विमल घर्तीमगरको ‘फेरिएको रुप’ « Khabarhub

विमल घर्तीमगरको ‘फेरिएको रुप’


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको खेल फरवार्ड विमल घर्तीमगरका लागि निकैनै स्मरणीय रहनेछ । उनले केही वर्ष अघिसम्म आफू खेलमा फर्कने या नर्फकने सोच्न सकेका थिएनन्, अन्योल थियो । ठमेलको डिस्को काण्डमा मुछिएका विमल कारबाहीपछि मैदान त फर्किए । तर, जीवनकै ठूलो चोट बोके ।

२०७७ साल मंसिरमा राष्ट्रिय टोलीको अभ्यास सत्र क्रममा घुँडाको चोटपछि एमआरआई रिपोर्टमा एन्टेरियल क्रुसिएर लिगामेन्ट (एसीएल) र मिडियल कोल्याटेर लिगामेन्ट (एमसीएल) गएपछि विमल करिब एक वर्ष नै मैदान बाहिर रहे । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा विमलले विश्वप्रसिद्ध कतारको अस्पेटार अस्पतालमा पुस २०७७ मा उपचार पाए ।

रिकवरीपछि विमल असोज २०७८ मा यु-२३ राष्ट्रिय टोलीसँगै अभ्यासमा फर्किए । लगत्तै सहिद स्मारक ए डिभिजन लिग खेल्न साविक विजेता मछिन्द्र फुटबल क्लबसँग जोडिए । सुरुवाती खेलमा जम्न समय खर्चिएका विमलले पछिल्ला खेलहरूमा आफूलाई प्रमाणित गरे । जारी लिगमा ८ खेल खेल्दा ४४५ मिनेट (इन्जुरी समय बाहेक) मैदानमा बिताएर तीन गोल गरे ।

यसपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले विमललाई राष्ट्रिय टोलीमा ‘कमब्याक’ गराए । मौरिसससविरुद्धको दुवै खेलमा विमल टोलीमा थिए । पहिलो खेलमा प्लेईङ सेटमा खेलेका विमलले मैदानमा ७४ मिनेट विताउँदै १ गोल गरे । अन्जन बिष्टको पासमा ५५औं मिनेटमा विमलले गरेको गोलमा नेपाल विजयी समेत भयो ।

जुन गोल विमलले भदाै २०७५ मा ढाकामा भएको साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्ध गरेपछिको थियो । दोस्रो खेलमा भने विमलले ४६ मिनेटपछि मैदानमा प्रवेश पाए । गोल भने भएन । तर, उनले अग्रपंक्तिमा आफूलाई प्रमाणित गर्दै विपक्षी रक्षकलाई दबाबमै राखे । लेफ्ट ब्याक पोसिजनमा खेलिरहेका सुजल श्रेष्ठले १०औं मिनेटमा गरेको गोल निर्णायक हुँदा नेपाल १-० ले विजयी भयो । पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँग नेपालले दुबै मैत्रीपूर्ण खेलमा आफ्नो कब्जा जमायो ।

अब, भने विमलले आफूलाई सुधारिएको र फेरिँदै खेलमा फर्किएको संकेत गरेका छन् । उनले मैदान बाहिर रहँदासमेत सधै भावनात्मक रुपमा राष्ट्रप्रति साथ रहिरहेको जनाए ।

‘निकै लामो समय प्रत्यक्षरूपमा मैदान भित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो सत प्रतिशत साथ रहिरह्यो,’ २४ वर्षीय विमलले दुई खेलपछि भनेका छन् ।

विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । १५ वर्षको उमेरमै डेब्यु गरेका विमलले हालसम्म नाै गोल गरिसकेका छन् । विमलले सन् २०१३ मा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोलसँग चर्चा बढुलेका थिए ।

त्यसयता उनको जीवनमा ठूलै उतारचढाव रह्यो । कहिले घरायसी कारण त कहिले आफ्नै व्यवहार । पछिल्लो समय कहिले ‘होस्टेल काण्ड’ कहिले ‘डिस्को काण्ड’ उनि चर्चामा आइरहे । साथै एन्फाको कारबाहीमा पनि ।

कात्तिक २०७६ मा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध थिम्पुमा खेल्नुअघि अघिल्लो रात ठमेलको क्लबमा भेटिएपछि तत्कालीन स्विडिस प्रशिक्षक योहान कालिनले विमलसहित चार खेलाडीलाई तत्कालनै टोली बाहिर राखे । विमल ९० दिन कुनै पनि फुटबल प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्धमा परे ।

करिब दुई वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विमल नेपालको झण्डा अंकित जर्सी लगायर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुरासँग तुलना हुन नसक्ने मान्छन् ।

‘उतार चढाव पश्चात शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डाअंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउदाको क्षणलाई म अरु कुनै कुरासँग तुलना गर्न सक्दिन,’ देशका लागि ३७ क्याप जितेका विमल भन्छन् ।

यसअघि लिगका दौरान बोल्दै विमलले आफू सोहि ब्यक्ति भएपनि आफ्नो बानी व्यहोरा र आचरण सुध्रिएको बताएका थिए । जुन उनले मैदानमा समेत देखाएका छन् ।

उत्कृष्ट फिनिसिङ, बल ड्रिब्लिङ, काउन्टर अट्याक र विपक्षी रक्षकलाई सहजै बिट गराउन सक्ने खुबी भएका विमल आम दर्शक र प्रशिक्षकका रुचाइएका खेलाडी हुन् ।

यसैले नै विमल भन्छन्, ‘टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाड्न सदैव तत्पर हुनेछु ।’

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ३५ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध