मुलुकको पहिलो ढुवानी ग्राम निर्माण अन्तिम चरणमा | Khabarhub Khabarhub

मुलुकको पहिलो ढुवानी ग्राम निर्माण अन्तिम चरणमा



बुटवल- रुपन्देहीको बुटवलमा मुलुककै पहिलो नमुना ढुवानी ग्राम धमाधम निर्माण भइरहेको छ । बुटवल उपमहानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा मुलुकको नमुना आयोजनाका रूपमा हेवी लोडका सवारीसाधन व्यवस्थित गर्न ढुवानी ग्राम बनाएको हो ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार मुलुकको आर्थिक केन्द्रका रूपमा रहेको बुटवलको आर्थिक गतिविधि अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानी ग्राम निर्माण गरिएको हो । निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

वडा नम्बर १२ को ढवाहमा उपमहानगरको स्वामित्वमा रहेको तीन विगाह क्षेत्रफलमा करिब ३० करोड रुपैयाँ लागतमा ढुवानी ग्राम निर्माणको काम भइरहेको छ । सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा रुपन्देही परिवहन प्रालिले बहुवर्षीय योजनाका रूपमा ढुवानीग्राम निर्माण गरेको हो ।

‘सहरमा ट्राफिक चाप बढाउने, अव्यवस्थित तवरले सञ्चालित ढुवानी व्यवसाय व्यवस्थित बनाउने र हेवी लोडका गाडी एकै ठाउँबाट अनलोड गराउने गरी अलग्गै ढुवानीग्राम निर्माणको अवधारणा बनाएका हौँ,’ सुवेदीले भने, ‘निजी क्षेत्रको समेत साझेदारीको यो योजना सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।’

ढुवानी ग्रामको अवधारणा साकार हुने अवस्थामा पुगेपछि ढुवानी व्यवसायीहरू खुशी भएका छन् । सुवेदीले व्यस्त र भिडभाडयुक्त बजार क्षेत्र व्यवस्थित गर्ने उद्देश्यले उपमहानगरपालिकाले गरेको प्रस्तावमा निजी क्षेत्रले सहकार्य गरेपछि काम तोकिएको समयमै पूरा भएको बताए ।

नयाँ वर्षको शुरूमै सञ्चालमा ल्याउने गरी कोरोना महामारीको जोखिमले केही पर सरेको छ । हेबी लोडका ढुवानी साधानलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि शहरको ट्राफिक चाप कम हुने भएको छ ।

बढी भारका ढुवानीका साधनहरूको आवतजावतले बुटवल बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ । घना क्षेत्रबाट टाढा व्यवस्थित ढुवानीग्राम भएपछि शहरी सौन्दर्य बढ्ने विश्वास उपमहानगर र व्यवसायीहरूको छ ।

सार्वजनिक-निजी साझेदारीमा यसप्रकारको अलग्गै ढुवानीग्राम मुलुकमा अन्यत्र नरहेको उपमहानगरको भनाइ छ ।

ढुवानी ग्राम निर्माण कार्यदलका सदस्य माधव नेपालले बुटवलको पहिचानका रूपमा नमुना अटो भिलेजपछि अब नमुना ढुवानी ग्राम तयार भएको बताए । उनले लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितता भएकाले नै आफूहरूले सार्वजनिक क्षेत्रसँग सहकार्य गरेको बताए ।

यो आयोजनामा ढुवानी व्यवसायीको साढे १२ करोड रुपैयाँ लगानी रहेको छ । ढुवानी ग्रामसम्म पहुँच मार्ग निर्माण भइसकेको छ ।

ढुवानी ग्राम राजमार्ग क्षेत्रबाट साढे ३ किलोमिटर टाढा छ । ढुवानी ग्राममा साना ग्यारेज र प्राथमिक उपचारकक्ष रहनेछन् । बिओटी मोडल (बिल्ड, अपरेट, ट्रान्सफर मोडल) मा ढुवानी ग्राम निर्माण भइरहेको छ । रुपन्देही परिवहन प्रालिले एमबी कन्ट्रक्सनलाई करिब १३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

ढुवानी ग्राममा सामान अनलोड गर्ने अलग्गै स्थान, स्टोर कक्षहरू, कार्यालय, विद्युत, खानेपानी, स्नानाघर, शौचालय, विश्रामकक्ष सुरक्षागार्ड कक्ष, सूचना कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको शहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।

उपमहनगरपालिकाले ढुवानी ग्राम दिगोरूपमा सञ्चालनका लागि मापदण्ड बनाएको छ । उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच १५ वर्षको सम्झौता भएको छ । ढुवानी ग्राम १५ वर्षपछि उपमहानगरपालिकामा हस्तान्तरण हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : ५२ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको