बेनी अस्पताल : आकस्मिक बाहेकको सेवा ठप्प « Khabarhub

बेनी अस्पताल : आकस्मिक बाहेकको सेवा ठप्प


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनका कारण ६४ शैय्या बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।

उनीहरुले बहिरङग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् । नर्स मनदेवी गौतमले चाडपर्व नजिकिएको र लामो समयको बिदा सुरु हुन लाग्दासमेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताइन् ।

‘अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो’, उनले भनिन्, ‘अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौं । चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो ।’

आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण मर्कामा परेका छन् । आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुगङ्गा गाउँपालिका–३ का डम्मरबहादुर कार्कीले सेवा नपाउदा समस्या भएको बताए ।

बिरामी बच्चाको उपचारका लागि आएकी मङगला गाउँपालिका–१ कुहुँकी देबी खत्रीले आन्दोलनका कारण सेवा नपाउँदा मर्कामा परेको दुखेसो व्यक्त गरिन् । दृष्टिबिहीन छिमेकीको उपचारका लागि आएका बेनी नगरपालिका–२ भकुण्डेका गणेश सुवेदीले पनि सेवा नलिइ घर फर्कदा दुःख मात्र पाएको गुनासो गरे ।

अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । गत साउन महिनायता कसैले पनि तलब पाएका छैनन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुई वटा कार्यालयसमेत हेर्नेगरी खटाएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भए पनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जीतेन्द्र कँडेलले बताए ।

लेखापाल सुबेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखा परिक्षकको टोली लेखापरीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भएपनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, प्रशासन, कोलेनिका, अस्पताल प्रशासन र ब्यवस्थापन समितिबीच छलफल गरेर सेवा सञ्चालन गराउन पहल गरेको प्रमुख डाक्टर कडेलले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ४ : २० बजे

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक