लुम्बिनी प्रदेशमा टिपरलाई टाइम कार्ड « Khabarhub

लुम्बिनी प्रदेशमा टिपरलाई टाइम कार्ड


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- निर्माण सामग्री ओसार्ने टिपरका कारणले सवारी दुर्घटना बढ्दै गएको भन्ने जनगुनासो बढ्न थालेपछि लुम्बिनी प्रदेशमा टिपरलाई टाइमकार्ड लागु गरिएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार टिपरका लागि टाइम कार्ड लागु गर्दै लेन अनुशासनमा पनि जोड दिइएको छ ।

तीव्र गतिका कारण दुर्घटना बढेको ठहर गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पाल्पाबाट बुटवल हुँदै भैरहवा र नवलपरासीतिर चल्ने टिपरलाई यही साता टाइम कार्ड लागु गरेको हो ।

टाइम कार्ड लागु भएपछि पाल्पाको दोभानबाट बुटवलको धागो कारखाना (रामनगर) सम्म बढीमा २० किलोमिटको प्रतिघण्टा गतिमा टिपर चलाउनुपर्छ ।

धागो कारखानाबाट नवलपरासी (पश्चिम) को सुनवल र बुटवलबाट भैरहवासम्म प्रतिघण्टा ३० किलोमिटरभन्दा बढी गतिमा चलाउन पाइने छैन ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक, डम्बरबहादुर विकका अनुसार यी सडकमा चल्ने टिपरले तोकिएको स्थानमा अनिवार्यरूपमा टाइम कार्ड देखाएर अभिलेख गराउनु पर्नेछ । चेक प्वाइन्टमा जानकारी नगराई भागेमा वा तोकिएको समयभन्दा छिटो दूरी पार गरेमा जरिवाना हुनेछ ।

कोरोना भाइरस महामारीका कारण बन्द भएका गाडीको चाप पुरानै अवस्थामा फर्किसकेको छ । तीव्र गतिमा गाडी चलाउने र लापरबाही गर्ने गरेको भन्ने गुनासो बढ्न थालेपछि दुर्घटना कम गर्न टिपरका लागि टाइम कार्ड लागु गरिएको प्र्रहरी उपरीक्षक विकको भनाइ छ ।

त्यस्तै, प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडक लेन अनुशासनलाई पनि प्राथमिकता दिएको छ । प्रहरीले चालकलाई सडक लेन अनुशासन पालना गराउन ठाउँठाउँमा प्रचार सामग्री राख्ने, लेन अनुशासन उल्लंघन गर्नेलाई प्रहरी कार्यालयमा प्रशिक्षण दिने लगायतका काम गर्ने भएको छ ।

चालकले सडक लेन अनुशासन पालना नगरेको र तीव्र गतिमा लापरबाहीपूर्वक टिपर चलाउने गरेका कारण दुर्घटना बढेको निष्कर्ष प्रहरीको छ ।

१३ प्रतिशतले दुर्घटना वृद्धि

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा दुर्घटना संख्या झण्डै १३ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको साउनदेखि पुससम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा ५६६ वटा दुर्घटना भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६३७ वटा दुर्घटना भएका छन् ।

कोरोना भाइरस महामारीका कारण न्यून संख्यामा सवारी साधन सञ्चालन भए पनि दुर्घटना बढेको पाइएको छ । सडक खुला भएका कारण चालकको लापरबाही र तीव्र गतिले दुर्घटना बढेको प्रहरी उपरीक्षक विकले बताए । दुर्घटनाको संख्या बढे पनि मृत्यु संख्या भने घटेको छ ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा सवारी दुर्घटनामा लुम्बिनी प्रदेशमा २७६ जनाको ज्यान गएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २५६ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ लाख ३४ हजार ७२० सवारी साधनलाई कारबाही गरेको छ ।

यसबाट ८ करोड ५२ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । यो रकम गत आर्थिक वर्षको पहिलो ६ महिनाको भन्दा २८ प्रतिशत बढी हो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  २ : ४५ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख