काठमाडौँ– दक्षिण अफगानिस्तानको एउटा कोठामा झोलाभरि चम्किला टुक्रा देखिन्छन् । ती चम्किका टुक्रा थिए, आयात गर्ने स्तरको मेथाम्पफेटामायन ।
यी पदार्थहरू अस्ट्रेलियालगायत टाढाका देशहरूमा पठाइँदै छन् । जहाँ यो १ सय केजीको २ मिलियन अमेरिकी डलरमा विक्री हुन्छ । दुई ब्याचमा यो पठाइसकेपछि अर्को एक चरणको मेथ पकाइँदै छ ।
अहिले लागु औषध अफगानिस्तानको मुख्य व्यापार बनेको छ । यो व्यापारलाई राज्यले नै संरक्षण गरिरहेको छ । लामो समयदेखि हेरोइनको कारोबार गर्ने यो देशले अहिले क्रिस्टल मेथको कारोबारलाई समेत प्रश्रय दिएको छ । यो अर्को एक घातक र स्नायु प्रणालीलाई तुरुन्त ध्वस्त पार्ने लागु औषध हो ।
एक समाचार स्रोतका अनुसार दक्षिणी अफगानिस्तानको ग्रामीण भेगमा घरेलु रूपमा बनाइएका कारखानामा दैनिक ३ हजार क्रिस्टल मेथ तयार पारिन्छन् । स्थानीय भाषामा ओमान भनिने अर्को एक पदार्थ इपेथ्रडाइन मिसाएर यसलाई अझ बढी लाग्ने र घातक बनाएर बजारमा पुर्याइने गरिन्छ ।
मरुभूमिजस्ता लाग्ने दक्षिणी भेगका बजारमा अहिले यी बिरुवा धेरै नै देख्न पाइन्छ । पहिला पनि नदेखिएको त होइन । तर, अहिले यसको मात्रा अलि बढी नै छ ।
अहिले सरकार नै लगातार यसरी मेथको बिरुवादेखि बजारमा विक्री गर्नका लागि गरिएको सम्पूर्ण प्रक्रियाबारे जानकार भएर गुमनाम र केही थाहा नभएको झैँ गरिरहेको छ । आर्थिक दूरावस्थाबाट गुज्रिएको अफगानिस्तानमा सरकारले यसै बाट आर्थिक अवस्थामा केही सुधार आउने अपेक्षा गरेर यसलाई स्वीकृति दिएको अनुमान गरिएको छ ।
अहिले इपेथ्रालाई प्रतिबन्ध लगाएपछि त मेथको बजार मूल्यमा दोब्बरमा वृद्धि भएको छ । त्यसो त अहिले नरोपिए पनि पहिलेदेखि सञ्चित थुप्रै इपेथ्रा बजारमा थिए ।
डा. डेभिड म्यान्सफिल्ड अफगानिस्तानको लागु औषध कारोबारका मुख्य विज्ञ हुन् । उनलाई यसबारे सबै कुराको जानकारी पनि छ । स्याटलाइट संयन्त्रबाट उनले यसरी मेथको उत्पादन र ल्याबमा यसलाई बनाइएका कुराहरूको दृश्य लिएका थिए । उनले बताएअनुसार इपेथ्राको बोट काटेर भित्र्याइसकेपछि मात्र यसलाई प्रतिबन्ध लगाइएको हो । यसकारण यो वर्ष यो निर्णयको कुनै असर छैन ।
जुन महिनामा यो फेरि लगाउने समय हुन्छ । उक्त समयमा यो प्रतिबन्धको असर देखिने उनको अनुमान छ । उनले अफगानिस्तानमा सबै भन्दा धेरै प्रचलित लागु औषध हेरोइनलाई मेथले प्रतिस्थापन गर्न सक्ने सम्भावना समेत देखेका छन् ।
अफगानिस्तानको खेतबारीमा लगाइएका अफिमले नै संसारको ८० प्रतिशत बजार ओगटेको अनुमान पनि गरिएको छ । पछिल्लो साता अफगानिस्तानका किसान खेतबारीमा अफिमका बिउ खोज्न र यसको खेती गर्नमै व्यस्त रहे । कान्दहारमा भेटिएका एक व्यापारी मोहम्मद घानीले अफिम हानिकारक भए पनि यसको तुलनामा अन्य बिउ रोपेर आम्दानी नहुने भएकाले यसलाई प्रश्रय दिएको बताउँछन् ।
तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानको आर्थिक अवस्था खराब बनेको छ । यस खराब अवस्थामा यसलाई उकास्न सितिमिति सम्भव पनि छैन । कृषकहरू भने अफिम खेती गरेर आफूलाई सुरक्षित गर्न चाहिरहेका छन् । अहिले त्यहाँ पानीको सतह घटिरहेको छ ।
खडेरी परेका कारण अन्य बाली र उत्पादनमा समस्या हुन थालेको छ । यस अवस्थामा अफिमलाई उनीहरूले उपयुक्त विकल्प ठानिरहेका छन् ।
घानी जमिनको पानी ड्रिल गरेर निकाल्नुपर्ने भएकाले अन्य बाली लगाउँदा लागत मूल्य पनि नउक्सने बताउँछन् । यसअघि अफिम प्रतिबन्ध लगाउने हल्ला पनि चलेको थियो । यस हल्लासँगै बजारमा अहिले अफिमको मूल्य बढिरहेको छ । यो मूल्य वृद्धिसँगै कृषकमा यसप्रतिको उत्साहमा अझ वृद्धि भएको छ ।
अहिले तालिबान सत्ता भ्रष्टाचारी भएका कारण अफिम व्यापारीलाई सहज भएको छ । सरकारी अधिकारीलाई अलिकति पैसा दिएर अफिमको सहज कारोबार हुन थालेको छ । एक जना होलसेल व्यापारी भन्छन्,‘ जब तालिबानले सत्ता लिए, हाम्रो कारोबारको बाटो खुला भयो ।’
अफगानिस्तानको तथ्य कुरा अन्य देशमा नपुगोस् भनेर त्यहाँको सत्ता भने सचेत रहको छ । केही समयअघि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले हेलमान्द प्रान्तमा अफिम खेती भएको ठाउँको तस्वीर तथा भिडियो खिच्न खोजेका थिए । त्यसलाई सरकारी अधिकारीले अवैध क्षेत्र भन्दै रोकेका थिए ।
प्रान्तीय सांस्कृतिक कमिसनका प्रमुख हफीज रसिदले क्यामराको सम्पूर्ण फुटेज नहटाए कडा कानूनी दायरामा ल्याउने भन्दै धम्क्याएको कुरा पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशमा आएका थिए ।
कान्दहारमा सञ्चार माध्यमले अनुमति मुस्किलले पाए पनि तस्वीर लिने समयमा यसलाई रोकिएको थियो । काबुलका तामिल प्रवक्ता बिलाल करिमीले किसानहरूलाई अफिमको वैकल्पिक व्यवस्था दिलाउन लागिपरेको बताएका छन् । उनले अन्य विकल्प नदिई किसानलाई यसबाट बाहिर निकाल्न असम्भव नै भएको कुरा बताएका छन् ।
पहिलोपटक तालिबानी सत्ता स्थापित भएपछि अफिमलाई प्रतिबन्ध लगाइएको थियो । यसपटक भने अफिमबाटै धेरै राजश्व उठ्ने भएका कारण प्रतिबन्धको निर्णय गरेन । केही व्यवसायी भने सरकारले लागु औषधमाथि प्रतिबन्ध लगाउन चाहेमा यो पूर्ण रूपमा सफल हुने विचार व्यक्त गर्छन् ।
‘तिनीहरूले अफिमबाट नै धेरै कुरा पाएकाले हामी अफिम कृषकलाई धन्यवाद दिनुपर्छ,’ एक कृषक बताउँछन्,‘ अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग प्राप्त नभएसम्म हामी कृषकलाई अफिम खेतीबाट सरकारले रोक्ने कुनै सम्भावना नै छैन ।’
डा. म्यान्सफील्ड अहिले खाद्य तथा कृषिजन्य पदार्थमा बढिरहेको मूल्यवृद्धि आर्थिक सङ्कटसँग जोडिएको बताउँछन् । यसले किसानलाई जसरी भए पनि बजारमा माग भएको तथा नाफा हुने कुरा उत्पादन गर्न बल गरिरहेको उनको बुझाइ छ ।
धेरै स्थानीय तहको बजारको अर्थतन्त्रमा समेत लागु औषध मुख्य हिस्सा बन्दै आइरहेको छ । हेलमान्दमा एउटा गान्डुम रेजा नामको स्थान छ । यस स्थानमा पुग्ने कच्ची बाटो छ । मुस्किलले ट्रकबाट मात्र पुगिने यो ठाउँ अहिले संसारको हेरोइन कारोबारको एउटा केन्द्र बनिरहेको छ ।
घरबाट कारखानामा लैजानका लागि त्यस गाउँमा ६० देखि ७० जना रहेका छन् । त्यस कारखानामा लगिएपछि अफिमलाई हेरोइन बनाइन्छ । यसरी बनाएका लागु औषध धेरै जसो पाकिस्तान र इरानमा पुग्ने गरेको छ । बाँकी बजार युरोपसहित संसारका अन्य देश पनि हुन् ।
स्थानीय स्रोतअनुसार पाकिस्तानमा २ लाख १० हजार रुपैयाँमा हिरोइन विक्री हुने गरेको छ । बेलायतमै खुद्रा विक्री मूल्य प्रति किलोग्राम ६६ हजार पाउन्ड सम्म रहेको जनाइन्छ ।
धेरै नाफा अफगानिस्तानबाट प्रयोगकर्ता सामु लैजानेहरूले पाउने गरेका छन् । तर, अहिले तालिबान सरकारले अफिम कृषकहरूलाई धेरै नै कर लगाउने गरेको छ ।
यसरी आउने करको हिस्सा पनि सरकारी अधिकारीले आफूले लिने गरेका छन् । यसरी करमा चुहावट हुनुका बाबजुद तालिबान सरकारले सन् २०२० मा लागु औषध कारोबारीबाट ३५ मिलियन डलर कर सङ्कलन गरेको थियो ।
‘ पहिलोपटक तालिबान सत्ता स्थापित भएपछि उनीहरूलाई लागु औषधमाथि प्रतिबन्ध लगाउन ६ वर्ष लागेको थियो । ६ वर्षपछि प्रतिबन्ध लाग्दा ६ वर्ष लागेको थियो । सो समयमा अफगानिस्तानमा अफिमको मात्र कारोबार हुने गरेको थियो,’ म्यान्सफिल्डले बताए ।
तालिबानन प्रवक्ता विलाल करिमी लागु औषध कारोबार रोक्न अफगानिस्तान र बाँकी विश्वकै लागि आवश्यक रहेको बताउँछन् । यस कारण अफगानिस्तानमा लागु औषधको उत्पादन रोक्नका लागि भए पनि अन्तर्राष्ट्रिय निकायले सहयोग उपलब्ध गराउनुपर्ने उनी बताउँछन् ।
त्यहाँ लागु औषधको उत्पादन मात्र बढेको छैन, उपयोग पनि बढेको छ । अहिले सडकको छेवैमा सयौँ जना सँगै बसेर हेरोइन सेवन गरिरहेको दृश्य देख्न सकिन्छ । यसअघि इरानबाट आउने गरेको लागु औषध अहिले अफगानिस्तानमा नै निर्माण हुन थालेपछि सहज उपलब्ध भएको छ । सेवनकर्ताहरूको उत्साहमा वृद्धि भएको छ ।
पहिला एक ग्राम मेथको १५०० अफगान तिर्नु पर्थ्यो भने अहिले ३० मा झरेको छ । अहिले अफगानिस्तानको यो बदलिँदो परिस्थितिसँगै त्यहाँका सडक त लागु औषध सेवन गर्नेहरूले भरिन थालेका छन्, संसारका अन्य देश पनि यसबाट अछुतो रहन सकेका छैनन् ।
एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया