एक वर्षपछि खुले मनाङका विद्यालय « Khabarhub

एक वर्षपछि खुले मनाङका विद्यालय


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् ।

गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए ।

पहुँच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि कक्षा सञ्चालन प्रभावकारी भएन । एक त विकट ठाउँ त्यसमा पनि कोरोना कहरमा घरदेखि बाहिर निस्कने वतावरण नहुनुले पनि कठिन भएको स्थानीय अभिभावक बताउँछन् ।

केही दिन अगाडि मात्र तल्लो भेगका विद्यालय खुलेका हुन् । सदरमुकाम चामे र नासोँ गाउँपालिकामा रहेका विद्यालयले पढाइ शुरू गरेका छन् ।

विगतका वर्षमा चैतदेखि नयाँ शैक्षिकसत्र शुरू हुने भए पनि यस वर्ष कोरोनाका कारण पढाइ रोकिएकाले छिटो विद्यालय सञ्चालन गरिएको हो ।

चारवटा गाउँपालिका रहेको यस जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने फागुन १६ पछि खुल्ने भएको छ ।

जाडो छल्न काठमाडौँ र पोखरालगायत जिल्ला बाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै फर्केका छन् । विगतका वर्षमा वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न शहर झर्ने गरे पनि यस वर्ष कोरोनाका कारण परीक्षा सञ्चालन भएको छैन ।

चामेस्थित लोकप्रिय माविमा माघ ११ गतेदेखि पठनपाठन शुरु गरिएको प्रधानाध्यापक सुरेश थापाले बताए । आवासीय विद्यालयका रूपमा सञ्चालन गरिएको उक्त विद्यालयमा हाल २९२ विद्यार्थी छन् ।

नासोँ गाउँपालिका–१ तालमा रहेको भानु मावि र नासोँ गाउँपालिका– ५ थोँचेस्थित प्रकाशज्योति माविमा पनि माघ २५ गतेबाट विद्यालय सञ्चालन भएका छन् ।

मनाङको तल्लो क्षेत्रको चामे र नासोँ गाउँपालिकाका विद्यालय खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले बताए ।

उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमिका ११ विद्यालयमा भने पठनपाठन शुरु भएको छैन । विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन शुरु हुने उनले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख रेग्मीका अनुसार शिक्षा नियमावलीले ४५ दिन बिदा पाउने प्रावधान छ । स्थानीय बिदा पाँच दिन पाउँछन् ।

तर, माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गरेको छ । यस वर्ष कोरोनाका कारणले भने पठनपाठन नहुँदा यो शैक्षिकसत्र नै प्रभावित भएको छ । जिल्लामा २६ सामुदायिक विद्यालय र एक निजी विद्यालय छन् ।

जिल्लाभर चार मावि, आठ आधारभूत तह र १५ वटा प्राविमा १९० शिक्षक दरबन्दी छन् । जिल्लाभर ६०२ विद्यार्थी अध्यनरत रहेका शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

माथिल्लो भेगका विद्यालय भने कुनै कक्षा सञ्चालन नभइकन यो शैक्षिकसत्र सकिएको छ । तल्लो भेगमा भने वैशाख महिनादेखि नै नयाँ शैक्षिकसत्र शुरु हुने गरेको छ । अब नयाँ भर्न अभियान गर्ने कि पुरानै कक्षा सञ्चालन गर्ने दोधारमा रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ११ : ०२ बजे

एसईईको नतिजा सोमबारै साँझ सार्वजनिक हुँदै

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा

अर्थविद्हरूको आँखामा नीति तथा कार्यक्रम : केही नयाँ, कम महत्वकाङ्क्षी

काठमाडौं– अर्थविद्हरूले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा

९ महिनामा साढे १६ खर्ब बढी भित्रियो रेमिट्यान्स, झण्डै ३५ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा विप्रेषण आप्रवाह ३९.१

नीति तथा कार्यक्रम : डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि डिजिटल सामग्री तथा