राहुघाट जलविद्युत् आयोजनाको काम, १२ वर्षमा ३० प्रतिशत मात्रै | Khabarhub Khabarhub

राहुघाट जलविद्युत् आयोजनाको काम, १२ वर्षमा ३० प्रतिशत मात्रै


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो । पुरानो ठेकेदार आइभिआरसीयल टाँट पल्टिएपछि विसं २०७२ मा उसँगको ठेक्का तोडेर विसं २०७३ मा प्राधिकरणले सहायक कम्पनी रघुगङ्गा हाइड्रो स्थापना गरेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाएको थियो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट विसं २७० मा निर्माण सकिनुपर्ने थियो ।

यो आयोजना निर्माणका लागि विसं २०७४ मङ्सिरमा रु छ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट् (जेपी)ले पनि अपेक्षाकृत काम गर्न सकेको छैन । आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म ३० प्रतिशत प्रगति भएको बताए। ‘महिनाको ठेक्का सम्झौताको म्याद सकिन लागेको छ’, उनले भने, ‘ठेकेदारले थप एक वर्ष म्याद थप्न प्रस्ताव गरेको छ ।’

पुरानो ठेकेदारले १० प्रतिशत काम गरेको थियो । हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट र ६५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) निर्माण सकिएको छ । पावरहाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग, बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ ।

छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म एक हजार ७३७ मिटर निर्माण सकिएको छ । प्रेसर साफ्टको २५४ मिटर सुरुङ निर्माण भएको छ । सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

ठेकेदारले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा ढिलासुस्ती भएको आयोजना प्रभाबित क्षेत्र रघुगङ्गा गाउँपालिका–३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्लले जानकारी दिए । पहिरोका कारण बाँध, पहिलो र दोस्रो नम्बर अडिटबाट सुरुङ निर्माणको काम गत असार महिनादेखि रोकिएको छ । बाँधमा जग्गा व्यवस्थापन र पहिलो नम्बरको अडित खनेर सुरुङ निर्माणको तयारी गरेको थियो । पिप्लेको बगैँचास्थित आउटलेट निर्माणस्थलमा सक्रिय भएको पहिरोका कारण तिल्केनीचौरमा राहुघाटको विद्युत्गृह निर्माणलाई समेत प्रभावित बनाएको छ ।

प्राकृतिक विपद् र कोरोना भाइरसको महामारीलाई ठेकेदारले ढिलाइको कारण दाबी गरेको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले तिल्केनीचौरमा विद्युत्गृह निर्माणका लागि प्रारम्भिक चरणको काम गरेको छ ।

अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार टावर तयार भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : १० बजे

माझीका पाँच पुस्ताले देखेको श्रीलङ्का टप्पु !

चतरा (सुनसरी) – रङ्गे माझी रामेछापदेखि कमला नदी हुँदै कोशी

रूसद्वारा युक्रेनको राजधानी कियभमा आक्रमण, १५ जनाको मृत्यु

काठमाडौं– रूसले युक्रेनको राजधानी कियभमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु

कसरी छुटाउने बालबालिकाको मोबाइल फोन प्रयोग गर्ने लत?

काठमाडौं– स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बन्दै गएको छ ।

‘इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गर्‍यो’

काठमाडौं– इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण

भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षार्थ