जनयुद्ध सकियो, न सरीमायाको आँसु रोकियो न पार्क बन्यो « Khabarhub

जनयुद्ध सकियो, न सरीमायाको आँसु रोकियो न पार्क बन्यो



गोरखा– तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र युद्ध सुरु गरेको १४ दिनमात्रै भएको थियो । हालको बारपाक सुलिकोट गाउँपालिका–८, जराङस्थित बह्मचारिणी निम्नमाध्यमिक विद्यालयका शिक्षक वीरबहादुर गुरुङलाई प्रहरीले विद्यालयबाटै पक्राउ गर्‍यो ।

आफ्ना हेडसरलाई आँखै अगाडि प्रहरीले समातेपछि विद्यार्थीहरूले एक स्वरमा नारा लगाए, चिच्याए, कोही रोए । उनीहरूले प्रहरीलाई रोक्न खोजे, हेडसरलाई खोसेर आफ्नो घेरामा राख्न खोजे तर केही सिप लागेन ।

अबोध बालबालिकाको चिच्याहट बेवास्ता गर्दै अघि बढेको प्रहरीले हेडसरलाई पक्राउमात्रै गरेन, निर्दोष बालबालिकालाई गोलीसमेत हान्यो । त्यसैको शिकार भए ११ वर्षका दिलबहादुर रम्तेल ।

विद्यालयबाट प्रहरीले हेडसरलाई समातेर लगेपछि नारा लगाउँदै पछ्याउँदै गएका विद्यार्थीहरूको समूहमाथि प्रहरीले गोली चलायो । अर्का विद्यार्थी रामप्रसाद भट्टलाई पनि गोली लाग्यो । धन्य ! उनको ज्यान गएन ।

एघार वर्षका स्कूले बालक दिलबहादुरलाई तत्कालीन माओवादीले जनयुद्धका प्रथम शहीद घोषणा गर्‍यो ।

हत्याको २६ वर्षपछि पनि आज सामाजिक सञ्जालमा तिनै दिलबहादुरका तस्वीर छाएका छन् ।

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेल ।

माओवादीले जनयुद्ध बिसाएको १५ वर्ष पूरा हुनै लागेको छ । यसबीचमा त्यही माओवादीले आफ्ना नेताको प्रधानमन्त्रीत्वमा तीन पटक सरकार बनायो । माओवादीका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई पटक प्रधानमन्त्री भए । गोरखाकै माओवादी नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए ।

कैयौँ माओवादी नेता मन्त्री भए, उच्च ओहोदामा पुगे । आज त्यही माओवादीका एक जना नेता उपराष्ट्रपति छन् । जनयुद्ध सकियो, नेतालाई राज्यसत्ता प्राप्त भयो तर दिलबहादुरकी ७१ वर्षीया आमा सरीमायाका आँखामा आँसु रोकिएको छैन ।

दिलबहादुरका बाबुआमा वृद्धअवस्थामा छन् । बुबा सेते ७६ वर्षका भए । उनीहरूका एक छोरी र तीन छोरामध्ये दिलबहादुर कान्छा थिए । अहिले जेठा छोरा अलग्गै बस्छन् । माइला कामका सिलसिलामा विदेशमा छन् ।

दिलबहादुरको स्मृतिमा शहीद पार्क निर्माण गर्न जग्गा छुट्याएर डीपीआर तयार गरे पनि निर्माण अलपत्र छ । स्मृति पार्क बनाउने भनेर दिलबहादुरको घर नजिकै नौ रोपनी जग्गा किनेर निर्माण शुरू गरिएको थियो ।

२०७५ फागुन १४ गते प्रचण्डले शहीद स्मृति पार्क तथा गाउँपालिका कार्यालय भवन शिलान्यास गरेका थिए । गाउँपालिकाको भवन एक वर्षअघि नै पूरा भयो, पार्क अलपत्र छ ।

जनयुद्ध शुरू भएको पहिलो वर्षकै फागुन १४ गते दिलबहादुर मारिएपछि हरेक वर्ष फागुन १४ गतेदेखि २१ गतेसम्म माओवादीले शहीद सप्ताह मनाउँदै आएको थियो । जनयुद्ध त्यही फागुनको १ गते शुरू भएको थियो ।

शहीद सप्ताहमा शहीद परिवारका सदस्यहरूसँग भेटघाट लगायतका कार्यक्रम गरी औपचारिकता दिने काम भने कायमै रहेको नेकपा क्रान्तिकारी माओवादीका गोरखाका नेता नारायण अधिकारीले बताए । बारपाक सुलिकोट गाउँपालिकाले दिलबहादुर मारिएको दिनलाई स्थानीय बलिदान दिवस मानेको छ । गाउँपालिकाले आज सार्वजिक विदा दिएको छ ।

बलिदानी दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा घोषणा गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । नेकपा प्रचण्ड–नेपाल समूहको गाउँ कमिटीले आजै दिलबहादुरको स्मृति दिवस मनाउँदैछ ।

माओवादी जनयुद्धका क्रममा गोरखाका मात्रै १८८ जनाको मारिएका थिए । अन्य २० जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै