विस्तारै घरबास पर्यटनका चहलपहल | Khabarhub Khabarhub

विस्तारै घरबास पर्यटनका चहलपहल


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– एक वर्षपछि पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाका झण्डै चार दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अघिकांश घरबास सेवा विस्तारै शुरु हुन थालेको सञ्चालकले बताएका छन् । कोभिडको जोखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएको पर्वतको मोदी गाउँपालिकामा सञ्चालित होमस्टे सेवाका सञ्चालकले बताए ।

गण्डकी प्रदेशकै अग्रणी घरबास सेवा दिँदै आएको पर्वतको मोदी गाउँपालिका–८ चित्रेस्थित सामुदायिक होमस्टेमा ११ महिनापछि पर्यटकको चहलपहल शुरु भएको छ । कोभिड–१९ को महामारी नहुँदासम्म धेरैको रोजाइमा पर्दै आएको मोदी ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा माघको दोस्रो सातादेखि पर्यटकको चहलपहल शुरु भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताइन।

चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम शुरु भएको उनले बताइन । पोखरा र काठमाडौँबाट समेत विभिन्न समूहमा आन्तरिक पर्यटक आउन थालेको अध्यक्ष गुरुङले बताइन । कोरोना महामारीभन्दा अघिसम्म वार्षिक तीन हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्याङ्क छ ।

“कोभिड–१९ का बीचमा पनि हामीले होमस्टे खुला गरेका छौँ, अब पर्यटक आउनेक्रम शुरु भएको छ”, उनले भनिन्, “विस्तारै पुरानै लयमा फर्कने विश्वास हामीले लिएका छौँ ।”

चित्रेको होमस्टेलाई व्यावसायिकरुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दैनिकी रहने गरेको भए पनि चित्रेमा होमस्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन । जति बचत हुन्छ, त्यसको करीब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या–पर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ ।

समितिका अनुसार चित्रेको होमस्टेमा एकपटकमा ७० जनासम्म राख्नसक्ने क्षमता छ । अहिले धेरै घरमा कोठा थप्ने र सबै कोठामा शौचालय जडित रुम बनाउने क्रम चलेको छ । धेरै घरमा सुधार गरिएको अध्यक्ष गुरुङले बताइन ।

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको सङ्ख्या धेरै छ । होमस्टे पुग्नासाथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ ।

खानाका रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ ।

चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसुदन अधिकारीले बताए ।

मौलिक कलाको प्रचार र प्रवद्र्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरकफरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टेमा पुगेका पत्रकार अगन्धर तिवारीले बताए । गुरुङ समुदायको बाहुल्यता रहेको चित्रेमा गुरुङ सङ्ग्रहालय बनाउने तयारीसमेत गरिएको स्थानीय वडाध्यक्ष सुकबहादुर गुरुङले बताए ।

उता जिल्लाको कुश्मा नगरपालिका–३ मा दुर्लुङ, वडा नं १४ आर्थर, फलेबास नगरपालिका–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, बालाकोट, लुङ्खु, विहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे र पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायतका स्थानमा पनि आन्तरिक पर्यटक आउन थालेका छन् ।

अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्वतमा ४८ वटा होमस्टे विस्तारका लागि रु १० लाखका दरले अनुदानसमेत दिएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ३ : ३० बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन