‘ए’ डिभिजन लिग पहिलो चरणः आर्मीलाई धक्का, थ्री स्टारको रवाफ | Khabarhub Khabarhub

‘ए’ डिभिजन लिग पहिलो चरणः आर्मीलाई धक्का, थ्री स्टारको रवाफ


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना महामारी र त्यसपछि उब्जिएका विभिन्न प्रश्नका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ ।

सोमबार साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीचको खेल सकिएसँगै पहिलो चरणको खेल समाप्त भएको हो । शुक्रबार (३ मंसिर) बाट सुरु भएको लिगको पहिलो चरणमा ७ खेल भए ।

पहिलो चरणको खेल सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब, कीर्तिमानी आठौं पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब, तीन पटकको लिगविजेता थ्रीस्टार क्लब र ब्रिगेड ब्वाइज क्लबले शतप्रतिशत जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडे ।

साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र  सातदोबाटो युथ क्लबले बराबर खेल्दै हार टारे भने एक अंक हासिल गरे ।

विभागीय एपीएफ फुटबल क्लब, न्युरोड टिम एनआरटी, जावलाखेल युथ क्लब  र च्यासल युथ क्लब भने पराजित भए ।

लिगको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेले । दोस्रो खेलमा संकटा र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दा तेस्रो खेलमा च्यासल युथ क्लबलाई थ्री स्टार क्लबले ३-० ले पराजित गर्‍यो ।

लिगको तेस्रो दिन तथा चौथो खेल रोमाञ्चक बन्दा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्‍यो । पाँचौ खेलमा कीर्तिमानी आठौं पटकको विजेता मनाङले जावलाखेलसँग १-० कठिन जित पायो ।

पहिलो चरणको छैटौं  तथा विभागीय डर्बीको खेलमा साविक विजेता आर्मी नेपाल पुलिससँग १-१ गोलको बराबरीमा रोकियो । यस्तै अन्तिम खेलमा साविक विजता मछिन्द्रले प्रतिस्पर्धात्मक खेलमा न्युरोड टिम एनआरटीविरुद्ध २-१ को कठिन जित पायो ।

अघिल्लो वर्ष (२०७६) मा अन्तिम खेलमा लिग जित्न एक अंक आवश्यकता रहेको समय मछिन्द्रलाई १-० ले नतिजा सुम्पिएको आर्मीले यस सिजन भने सुरुवाती खेलमै धक्का व्यहोर्‍यो । लिग जित्ने दाबीसहित प्रतियोगितामा होमिएको आर्मी सुरुआती खेलमै विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिससँग १-१ गोलको बराबरीमा रोकियो ।

सुरुवातबाट आक्रमक खेल खेलेको आर्मी नेपाल पुलिसको डिफेन्स लाइन भने चिर्न सकेन । पहिलो हाफमा पुलिसका खेलाडीले आर्मीको आक्रमणलाई रोक्न सफल भए । दोस्रो हाफमा दबाबकै बीच पुलिसले ‘सेट पिस’ मा गोल गर्‍यो । राष्ट्रिय टोलीका सदस्य तेज तामाङले प्रहार गरेको फ्रिकिकमा रक्षक सन्तोष हेमरुङले खेलको ५१ मिनेटमा हेडिङ गोल गरे । जससँगै दबाबकाबीच पुलिसले १-० को अग्रता बनायो ।

आर्मीले गोल खाएपछि दुई खेलाडी परिवर्तन गर्‍यो । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका विवेक बस्नेतले खेलको ६१ मिनेटमा डिफेन्समा पुलिसका खेलाडीले गरेको गल्तीको फाइदा उठाउँदै उत्कृष्ट गोल गरे । उनले मैदान प्रवेश गरेको तीन मिनेटमा गोल गरेका थिए ।

यस नतिजासँगै आर्मीलाई उपाधि यात्रामा केही कठिनाइ पक्कै हुनेछ । लिग जित्ने दाबी गरेको आर्मी पहिलो खेलमै रोकिन पुग्यो । आर्मीले यस बराबरीलाई लिएर नराम्रो भने पक्कै महसुस गरेको छैन । समग्रमा विभागीय प्रतिद्वन्द्वी बलियो भएकाले आर्मीले आगामी खेलमा आफ्नो अग्रपंक्तिमा सुधार गर्दै ३ अंकका लागि खेल्ने बताएको छ ।

यद्यपि लिग जित्न १३ मध्ये कम्तीमा ९ खेल जित्नुपर्ने हुँदा यस्ता बराबरीले भने टोलीको उपाधि यात्रामा निकै कठिनाइ पक्कै हुनेछ ।

यता, पहिलो चरणमा थ्री स्टारले प्रभावशाली प्रदर्शन गर्‍याे । ललितपुर डर्बीमा थ्रीस्टारले बलियो च्यासलविरुद्ध ३-० को सहज जित निकाल्यो । च्यासलविरुद्ध थ्री स्टारले तिनै गोल ‘सेट पिस’ मा गर्न सफल भएको थियो । जुन तीनै गोल डिफेन्डरबाट सम्भव भएको थियो ।

थ्री स्टारले आफ्नो बक्स, डिफेन्स लाइन, मिड लाइन र आक्रमणमा मजबुत प्रदर्शन गर्दै रवाफिलो जित पायो । थ्री स्टारको यस प्रदर्शनले लिगमा अन्य टोलीका लागि टाउको दुखाइको विषय बन्ने निश्चित छ ।

अन्य खेलमा भने त्यस्ता कुनै पनि आश्चर्यजनक नतिजा भने आएन । लिगमा ठूला टोलीले साना देखिएका टोलीलाई पराजित गरेका छन् । यता, लिगमा बलियो देखिएका मछिन्द्र र मनाङले भने आफ्नो मजुबत आक्रमणबाट भने त्यति सन्तुष्टि पाउन सकेन ।

सिंगल राउन्ड रोबिनको आधारमा जारी लिगमा जम्मा ९१ खेल आयोजना हुनेछन् । प्रत्येक टोलीले १३ खेल खेल्दा एक टोली विजेता हुनेछ । प्रतियोगिताको विजेताले ७५ लाख, उपविजेताले ५० र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउँदा  अन्य बरियताका क्लबले भने कुनै पुरस्कार पाउने छैनन् ।

लिगको प्रत्येक खेलको विजेताले ५० हजार पाउँदा अंक बाढ्ने टोलीले समान २५ हजार पाउनेछन् । खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछ । एन्फाले पहिलो पटक लिगलाई ‘फ्लड लाइट’ मा खेलाएको छ । एक खेल दिउँसो हुँदा अर्काे खेल साँझ हुँदै आएको छ ।

विगतका दिनमा लिगमा दर्शकको अनुपस्थित हुँदा यस पटक भने पहिलो चरणमै तुलानात्मक रूपमा दर्शकको बाक्लो उपस्थिति रहेको छ । साँझका खेलमा झनै प्रतिस्पर्धा बढ्दा आगामी दिनमा झनै दर्शकको बाक्लो उपस्थिति हुने अनुमान गर्न सकिन्छ । यसपटक एन्फाले दर्शक तान्नकै लागि टिकट दरसमेत सस्ताउँदै एक सय र पाँच सय रुपैयाँ तोकेको छ ।

पहिलो चरणमा ७ खेल हुँदा १४ खेलाडीले १६ गोल गरेका छन् । एक खेलाडीले रातोकार्डको सामना गर्दा च्यासलका विदेशी खेलाडी विकास मेलाग्लियाले पेनाल्टी मिस गरे । लिगमा दुइ खेलाडीले दुई गोल गर्दा १२ खेलाडीले एक-एक गोल गरेका छन् ।

पहिलो चरणमा भएका खेल र नजिता

१‍‍, फ्रेन्ड्स क्लब ०–० सातदोबाटो युथ क्लब

२‍‍, हिमालयन शेर्पा क्लब १-१ संकटा क्लब

३, च्यासल युथ क्लब ०-३ थ्री स्टार क्लब

४, ब्रिगेड ब्वाइज क्लब ३-२ एपीएफ फुटबल क्लब

५, जावलाखेल युथ क्लब ०-१ मनाङ मर्स्याङ्दी क्लब

६, त्रिभुवन आर्मी फुटबल क्लब १-१ नेपाल पुलिस क्लब

७, मछिन्द्र फुटबल क्लब २-१ न्युरोड टिम एनआरटी

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : १० बजे

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस

काठमाडौं– साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक साढे २ अंकले

म्याद थपका लागि प्रसाईंलाई आज अदालत लगिने

काठमाडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार

छविलाल जोशीलाई काठमाडौं अदालतमा पेस गरिँदै

काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडिया