जनयुद्ध सकियो, न सरीमायाको आँसु रोकियो न पार्क बन्यो « Khabarhub

जनयुद्ध सकियो, न सरीमायाको आँसु रोकियो न पार्क बन्यो



गोरखा– तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र युद्ध सुरु गरेको १४ दिनमात्रै भएको थियो । हालको बारपाक सुलिकोट गाउँपालिका–८, जराङस्थित बह्मचारिणी निम्नमाध्यमिक विद्यालयका शिक्षक वीरबहादुर गुरुङलाई प्रहरीले विद्यालयबाटै पक्राउ गर्‍यो ।

आफ्ना हेडसरलाई आँखै अगाडि प्रहरीले समातेपछि विद्यार्थीहरूले एक स्वरमा नारा लगाए, चिच्याए, कोही रोए । उनीहरूले प्रहरीलाई रोक्न खोजे, हेडसरलाई खोसेर आफ्नो घेरामा राख्न खोजे तर केही सिप लागेन ।

अबोध बालबालिकाको चिच्याहट बेवास्ता गर्दै अघि बढेको प्रहरीले हेडसरलाई पक्राउमात्रै गरेन, निर्दोष बालबालिकालाई गोलीसमेत हान्यो । त्यसैको शिकार भए ११ वर्षका दिलबहादुर रम्तेल ।

विद्यालयबाट प्रहरीले हेडसरलाई समातेर लगेपछि नारा लगाउँदै पछ्याउँदै गएका विद्यार्थीहरूको समूहमाथि प्रहरीले गोली चलायो । अर्का विद्यार्थी रामप्रसाद भट्टलाई पनि गोली लाग्यो । धन्य ! उनको ज्यान गएन ।

एघार वर्षका स्कूले बालक दिलबहादुरलाई तत्कालीन माओवादीले जनयुद्धका प्रथम शहीद घोषणा गर्‍यो ।

हत्याको २६ वर्षपछि पनि आज सामाजिक सञ्जालमा तिनै दिलबहादुरका तस्वीर छाएका छन् ।

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेल ।

माओवादीले जनयुद्ध बिसाएको १५ वर्ष पूरा हुनै लागेको छ । यसबीचमा त्यही माओवादीले आफ्ना नेताको प्रधानमन्त्रीत्वमा तीन पटक सरकार बनायो । माओवादीका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक प्रधानमन्त्री भए । गोरखाकै माओवादी नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए ।

कैयौँ माओवादी नेता मन्त्री भए, उच्च ओहोदामा पुगे । आज त्यही माओवादीका एक जना नेता उपराष्ट्रपति छन् । जनयुद्ध सकियो, नेतालाई राज्यसत्ता प्राप्त भयो तर दिलबहादुरकी ७१ वर्षीया आमा सरीमायाका आँखामा आँसु रोकिएको छैन ।

दिलबहादुरका बाबुआमा वृद्धअवस्थामा छन् । बुबा सेते ७६ वर्षका भए । उनीहरूका एक छोरी र तीन छोरामध्ये दिलबहादुर कान्छा थिए । अहिले जेठा छोरा अलग्गै बस्छन् । माइला कामका सिलसिलामा विदेशमा छन् ।

दिलबहादुरको स्मृतिमा शहीद पार्क निर्माण गर्न जग्गा छुट्याएर डीपीआर तयार गरे पनि निर्माण अलपत्र छ । स्मृति पार्क बनाउने भनेर दिलबहादुरको घर नजिकै नौ रोपनी जग्गा किनेर निर्माण शुरू गरिएको थियो ।

२०७५ फागुन १४ गते प्रचण्डले शहीद स्मृति पार्क तथा गाउँपालिका कार्यालय भवन शिलान्यास गरेका थिए । गाउँपालिकाको भवन एक वर्षअघि नै पूरा भयो, पार्क अलपत्र छ ।

जनयुद्ध शुरू भएको पहिलो वर्षकै फागुन १४ गते दिलबहादुर मारिएपछि हरेक वर्ष फागुन १४ गतेदेखि २१ गतेसम्म माओवादीले शहीद सप्ताह मनाउँदै आएको थियो । जनयुद्ध त्यही फागुनको १ गते शुरू भएको थियो ।

शहीद सप्ताहमा शहीद परिवारका सदस्यहरूसँग भेटघाट लगायतका कार्यक्रम गरी औपचारिकता दिने काम भने कायमै रहेको नेकपा क्रान्तिकारी माओवादीका गोरखाका नेता नारायण अधिकारीले बताए । बारपाक सुलिकोट गाउँपालिकाले दिलबहादुर मारिएको दिनलाई स्थानीय बलिदान दिवस मानेको छ । गाउँपालिकाले आज सार्वजिक विदा दिएको छ ।

बलिदानी दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा घोषणा गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । नेकपा प्रचण्ड–नेपाल समूहको गाउँ कमिटीले आजै दिलबहादुरको स्मृति दिवस मनाउँदैछ ।

माओवादी जनयुद्धका क्रममा गोरखाका मात्रै १८८ जनाको मारिएका थिए । अन्य २० जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : ४० बजे

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको