धुर्मुस भन्छन्– धेरै आश्वासन र धोका पाइयो « Khabarhub

धुर्मुस भन्छन्– धेरै आश्वासन र धोका पाइयो


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा परेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि ठप्प छ ।

तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा १७ करोडभन्दा बढी ऋण लागिसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले बताएका छन् । रंगशाला निर्माणमा ५४ करोडभन्दा बढी खर्च भइसकेको छ । रंगशालाको अपनत्व र अभिभावकत्व ग्रहण गरिदिन उनले सरकारलाई आग्रहसमेत गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनको आधिकारीक फेसबुक पेजबाट १४ मिनेट नौ सेकेण्डको भिडियो सार्वजनिक गर्दै धुर्मुसले देशको जितकै लागि भए पनि सरकारले अपनत्व ग्रहण गरिदिनुपर्ने बताए । यस्तै अवस्था रहेर भोलिका दिनमा आफूहरू विचलित हुने दिन आएमा सिंगो देशको हार हुने उनले बताए ।

३० हजार क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । पिच निर्माण गर्न बाँकी छ । कोरोना महामारीका बेला पनि क्रिकेट रंगशालाको काम धमाधम भएको थियो ।

‘निर्माण सामग्री दिने विभिन्न कम्पनी र व्यक्तित्वहरू धेरै कुरिसक्नुभयो । कति कम्पनी त बन्द हुने अवस्थामा पुगेका छन् । उहाँहरूको तारन्तर फोन आइरहन्छ । तारन्तार मेसेज गरिरहनुहुन्छ, कहिले कहिले ? मसँग पनि जवाफ छैन कहिले ?’, उनले भावुक हुँदै भने ।

सरकारकै नेतृत्वमा निर्माण गर्ने भए पनि आफुहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए । तीन तहकै सरकारलाई परियोजनाको अभिभावकत्व ग्रहण गरिदिन उनले आग्रह गरे ।

महामारी र चाडपर्वमा पनि आराम नगरी रंगशाला निर्माण अभियान जारी राखिएको स्मरण गर्दै उनले दर्शकको माया र ममता पाएर नै सामाजिक काममा हात हालिएको बताए । रंगशाला निर्माण परियोजनाको आफूहरू माध्यम मात्र भएको उनले बताए ।

‘हरेक विषम परिस्थितिको सामना गर्दै रंगशाला जसरी पनि बन्नुपर्छ भनेर त्यो आँट, त्यो हिम्मतका साथ हामी अघि बढेका थियौँ । तर, बिडम्बना विगत चार महिनादेखि रंगशाला निर्माण अभियान रोकिएको छ’, उनले भने ।

सरकारको उपस्थितिमा घोषित परियोजना निर्माणका लागि सके जतिको उपाय अपनाइएको तर थोरै सहयोग अनि धेरै आश्वासन र धोका पाइएको उनले बताए ।

‘सरकारलाई सुरुवाती दिनदेखि नै अभिभावकत्व ग्रहण गरिदिन अनुरोध गरिरह्यौँ’, उनी भन्छन्, ‘संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार । सबैको ढोकामा हामी पटकपटक पुग्यौँ । सिंहदरबार, ७५३ वटै सरकारका ढोकामा पत्राचार गरेका छौँ । अनुरोध गरेका छौँ । हामी नपुगेको ठाउँ, सायदै कम होला ।’

आर्थिक अनियमितता हुन नदिन आफूहरू सुरुवाती दिनदेखि नै सचेत रहेको उनले बताए । फाउण्डेसनले असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । त्योसँगै भोगाइ र पीडा पनि सार्वजनिक गर्ने सुरमा छन्, धुर्मुस । हरेक आलोचना र टिप्पणीको जवाफ दिइने उनले बताए ।

‘एकचोटी फेरि सबै जुर्मुराएर जुट्ने हो भने अबको ६ महिनादेखि वर्षदिनमा इतिहासमा पहिलो पटक ३० हजार क्षमताको अन्तर्राष्ट्रिय मादण्डको रंगशाला नेपालले पाउने छ’, उनले भने । रंगशालाको लागि सहयोग गरिसकेका ४० हजार जनाभन्दा बढीको भावनाको कदर सरकारले गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ३ : ४७ बजे

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले