पुनर्निर्मित घरहरुमा संरचना विस्तारका लागि कार्यविधि तयार « Khabarhub

पुनर्निर्मित घरहरुमा संरचना विस्तारका लागि कार्यविधि तयार


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि सोमबार बृहद् अन्तरक्रिया गरिएको छ ।

कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनर्निर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिहरु बीच अन्तरक्रिया भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको हो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रबिन्दु स्थानीय तहलाई बनाउनुपर्ने उल्लेख गर्दै सम्बन्धित केन्द्रीय निकायहरुले मेरुदण्डका रुपमा काम गर्नुपर्ने बताए । माउघरको क्रमशः विस्तार मूलतः ग्रामीण क्षेत्रमा संस्कृति नै रहेको उल्लेख गर्दै थपिएको हिस्सा पनि भूकम्प प्रतिरोधी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माणमा अग्रसरता लिइएको जानकारी दिए।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का उपनिर्देशक झप्परसिंह विश्वकर्मा र एनसेटका बलियो घर कार्यक्रम व्यवस्थापक रञ्जन ढुंगेलले मस्यौदा कार्यविधि तथा १० बुँदे पुस्तिकाका बारेमा प्रस्तुतीकरण दिए। सो प्रस्तुतिमाथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली, न्युजिल्याण्डमा बसोबास गर्ने विज्ञ जितेन्द्र बोथरा र भारतका विज्ञ विवेक रावलले टिप्पणी गरे।

इन्जिनियर एवं निर्माण प्राविधिकलाई उपयोगी हुनेगरी विस्तृत इञ्जिनियरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिएको छ । त्यस्तै, घरधनी एवं निर्माणकर्मीले बुझ्नेगरी नेपाली भाषामा १० बुँदे सरल पुस्तिका पनि तयार भएको छ । कार्यविधिले ढुंगामाटो तथा सिमेन्टको जोडाई भएका घरहरुमा दायाँ-बायाँ वा अगाडि-पछाडि भूकम्प प्रतिरोधी ढंगले विस्तार गर्न सकिनेबारे विस्तृत उल्लेख गरेको छ । तला थप्नका लागि भने यसअघि तयार भइसकेको ‘हाइव्रिड स्ट्रक्चर म्यानुअल’ उपयोगी हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले कार्यविधिलाई अन्तिम रुप दिइएपछि प्राधिकरणको कार्यकारी समितिबाट पारित गरी कार्यान्वयनमा लगिने र प्राधिकरणपश्चात स्थानीय सरकारका साथै शहरी विकास तथा भवन निर्माण विभाग मुख्य कार्यान्वयनकर्ता हुने बताए ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घरहरु विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्न विभाग तत्पर रहेको उल्लेख गरे। आगामी दिनमा सम्बन्धित निकायबाट प्राप्त सुझावका आधारमा कार्यविधिलाई छिट्टै अन्तिम रुप दिइने केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता गोपालप्रसाद अर्यालले सम्भव भएसम्म पालिका नभए जिल्लास्तरमा एक-एकवटा घरहरुमा नमूना विस्तार गरी कार्यान्वयनमा लैजाँदा प्रभावकारी हुनसक्ने राय व्यक्त गरे ।

अमेरिकी सहायता नियोग (युएसएड) का सन्तोष ज्ञवालीले कार्यविधि पुनर्निर्माण भएका घरका लागि मात्र नभएर आगामी दिनमा बन्ने घरहरुका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माउघर अर्थात् ‘कोर हाउजिङ युनिट’ पुनर्निर्माणका लागि तीन लाख रुपैयाँ अनुदान तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  २ : १६ बजे

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई