअघि कलपोखरी उद्घाटन गर्ने तयारी छ,’ खबरहबसँग उनले भने, ‘पार्कको डिजाइन बन्दै छ, त्यो विस्तारै बन्नेछ ।’
कमलपोखरीमा भक्तपुर र ललितपुरको बुङमतीका अनुभवी कामदारहरू खटेका छन् ।
प्रतिक्रिया