‘चिरिबाबु तैँले नराम्रो काम गरिस् भनेर कसैले भन्दैनन्’ | Khabarhub Khabarhub

‘चिरिबाबु तैँले नराम्रो काम गरिस् भनेर कसैले भन्दैनन्’

'पहिलो कार्यकालमा धेरै कामको सुरुवात गरेँ, दोस्रोमा सम्पन्न गर्ने योजना छ'


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : देश संघीयतामा गएपछि पालिकाहरुले अब दोस्रो प्रतिनिधि पाँउदैछन् । पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिँदै गर्दा धेरैका मनमा प्रश्न, जिज्ञासा, आशा, उत्साह र नयाँ अवसरका बारेमा चासो छ । नयाँ जनप्रतिनिधिको लागि निर्वाचन प्रक्रिया अघि बढिसकेको छ । कतिपय जनप्रतिनिधिले फेरि उम्मेदवारी दिएका छन् । देशकै सबैभन्दा पुरानो महानगरपालिका ललितपुर महानगरको प्रमुखमा दोहोरिन चिरीबाबु महर्जनले पनि उम्मदेवारी दिएका छन् । ललितपुर महानगर प्रमुखमा चिरीबाबुसंगै १३ जनाको उम्मेदवारी छ । पाँच दलिय गठबन्धनमा नेपाली काँग्रेसको भागमा परेको ललितपुरमा काङ्ग्रेसबाट चिरीबाबु महर्जनको उम्मेदवारीलाई जितको पक्कापक्की सम्भावनाका रुपमा पनि हेरिएको छ । उनको इमान्दारिता र ललितपुरका नेवार समुदायमा परिचित भएकाले पनि उनको सम्भावना धेरै देखिन्छ । त्यसमाथि माओवादीको पनि समर्थन छ । फेरि ललितपुर महानगरको मेयर पदको दौडमा उत्रिएका चिरिबाबु महर्जनसँग खबरहबका लागी यमुना रानाले गरेको कुराकानीको सम्पादित अंशः

तपाईँ किन दोहोरिन चाहनु भयो? 
ललितपुर महानगरमा बसोबास गर्नेहरूको लिभिङ स्ट्यान्डर्डलाई उच्चस्तरीय गराउन हामीले धेरै कामहरू गर्‍यौँ । सुरुको ८ महिना जति हामी केही अल्झियौँ । त्यसपछि निरन्तर काम गरिरहेका छौँ । अहिलेसम्म आइपुग्दा ललितपुर महानगर क्षेत्रभित्र हामीले धेरै कामहरू गर्‍यौँ । तर अहिले पनि कुनै काम सकिन बाँकी छ । कुनै काम दुई तिहाई सकिएको छ । कुनै काम भर्खरै सुरु हुँदै छ । सबै योजना सम्पन्न गर्नै पर्‍यो । त्यसमाथि हामी २०७४ सालमा चुनाव जितेर आउँदा महानगरपालिकामा एक किसिमको भ्याक्युम थियो । कुनै पनि योजनाहरू जानासाथ कार्यान्वयन गर्न सक्ने अवस्थामा थिएन । ती योजनाहरू ‘आईडेन्टीफाई’ गरेर डिटेल प्रोजेक्ट रिपोर्ट डिपिआर तयार पारेर बल्ल शुभारम्भ गरेका थियौँ । तर पनि हामीले गएको ५ वर्षे दौरानमा धेरै नै कामहरू गरेका छौँ । ललितपुर महानगरको प्रोजेक्ट ब्याङ्कमा थुप्रै प्रोजेक्ट दर्ज गरिसकेका छौँ । ती जनस्तरिय प्रोजेक्टहरु कार्यान्वयन गर्नको लागि पनि मेरो उम्मेदवारी हो । साथै गएको कार्यकाल भन्दा यस कार्यकालमा हामीले राम्रो काम गर्न सक्नेछौँ । हामी जानासाथै काम शुभारम्भ गर्न सक्ने अवस्था रहेको हुनाले मैले फेरि मेयरमा दोहोरिन चाहेको हो ।

दोस्रो कार्यकालका लागि तपाईँका मुख्य प्राथमिकताहरू के-के हुन् ?
सबैभन्दा पहिला त अपुरा रहेका योजनाहरू पुरा गर्छु । एक नम्बरमा लगनखेल–पाटन दरबार स्क्वाएर–शंखमुलसम्मको ३ दशमलव ८ किलोमिटर लम्बाईको ट्रंकलाइन प्रोजेक्ट पुरा गर्नुछ । किनभने पाटन दरबार स्क्वाएर लगायत मंगलहिटिमा पानी पर्दा त्यहाँ पानी जम्ने समस्या छ । एसियन डेभलपमेन्ट बैंकको सहकार्यमा काम सुरु गरेर ४० प्रतिशत काम भैसकेको छ । यसलाई पुरा गर्नु छ । त्यस्तै ललितपुर महानगरमा सस्टेनेवल डेभलपमेन्ट गोल २०–३० भित्रमा इन्धनबाट चल्ने गाडीहरू हटाउने लक्ष राखिएको छ । कोर एरियामा त्यस्ता बसहरू सञ्चालन गर्न सुरु गरि सकिएको छ । र, निकट भविष्यमै ४ वटा बस नगरभित्र चलाउँदै छौँ । त्यस्तै महानगरमा ८१ हजार घर छन् । ती घरहरूमा ब्लक नम्बरको व्यवस्थापन व्यवस्थापनको काम सुरु गरेका छौँ । र, लगभग ७०–७५ प्रतिशत घरधुरीको ब्लक नम्बर राख्ने काम सकिसकेका छौँ । यो चाहिँ जिपिएस आधारित सडक सञ्जालमा आधारित ब्लक नम्बर आधारित छ । जसले भविष्यमा घरको लोकेसन पत्ता लगाउन सहज हुनुको साथै हरेक काममा यसले सहयोग पराउने छ । त्यस्तै सडक बत्तिको काम पनि गरेका छौँ । ती स्वचालित बत्ति हुन् । अहिले ४ वटा रुटमा बत्ति बलेका छन् । दोस्रो प्रोजेक्टमा खोकना, बुंगमति, हरिसिद्धि, धापाखेल, सुनाकोठीमा जोडिने छ । महानगरमा पर्ने चक्रपथमा रातिमा हुने दुर्घटना न्युनिकरणका लागि स्मार्ट ट्युब लाइटको व्यवस्थापन गर्दै छौँ । साढे ३२ किलोमिटर बाइसाइकल लेन बनाएका छौँ । चक्रपथकै १५।८ किलोमिटरको सर्भिस ट्रयाकमा इन्टरनेशनल स्ट्यान्डर्डको बाइसाइकल लेन बनाउँदै छौँ । यसको ठेक्का पत्ता पनि भैसकेको छ ।

अर्को महत्त्वपूर्ण काम भनेको लगनखेलको अशोक स्तुपासंगै रहेको जग्गा नेपाली सेनाको राजदलले राखेको थियो त्यो फिर्ता ल्याइसकेका छौँ । त्यस सँगै जोडिएको सप्त पाताल पोखरीको १५ रोपनी जग्गा गरेर ४५ रोपनी जग्गामा हामी ‘ग्रिन एन्ड ब्लु प्रोजेक्ट कन्सेप्ट’अनुसार हरियालीलाई मासिनबाट जोगाउने उद्देश्यले पार्क निर्माण थालिएको छ । यस पार्कमा अबको दुई वर्षभित्र फूल फलाउँछौँ । यसलाई कार्यान्वयन गर्नुछ । यति मात्रै होइन, हामीसँग थुप्रै सम्पदा प्रोजेक्टहरु पनि थुप्रै छन् । धेरै पुरा भैसके केही बाँकी छन् । यिनलाई पुरा गर्न पनि मैले फेरी उम्मेदवारी दिएको हुँ ।

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायका लागि तपाईसँग के योजना छन् ?
हामीले कुनै पनि योजना बनाउँदा त्यो टिकाउ हुनुपर्छ । सस्टेनेबल हुनुपर्छ । तत्कालका लागि रासनपानी वितरण तथा पैसा वितरण गर्नु समाधान होइन । त्यसैले हामीले ललितपुर महानगरले आयआर्जन गर्न सक्ने बनाउनका लागि थुप्रै ट्रेनिङ दियौँ । ट्रेनिङ मात्रै दिएर पनि नहुँदो रहेछ । तसर्थ हामीले अहिले त्यो ट्रेनिङसँगै क्यापिटल इन्भेस्टमेन्टको व्यवस्थापन पनि गर्ने योजना छ । यसले उहाँहरूलाई रोजगारी बन्न सहयोग गर्ने छ ।

यसअघिको निर्वाचनमा फ्लाई ओभर बनाउने चुनावी घोषणा थियो । यसपाली त्यस्ता महत्वकांक्षी आयोजना देखिएन ? कतिपयले यसअघि फ्लाइ ओभर बनाउने योजनाकै कारण यहाँहरु निर्वाचित भएको हो भन्नुहुन्छ । त्यही काम किन भएन ? 

२०७४ सालको मेरो चुनावी घोषणामा पुलचोकको आकाशे पुलबाट बागमती पुल अर्थात् थापाथली सम्म चाहिँ १ दशमलव ४ किलोमिटरमा फ्लाई ओभर राख्ने उल्लेख गरेको थिएँ । म निर्वाचित भएपछि त्यसको अध्ययन गरायौँ । अध्ययन रिपोर्ट अनुसार ६/७ वटा घरहरू अधिग्रहण गर्नुपर्ने थियो । अर्को कुरा हामीलाई प्राविधिक समस्या भयो । नेपाल सरकारले जापान सरकारको सहयोगमा माइतीघरबाट त्रिपुरेश्वरसम्म फ्लाई ओभर बनाउने र पाटनतिर एउटा मुख छोडेको छ । त्यो भनेको हाम्रो फ्लाईओभर लगेर त्यो मुखमा जोड्ने हो । तर त्यो बनाउने भनिएको फ्लाई ओभर बन्ने चाई चुई छैन । त्यसकारण हामीले बनाएको फ्लाई ओभर कहाँ लगेर ल्यान्डिङ गर्ने भन्ने छ । त्यसैले हाम्रो यो योजना पेन्डिङ भएको हो । उतातिर त्यो काम सुरु भए हामी पनि फ्लाई ओभर निर्माण गछौँ । हामीले यसमा अध्ययनमा लगानी गरिसकेका छौँ । यो समस्या चाहिँ हाम्रो नियन्त्रण भन्दा बाहिर छ ।

दुई अर्ब बढी बेरुजु फर्छ्यौट नभएको भनेर यहाँको वडाबाटै उजुरी पर्ने अवस्था किन आयो?
कुनै पनि संघ, संस्था नेपाल सरकारको कार्यालयहरुमा बेरुजु त भैइनै रहन्छ । बेरुजु हुनु भ्रष्टाचार होइन । कुनै पनि संघ संस्थाको बेरुजु त्यहाँको मुख्य मान्छेको हैसियतले त्यो बेरुजु फर्छ्यौट गर्नुपर्ने दायित्व हुन्छ । यसमा चाहिँ मिलाउनुपर्ने विल भर्पाई नमिलेर त्यस्तो समस्या देखिएको हो । जहाँसम्म मलाई यहाँको प्रमुखको हामी आउनुभन्दा अगाडि २०७३ सालदेखि मिलाएर मेयरका उम्मेदवार चिरिबाबु महर्जनले तिर्नुपर्छ । बेरुजु फर्छ्यौट गर्नुपर्छ भनेर वडा नं. १८ को व्यक्तिले मुद्दा आयोगमा हाल्नु भएको थियो । यसको कुनै तुक छैन । यसको मैले आयोगमा जवाफ दिएपछि टुंगीसकेको छ । यस्तो किसिमको धूर्तता र मूर्खतापूर्ण काम गरिएको छ । त्यो सरासर मेरो अपमान गर्न गरिएको हो । ती व्यक्तिहरूले मेरो नराम्रो के छ भनेर हेरिरहेका थिए । तर महानगरको बेरुजु रकम मेरो थाप्लोमा राखेर मलाई बेइज्जत गर्न खोजिएको मात्रै हो । उनीहरूको योजना असफल भैसकेको छ ।

देशका प्रमुख सहरमा शिक्षा र स्वास्थ्य निकै महँगो भएको छ ? यसमा सबैको पहुँच पुर्‍याउन के गर्नुहुन्छ ?
शिक्षाको सन्दर्भमा हाम्रो नगर अब्बल छ । यो शिक्षाको हबकै रूपमा विकास हुँदै गएको छ । तर पनि सुधार गर्नुपर्ने धेरै छ । हामीले कक्षा १२ सम्म निःशुल्क गर्ने योजना अनुसार काम गरिरहेका छौँ । त्यस्तै शिक्षाको गुणस्तरको लागि पनि निरन्तर काम गर्दै आइरहेका छौँ । यो निरन्तर प्रक्रिया हो । शिक्षा निर्देशिका जारी गर्‍यौँ, दरबन्दी मिलान गर्‍यौँ । स्वास्थ्य क्षेत्रमा चाहिँ गएको साढे २ वर्षदेखि कोभिडले प्रभाव पार्‍यो । तर महामारीको समयमा पनि एकदमै काम गर्‍यौँ । हालै नेपाल भ्रमणमा आएका विश्व स्वास्थ्य सङ्गठनका महासचिव एन्टोनियो गुटेरसले महानगरमा सञ्चालित खोप केन्द्र हेरेर तारिफ गरेर जानुभयो । कोभिडको समयमा पाटल अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा एकदमै समस्या थियो । अहिले त्यहाँ अक्सिजन प्लान्ट स्थापना गरेका छौँ । यसले पहिला जस्तो सिलिन्डर बोकेर दौडिनुपर्ने अवस्था छैन ।

पछिल्लो समय कतिपय मतदाताहरूले पार्टी हेरेर मत दिँदा परिवर्तन र विकास भएन, अब उम्मेदवार हेरेर मत दिन्छौँ भन्नु हुन्छ । त्यस्ता मतदाताहरूले यहाँलाई किन मत दिने ?
मैले सम्पूर्ण महानगरबासीको मन जितेको छु । म यो नगरको विभिन्न समयमा गरी तीन पटक वडा अध्यक्ष भएको छु, त्यति नै ज्यापु समाजको अध्यक्ष भएको छु । यो पाँच वर्षे कार्यकालमा एकदमै राम्रोसँग काम गरेर देखाएको छ भनेर नगरबासीले भन्नुभएको छ । मेरो कार्यकालमा कुनै किसिमको पक्षपात भएको छैन। म एकदमै पारदर्शी भएर काम गर्न रुचाउने भएकोले गर्दा कुनै पनि नगरबासीले चिरीबाबु तैँले यस्तो नराम्रो काम गरिस् भनेर भन्न सक्नुभएको छैन । त्यसैले पनि उहाँहरूले मेरो काम र इमानदारितालाई हेरेर मत दिनुहुन्छ भन्ने विश्वास राखेको छु ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ०७ बजे

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र