वसन्त आरोहण : दुई आरोही समूहलाई अनुमति | Khabarhub Khabarhub

वसन्त आरोहण : दुई आरोही समूहलाई अनुमति


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन विभागले वसन्तयामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ ।

विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) आरोहणका लागि अनुमति जारी गरेको छ ।

नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन् । दुई आरोही समूहलाई अनुमति जारी गरिएको र अन्य धेरै आरोहीले आरोहण अनुमतिका लागि विभागमा निवेदन दिएको विभाग, पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार अनुमति माग्ने आरोहीमा अधिकांशले सगरमाथा र अन्नपूर्ण हिमाल आरोहण गर्न चाहेका छन् ।

आरोहणकै लागि अहिले विभागमा ५० भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले निवेदन दिएको विभागले जनाएको छ। वसन्तयामको आरोहणका लागि विभिन्न कम्पनीमार्फत धमाधम आरोहीले निवेदन दिएका हुन् । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ सुरू भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ ।

कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी वैशाखमा सगरमाथा आरोहण गर्ने भएको छ ।

यस वर्षको वसन्तयाममा सर्वोच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली सोमबार नेपाल आउने जनाएको छ ।

नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ ।

सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ सुरू भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पीसीआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति मन्त्रालयले जनाएको छ ।

अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने जनाइएको छ । पर्वतारोहणको मुख्य याम वसन्तका लागि अहिले विभिन्न पर्वतारोहणसम्बन्धी कम्पनीमार्फत धमाधम बुकिङ चलिरहेको छ ।

महामारीकै बीच बहराइनका राजकुमारसहितको टोलीलाई गत सरदयाममा मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले गत असोज २९ गते मनास्लुको सफल आरोहण गरेको थियो ।

त्यसपछि कतारका राजकुमारसहितको टोलीले गत कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो। असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ ।

अहिले पर्यटनका सबैजसो क्षेत्र खुलिसकेका छन् । पर्यटकीय गतिविधि पनि बढेको छ । सरकारले कोभिडका कारण स्थगन गरिएको पदयात्रा र पर्वतारोहण कात्तिकदेखि खुलाएको थियो । महामारीका कारण अघिल्लो वर्ष वसन्त याममा कुनै पनि आरोहण हुनसकेको थिएन ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : २० बजे

संसद् आज २ बजेदेखि सञ्चालन हुन्छ : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक

हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छ : अध्यक्ष शर्मा

 गोदावरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो भए

 प्रभावकारी नीतिगत व्यवस्था गर्न सुझाव

पाटन– युवालाई रोजगारीसँग जोड्ने गरी दीर्घकालीन प्रभावकारी नीतिगत व्यवस्था गर्न

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक– सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र