म बीच बाटोमा ठिङ्ग उभिएकी छु
एउटा किनारमा
रातो साडी लगाएर
‘तिजको रहर आयो बरिलै’
गीत गाउँदै नाचिरहेका
दिदीबहिनीहरूको रमाइलो
अर्को किनारमा
सेतो कपडामा बेरिएर
छाती पिटी पिटी
रोइरहेकाहरूको पिडा
उफ् !
न त रमाउनेहरूको भिडमा जान सक्छु
न त रुनेहरूकोमा
निरीह भएर आज म
बीच बाटोमा ठिङ्ग उभिएकी छु
अगाडि एउटा प्रख्यात मन्दिर छ
म देख्दैछु
मन्दिरमा तँछाड मछाड गरिरहेका
दिदीबहिनीहरूको अचम्मको आस्था
सन्की लोग्नेले पिटेका दागहरू छोप्दै
त्यही लोग्नेको नाममा
पानी पनि नखाई ब्रत बस्नेहरूको
सिन्दुर, पोते र चुराप्रतिको
उदेक लाग्दो विश्वास
अनि
टन्टलापुर घाममा
ससाना बालबच्चाहरू च्यापेर
थोत्रो र मैलो लुगामा
फूलप्रसाद, फलफूल र पोलेको मकै
बेच्दै गरेका दिदीबहिनीहरूको चटारो
अझ त्यही मन्दिरको पेटीलाई नै
घर र तिनै तँछाड मछाड गरिरहेका
भक्तजनहरूलाई नै भगवान मान्दै
मन्दिरको एक कुनामा बसिरहेका
बेसाहारा साना नानीहरू
र, भिख मागिरहेका
बुढी आमाहरूका हातहरू
कामिरहेका स्वरहरू
र आशले हेरिरहेका आँखाहरू
लाग्छ,
आजको दिनले यी सबैलाई
चारैतिरबाट गिज्याइरहेको छ
र, आफैँलाई सोध्दैछ
तिज साँच्चै नारीको महान चाड हो ?
प्रतिक्रिया