बेनी अस्पतालमा ६४ शय्या सञ्चालन « Khabarhub

बेनी अस्पतालमा ६४ शय्या सञ्चालन


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले ६४ शय्याको सेवा सञ्चालन गरेको छ ।

पछिल्लो एक वर्षयता सघन उपचार, डायलाइसीस, कोभिड र बालरोग उपचार कक्ष थप गरेको अस्पतालले आज बेनीमा आयोजना गरेको कार्यक्रममा जानकारी गराएको हो ।

अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले गत वर्षसम्म ३५ शय्याको सेवा दिएको अस्पतालले हाल ६४ शय्या सञ्चालन गरेको जानकारी दिए ।

“विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालमा पछिल्लो पटक २५ शय्याको कोभिड, पाँच शय्याको सघन र १२ शय्याको बालरोग कक्ष थपिएको छ”, उनले भने, “जनशक्ति र पूर्वाधार अभावका बाबजुद सेवा सञ्चालन गरेका छौँ ।”

विशेषज्ञ चिकित्सक, स्टाफ नर्स, स्वास्थ्य सहायक, अहेवलगायत दरबन्दीअनुसार जनशक्ति अभाव अस्पतालको चुनौती देखिएको छ । गत वर्ष ३५ हजार १७४ जनालाई सेवा दिएको अस्पतालबाट २० जनाले डायलाइसीस, १२३ वटा शल्यक्रियामार्फत गरिने ७३४ जनाले प्रसूति र २०३ जना कोरोना सङ्क्रमितको उपचार भएको छ ।

१३ हजार ९३२ जना स्वास्थ्य बीमा गरेका नागरिकलाई औषधि उपचार सेवा उपलब्ध गराई रु एक करोड चार लाख ५४ हजार ९६८ भुक्तानी पाएको अस्पतालले स्वास्थ्य बीमा वापतको थप रु २३ लाख भुक्तानी पाउन बाँकी रहेको जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले गत वर्ष बालरोग उपचार कक्ष, प्रसूति प्रतिक्षागृह, एकद्धार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन, प्लान्टबाट सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गर्ने र भूमिगत पानी तानेर खानेपानीको आपूर्ति व्यवस्था मिलाइएको बताए ।

“इण्डोस्कोपी र आँखा उपचार कक्ष पनि सञ्चालन भएको छ”, उनले भने, “अस्पतालमा सेवा र सुविधा बढेपछि उपचारका लागि जिल्ला बाहिर जानुपर्ने जिल्लावासीको बाध्यता हट्न थालेको छ ।”

विद्युत् आपूर्तिमा हुने अनियमितताका कारण एक्सरे र डायलाइसीस मेसिन बिग्रने, निर्माणाधीन ५० शय्या क्षमताको भवन अलपत्र पर्नु र दरबन्दी अनुसारका जनशक्तिको अभाव अस्पतालको चुनौती रहेको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा रु चार करोड दुई लाख ५४ हजार आम्दानी गरेको अस्पतालले रु चार करोड ३८ लाख खर्च गरेको छ । एक करोड ८३ लाख मौज्दात रहेको अस्पतालको खातामा स्वास्थ्य बीमा र कोभिड शिर्षकको बजेट आएपछि खर्चभन्दा आम्दानी बढी देखिने प्रमुख डाक्टर कँडेलले बताए ।

सो कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ गणेशबहादुर अधिकारी, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले अस्पतालमा जनशक्ति र पूर्वाधार ब्यवस्थापनमा प्राथमिकता दिनुपर्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : ०१ बजे

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत