एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र विश्वव्यापी ऋणपत्रको प्रतिफलमा आएको उछालका कारण विदेशी लगानीकर्ताहरूले भारतीय वित्तीय बजारबाट पुनः पुँजी झिक्न थालेका छन् ।
ऊर्जा मूल्य वृद्धिले महँगी बढाउने र भारतीय मुद्रा रुपैयाँलाई कमजोर बनाउने जोखिम बढेपछि वैदेशिक लगानीकर्ताहरूले सेयर तथा ऋणपत्र बिक्री बढाएका हुन्। यसले भारतीय बजारमा हालै देखिन थालेको वैदेशिक मागको सुधारलाई पुनः सुस्त बनाएको छ ।
यही सेप्टेम्बर महिनामा मात्रै विदेशी कोषहरूले भारतीय सेयर बजारबाट २.१ अर्ब अमेरिकी डलर बराबरको पुँजी फिर्ता लगेका छन् । यसअघि लगातार दुई महिनासम्म विदेशी लगानीकर्ताहरू खुद क्रेताका रूपमा रहेका थिए । यसैगरी, सरकारी ऋणपत्रबाट पनि विदेशी पुँजी बाहिरिने क्रम तीव्र बनेको छ ।
गत जुन महिनामा कीर्तिमानी वैदेशिक पुँजी भित्रिए पनि सेप्टेम्बरमा विदेशीहरूले १.१ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेका छन्, जुन मार्च महिनापछिकै ठूलो बहिर्गमन हो । यस्तै, भारतको १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल यसै साता दुई वर्षकै उच्च विन्दुमा पुगेको छ ।
इन्धन आयातमा बढी निर्भर रहेको भारतीय अर्थतन्त्रमा कच्चा तेलको मूल्य वृद्धिले मुद्रास्फीति बढाउनुका साथै भारतीय रुपैयाँमाथि उच्च दबाव सिर्जना गरेको छ ।
गैरआवासीय लक्षित विशेष डलर निक्षेप कार्यक्रममार्फत वाणिज्य बैंकहरूले १३३ अर्ब डलर संकलन गरी भारतीय रिजर्भ बैंकसँग साटेका थिए । यस प्रक्रियाले भारतको विदेशी मुद्रा सञ्चितिलाई क्षणिक रूपमा ७८५.७ अर्ब डलरको कीर्तिमानी विन्दुमा पुर्याएको भए तापनि रुपैयाँको अवमूल्यन रोक्न केन्द्रीय बैंकले लगातार डलर बिक्री गरिरहेको छ । फलस्वरूप यस त्रैमासमा भारतीय रुपैयाँ एसियाकै कमजोर प्रदर्शन गर्ने मुद्रामध्ये पर्न पुगेको छ ।
वैदेशिक पुँजी बाहिरिने यो प्रवृत्ति भारतमा मात्र सीमित नरही दक्षिण कोरिया र ताइवान जस्ता अन्य एसियाली बजारहरूमा पनि देखिएको छ । यद्यपि, सेप्टेम्बर महिनाको बिक्रीका बाबजुद जुलाईयता विदेशी कोषहरूले खुद २.७ अर्ब डलर बराबरको भारतीय सेयर खरिद गरेका छन्, जसले अघिल्लो वर्षको अप्रिल-जुन त्रैमासपछि पहिलोपटक त्रैमासिक आधारमा खुद पुँजी भित्रिन सहयोग पुर्याएको छ ।
सन् २०२४ को अन्त्ययता विदेशी कोषहरूले भारतीय सेयर बजारबाट कुल ४५ अर्ब डलरभन्दा बढी पुँजी झिकिसकेका छन् । यसरी बाहिरिएको पुँजीको ठूलो हिस्सा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रसँग जोडिएका उत्तरी एसियाली बजारहरूतर्फ स्थानान्तरण भएको देखिन्छ ।
अमेरिका लगायत विकसित मुलुकहरूमा ऋणपत्रको प्रतिफल उच्च रहेकाले भारतीय बजारका लागि वैदेशिक लगानी आकर्षित गर्न सकस परेको छ । भारतको वैदेशिक पोर्टफोलियो सेयर लगानीमा अमेरिकी लगानीकर्ताहरूको हिस्सा सबैभन्दा ठूलो भएकाले अमेरिकी ट्रेजरीको उच्च प्रतिफलले भारतीय सम्पत्तिको आकर्षण घटाएको छ ।
यसबाहेक, एमएससीआई इन्डिया सूचकांकका १६० भन्दा बढी कम्पनीहरूको आम्दानी वृद्धि सन् २०२७ मा १३ प्रतिशत रहने अनुमान गरिएको छ, जुन चीन, दक्षिण कोरिया र ताइवान जस्ता प्रमुख समकक्षी बजारहरूको तुलनामा सुस्त छ ।
बजार विश्लेषकहरूका अनुसार भारतमा वैदेशिक लगानीको भविष्य मुख्यतया कच्चा तेलको मूल्यमा निर्भर रहनेछ ।
युबीएस ग्रुपका ग्लोबल मार्केट्स इन्डिया प्रमुख गौतम छाछरियाका अनुसार उच्च तेल मूल्य, सेयरको आपूर्ति र मूल्याङ्कनका कारण भारतीय सेयर बजार निकट भविष्यमा सीमित दायराभित्रै रहने बताएका छन् भने एबरडिन इन्भेस्टमेन्ट्सका फेसा विबावाका अनुसार हालको वैदेशिक बिक्रीलाई भारतप्रतिको आधारभूत मूल्यांकन परिवर्तनभन्दा पनि विश्वव्यापी ऋणपत्र बजारमा भएको सुधारका रूपमा हेरिनुपर्ने बताएका छन् ।
बिएनपी पारिबाका रणनीतिकार कुणाल वोहराले पनि विकसित मुलुकहरूमा भएको ब्याजदर वृद्धिसँगै पुँजी पलायनको जोखिम बढेको छ र बढ्दो तेलको मूल्य भारतका लागि अल्पकालीन चुनौती बनेको प्रतिक्रिया दिएका छन् ।














प्रतिक्रिया