काठमाडौँ– तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलगायतलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।
आइतबार भएको समाराेहमा आईजीपी क्षेत्रीसहित प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकलाई बिदाइ गरेको हो ।
क्षेत्रीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कार्की, हरिबहादुर पाल र निरजबहादुर शाहीसहित १२ प्रहरी नायव महानिरीक्षक तथा तीन प्रहरी वरिष्ठ उपरीक्षकको बिदाइ गरिएको छ ।
समारोहमा अवकाश लिन लागेका प्रहरी महानिरीक्षक क्षेत्रीले आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबै प्रहरी अधिकृत तथा जवानप्रति आभार प्रकट गरे ।
कोभिड–१९ को विषम परिस्थितिमा पनि आम नागरिकको सेवामा सदैव क्रियाशील रही गरेको उच्च कार्य सम्पादनको उनले प्रशंसा गरे ।
सङ्गठनमा सुधार तथा हितका लागि गरिएको प्रयासमा सबैको सहयोग प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनियुक्त प्रहरी महानिरीक्षकले पनि सङ्गठनको श्रीवृद्धिका लागि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।
सेवा निवृत्तपछि पनि सङ्गठनप्रति सदैव सकारात्मक सोच हुने उल्लेख गर्दै उनले सङ्गठन हितका लागि सदैव क्रियाशील हुने प्रतिबद्धता जनाए ।
समारोहमा थापा क्षेत्रीले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्य एवं प्रहरी सङ्गठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्य समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा आजै मन्त्रिपरिषद्को बैठकबाट प्रहरी महानिरीक्षकमा पदोन्नति भएका सिंहले सेवानिवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र सङ्गठनप्रति पुर्याएको योगदानका लागि नेपाल प्रहरीको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए ।
प्रतिक्रिया