दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

निर्वाचनलाई प्रत्यक्ष असर पर्ने सामाग्री सामाजिक सञ्जालमा पोष्ट नगरौँ : आयोग
निर्वाचन आयोगले निर्वाचनलाई प्रत्यक्ष असर पर्ने कुनै पनि सामाग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भइरहेको भन्दै गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा निर्वाचनलाई प्रत्यक्ष असर सामाग्री पोष्ट नगर्न चेतावनी दिएको हो ।पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने जानकारी दिए । आयोगले निर्वाचनलाई प्रभावित पार्नेगरी सिमावर्ती क्षेत्रमा रहेका छिमेकी देशका प्रशारण माध्यमबाट कुनै सामग्री प्रसारण हुन नदिन छिमेकी देशको सरकारलाई अनुरोध गरी पठाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई आयोगले निर्देशन दिएको आयोगका प्रवक्ता पौडेलले बताए । 

वर्षमान पुन आयोगको भूमिकाप्रति असन्तुष्ट
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मे दिवसका अवसरमा पार्टी निकट अखिल नेपाल टे«ड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनले उम्मेद्वारी फिर्ता लिने विषयमा आयोगले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताए । उनले कुनै स्थानमा रातीसम्म पनि उम्मेद्वारी फिर्ता लिन दिएको र कुनै स्थानमा पाँच बजेपछि उम्मेद्वारी फिर्ता लिन आयोगले नदिएको गुनासो गरे । उनले देशभरका निर्वाचन कार्यालयहरू निष्पक्ष र व्यावसायिक रुपमा सञ्चालन हुनुपर्ने बताए । कार्यक्रममा पुनले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पछिल्लो समय केपी ओलीको बोली बोलेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको बर्खे अधिवेशनबारे प्रधानमन्त्री र सभामुखबीच छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो भेट भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । प्रेस सल्लाहकार न्यौपानेका अनुसार भेटवार्ताका क्रममा संघीय संसद प्रतिनिधिसभाको बर्खे अधिवेशन आह्वान, आव ०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विभिन्न विषयमा केन्द्रित रहेको थियो ।

तालमेल अनुसार काम नगर्नेलाई गठबन्धनले कारबाही गर्ने
पाँच दलीय गठबन्धनको निर्णय नमान्नेलाई आ–आफ्ना दलले कारवाही गर्ने निर्णय गरेको छ । गठबन्धनको आइतबार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले गठबन्धनको सहमतिअनुसार अघि बढ्न निर्देशन दिएको हो । पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरूलाई निर्देशन दिने’ बैठकको निर्णयमा भनिएको छ । गठबन्धनको मर्म र भावना अनुरूप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय समेत गरेको छ । 

बागी उम्मेदवारहरू आधिकारिक उम्मेदवारको पक्षमा आउने कांग्रेसको विश्वास
नेपाली कांग्रेसले स्थानीय तहमा उठेका विद्रोही उम्मेदवारहरू गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउने विश्वास व्यक्त गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केही स्थानमा बाहेक अन्य स्थानमा गठबन्धन सफल भएको भन्दै विद्रोही उम्मेदवारहरू गठबन्धनको पक्षमा नै आउने जनाएको हो । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले तालमेल गर्ने ठाउँमा पार्टीको निर्णय स्वीकार गरेर जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारी मनोनयन दर्ता भएको बताए । कतिपय ठाउँमा समझदारी र पार्टीको निर्देशनविपरीत उम्मेदवारी नदिन अनुरोध गरिएको उनले बताए । प्रवक्ता महतले देशभरका स्थानीय तहमा कांग्रेसका तर्फबाट ३० हजार ६ सय २८ उम्मेदवारी दिएको जानकारी दिए ।

नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो । डेढ वर्षअघि बढुवा भएका विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पन्छाउँदै सिंहलाई आईजीपीमा नियुक्त गरिएको हो । गृह मन्त्रालयले पहिलो नम्बरमा रहेका विश्वराज पोखरेललाई आईजीपीका लागि सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद् बैठकले भने सिंहलाई नियुक्त गरेको हो । वरियता क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्री देउवाको दबाबमा आईजीपीमा नियुक्त गरिएको हो । यसैबीच आजको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गरेको छ । 

आईजीपी नियुक्तिमा वरियता मिचिएको भन्दै दुई एआईजी अदालत जाने तयारीमा
सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् । एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीका लागि उनीहरूले छलफल थालेको जनाइएको छ । पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि मात्रै सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् । 

आईजीपी नियुक्तिले विधिको शासनको खिल्ली उड्यो : शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक नियुक्त गर्दा वरियता र विधि मिचिएको भन्दै सकारको आलोचना गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका धीरजप्रताप सिंहलाई सरकारले बढुवा गरेपछि कोइरालाले विरोध गरेका हुन् । कोइरालाले ट्विट गर्दै वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको बताएका छन् । उनले सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि विवादमा ल्याएको टिप्पणी गरे । 

सरकारले कमिसनको लोभमा अर्बौको औषधि खरिद गर्दैछ : ओली
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् । मे दिवस अर्थ अन्तराष्ट्रिय श्रम दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । ओलीले अर्बौंको औषधि, सिटी स्क्यान, एक्स–रे मेसिन खरिद गर्ने तयारी भइरहेको भनाई राखे । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको नभई कमिसन चाहिएर खरिद गर्न लागिएको उनको आरोप छ ।

उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरूको अधिकारको कुरा हो : ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रममा उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरूको अधिकारको कुरा भएको भन्दै उनीहरूको चर्चा गर्न आवश्यक नै नरहेको भनाई राखेका छन् । उनले चर्चा गर्न आवश्यक नरहेको व्यक्तिलाई नभई एमालेका प्रतिनिधिहरूलाई बिजयी गराउन आह्वान गरे । यसअघि पनि सफा काठमाडौंको अवधारणा र विकासको काम एमाले नै सुरु गरेको भन्दै अब महानगरपालिकालाई समृद्ध बनाउने काम पनि एमालेले नै गर्ने उनले बताए । ओलीले श्रमिकको पक्षमा बोल्ने एमाले पार्टी भएकाले कुनै समस्या भए स्पष्ट भन्न आग्रह गरेका छन् ।

१३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
आज मे १ तारिख  अर्थात १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवस,  नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइएको छ ।‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाउन लागिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउँदै आइएको छ । नेपालमा भने २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालेको हो ।

गृहमन्त्रीले गरे प्रहरीका महानिरीक्षक थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक केसीलाई बिदाइ
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई बिदाइ गरेका छन् । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रमका बीच गृह मन्त्र खाँणले थापा र केसीलाई बिदाइ गरेका हुन् । कार्यक्रममा खाँणले दुई महानिरीक्षकको कार्यकाल सफल रहेको बताए । गृहमन्त्री खाँणले प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको र थापाले शतप्रतिशत नम्बर प्राप्त गरेको उल्लेख गरे । उनले सुरक्षा निकायको सुधारका लागि आगामी दिनमा आवश्यक सुझावको अपेक्षा गरेको धारणा राखे । 

काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाका रूपमा स्थापित गर्छु : सिर्जना सिंह
काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्ने दावी गरेकी छन् । नेविसंघ काठमाडौं जिल्ला समितिले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले काठमाडौंमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्ने बताइन् । महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउदै जनताका लागि काम गर्ने उनको भनाई छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ८ पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १४ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन् ।

पोखरामा निर्वाचन अधिकृत कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा एक जना पक्राउ
निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा कास्की प्रहरीले आज एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पोखराका अशोक खड्कालाई नियन्त्रणमा लिएको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउन निवेदन गरेकोले आफूहरूले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए । निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २० को १ घ अनुसार खड्कालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । खड्कालगायत आज अटेरी नामक अभियानका टोलीले पोखराको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका खडकबहादुर (गनेस) पौडेलले चुनाव चिन्ह ‘लौरो’ पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । 

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी
५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बझाङको छबीसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा वैशाख १७ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका वेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको छानामा लगी गत शुक्रबार बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ । बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पीडित बालिकाको लुगामा रगत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडितका बुवाले बताएका छन् । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १० : ३७ बजे

नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन

तेलअभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ केही

नेपालमा ३० हजारभन्दा बढी एचआईभी संक्रमित, अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती

काठमाडौं– नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्त्व दिँदै आएको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

कायरो– इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटमा शुक्रबार एउटा ट्रक (लोरी) र