जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप « Khabarhub

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ ।

उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो ।

जापानले लगाएको प्रतिबन्धमा उत्तर कोरियाले विश्वका अरु देशसँगको व्यापारमा प्रतिबन्ध लगाउने तथा मानवीय उद्देश्य बाहेक उत्तर कोरियामा दर्ता भएका जहाजहरुलाई जापानी बन्दरगाहमा प्रवेश नदिइने उल्लेख छ ।

उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम विरुद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्धलाई पनि जापानले अनुशरण गर्नेछ । राष्ट्रसंघीय प्रतिबन्धमा हातहतियारको व्यापारमाथि प्रतिबन्ध, उत्तर कोरियाली सम्पत्ति रोक्का, जनता–जनताबीचको आदानप्रदान तथा शिक्षा र तालिममा प्रतिबन्धहरु समावेश रहेका छन् ।

जापानका मुख्य सचिव कात्सुनोबु काटोले मन्त्रिपरिषदको बैठकले उत्तर कोरियामाथिका प्रतिबन्धलाई अरु दुई वर्ष बढाउने निर्णय गरेको जानकारी दिए । यसअघि घोषणा गरिएको प्रतिबन्धको म्याद आगामी अप्रिल १३ मा समाप्त हुँदैछ ।

उत्तर कोरियाले करिब एक वर्षको अवधिमा पहिलो पटक गत मार्च २५ मा दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । जापानले उक्त परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावको उल्लङ्घन भन्दै भर्त्सना गरेको थियो । जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले राष्ट्रसंघीय प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

सन् १९७० र १९८० को दशकमा १३ जना जापानी नागरिकलाई अपहरण गरेको उत्तर कोरियाले सन् २००२ मा स्वीकार गरेको थियो । उनीहरुलाई जापानी भाषा र संस्कृतिका विषयमा उत्तर कोरियाली गुप्तचरहरुलाई प्रशिक्षित तुल्याउन अपहरण गरिएको थियो । पछि पाँच जनालाई भने जापान फर्कन अनुमति दिइएको थियो । उत्तर कोरियाले बाँकीको मृत्यु भएको वा उत्तर कोरिया नै प्रवेश नगरेको दाबी गर्दै आएको छ ।

जापानले अरु पनि जापानी नागरिकलाई उत्तरले अपहरण गरेको हुनसक्ने विश्वास गर्दै आएको छ र तीमध्ये धेरैजसो जीवितै रहेको हुनसक्ने जापानको भनाई छ । अपहृत जापानी नागरिक र आणविक हतियार एवं क्षेप्यास्त्र विकासका कार्यले दुबै मुलुकबीचको सम्बन्ध चिसिएको छ । यी दुबै मुलुकबीच कुटनीतिक सम्बन्ध समेत रहेको छैन ।

प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो प्रशासनले अपहृत जापानी नागरिकको विषयलाई उच्च प्राथमिकता दिइने बताउँदै आएका छन् ।

उनले उत्तर कोरियाली नेता किम जोङ अनसँग विनाशर्त वार्ता गर्न खुला रहेको बताएका छन् ।

जापानले उत्तर कोरियामाथि सन् २००६ मा सीमित प्रतिबन्धहरु लगाउन थालेको थियो । तर त्यसयता जापानले त्यस्तो प्रतिबन्धलाई थप विस्तार र व्यापक बनाउँदै लगेको छ ।(रासस–एपी)

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : ०५ बजे

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौं – नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई

बर्दिबासमा जगन्नाथ रथयात्रा

महोत्तरी – महोत्तरीको बर्दिबासमा आज जगन्नाथ रथयात्रा उत्सव मनाइएको छ

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौं – गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

राजस्थान रोयल्स प्लेअफमा, मुम्बई इन्डियन्स ३० रनले पराजित

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो

बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

सर्लाही – नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको