धुलिखेल–सिन्धुली–बर्दिवास सडक मर्मत हुँदै | Khabarhub Khabarhub

धुलिखेल–सिन्धुली–बर्दिवास सडक मर्मत हुँदै


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम (ओभरले) र ‘सिङ्गल सर्फेस ट्रेसिङ’ समेत अघि बढेको छ ।

चालु आवमा झण्डै १०० किलोमिटर लम्बाइमा मर्मत भइरहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ ।

यो सडकमा पटके वा नियमित मर्मत गत वर्षहरुमा पनि आवश्यकतानुसार भइरहेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए। उनले भने, “सडकको तह नै थप्ने गरी र ठूलो क्षेत्रफलमा मर्मतको काम यही वर्षदेखि शुरु भएको हो ।”

मर्मतको काम भइरहेका अधिकांश स्थानमा नेपाली रकमबाट नै काम भइरहेको आयोजनाले जनाएको छ । सडक बोर्ड नेपालले बर्सेनि सडकबाट उठाएको दस्तुरबाट सडक मर्मतका लागि आवश्यक रकम छुट्ट्याउँदै आएको छ । त्यसबाहेक यो वर्ष विश्व बैंकको आर्थिक सहयोगमा समेत मर्मत अघि बढाइएको प्रमुख भाटले बताए ।

बिपी राजमार्गअन्तर्गतको नेपालथोक–धुलिखेल खण्डमा पाँच किमी ‘ओभरले’ सकिएको छ । सिन्धुलीको खुर्काेट चियाबारी खण्डमा चालु आवमा ३५ किमी सडक ‘ओभरले’ गर्ने लक्ष्य लिइएको थियो । त्योमध्ये हालसम्म २५ किमी सडक मर्मत सकिएर १० किमी सडकमा काम भइरहेको प्रमुख भाटले जानकारी दिए। उनले भने, “त्यो १० किमी सडक पनि चैतसम्ममा सकाउने योजना छ ।”

नेपालथोकदेखि धुलिखेलसम्मको सडकमा ‘सिङ्गल सर्फेस ट्रेसिङ’ १० किमी सकिएको र बाँकी १० किमी आगामी चैतमा सकाउने लक्ष्य लिइएको आयोजनाले जनाएको छ । नेपालथोक खुर्काेट सडकमा चालु आवमा २५ किमी ओभरले गर्ने योजना बनाइएको छ । त्यसमध्ये पाँच किमी सकिएर २० किमी सडक ‘ओभरले’ का लागि ठेक्का भइसकेको छ । उनले भने , “यो वर्ष ठेक्का भए पनि अर्काे वर्ष मात्रै काम सकिनेछ ।”

अहिले भकुण्डेबेँसी क्षेत्रमा पाँच किमी सडक मर्मतको काम भइरहेको छ । नेपालथोक–धुलिेखल सडकमा चालु आवमा २० किमी सडक ‘सिङ्गल सर्फेस ट्रेसिङ’ गर्ने योजना बनाइएको थियो । त्योमध्ये अहिलेसम्म मध्ये १० किमी सम्पन्न भइसकेको छ । बाँकी १० किमीमा निर्माण जारी रहेको र चैतसम्ममा सकाउने लक्ष्य लिइएको बताइएको छ । आयोजनाले सिन्धुली–बर्दिवास सडकमा पाँच किमी मर्मतका लागि ठेक्का सम्झौता गरिसकेको छ । त्यो सडक पनि चालु आवमा नै सम्पन्न हुने प्रमुख भाटले जानकारी दिए ।

सडक हस्तान्तरण सकिएको झण्डै छ वर्षपछि धेरै ठाउँमा एकै पटक मर्मत भइरहेको हो । फरकफरक खण्डमा फरक मितिमा निर्माण सकिएको आयोजनाले जनाएको छ । सबैभन्दा पछिल्लो पटक नेपालथोक–खुर्काेट सडक सम्पन्न भएर हस्तान्तरण भएको हो । त्यसमा पनि यो वर्षदेखि मर्मत शुरु भएको प्रमुख भाटले बताए । उनका अनुसार यो खण्डमा पाँच किमी सडकमा मर्मत सकियो भने २० किमी मर्मतका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भइसकेको छ ।

अहिले मर्मत भइरहेको सडकमध्ये नेपालथोक–खुर्काेट खण्डमा मर्मतका लागि वैदेशिक लगानीसमेत रहेको आयोजनाले जनाएको छ । सो सडकमा २० किमी मर्मतका लागि विश्व बैंकले रु १० करोड र नेपाल सरकारको रु चार करोड ६८ लाख लगानी रहेको छ । बैंकको ‘कोर रोड नेटवर्क’ कार्यक्रममा सो सडकको मर्मत हुन लागेको हो । चालु आवमा ठेक्का सम्झौता भए पनि निर्माणको काम आगामी आवमा मात्रै सम्पन्न हुने प्रमुख भाटले बताए ।

सडक निर्माणले एउटा अवधि पार गरेकाले एकै पटक ठूलो क्षेत्रमा मर्मत गरिएको उनले बताए । आगामी आवमा झण्डै ४० किमी सडकमा ‘ओभरले’ गर्न आवश्यक रहेको आयोजनाले जनाएको छ । उनले भने , “सडक बोर्डले जति रकम छुट्ट्याउँछ, हामीले त्यसैबाट मर्मत गछौँ ।”

सडकको लम्बाइ १६० किमी रहेको छ । सो सडक चार खण्ड रहेकामा बर्दिवास–सिन्धुलीबजारको लम्बाइ ३७ किमी, सिन्धुलीबजार–खुर्कोट ३९ किमी, खुर्कोट–नेपालथोक ३२ किमी र नेपालथोक–धुलिखेल ५० किमी छ । पूर्वी तराईलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो सडकका रूपमा यो राजमार्ग रहेको छ ।

जाइकाले सो सडकको एक लेनमा निर्माण गरेको थियो । सरकारले ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि सो सडकमा भने चौडाइ कम भएकै कारण ठूला सवारीसाधनलाई प्रवेश गर्न दिने गरिएको छैन । यातायात व्यवस्था विभागले ३२ सिटभन्दा ठूला क्षमताका सवारीसाधनलाई गुड्न अनुमति दिने गरेको छैन । धुलिखेल–नेपालथोक सडक सन् २००१ मा सम्पन्न भएको थियो भने नेपालथोक–खुर्कोट सडक सन् २०११ मा सम्पन्न भएको थियो । सडक स्तरोन्नति भइरहेको सडकमा विस्तारको समेत आवश्यकता रहेको छ ।

 

–सञ्चिता घिमिरे/रासस

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ७ : ४५ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका