काठमाडौं- भारतको मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलो आँधीको सामना गरेको छ ।
आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए । आकस्मिक अवतरणका क्रममा १७ जना घाइते भएको भारतको एनडीटीभी समाचार च्यानलको अनलाइन संस्करणले जनाएको छ ।
घाइते हुनेमा १४ जना यात्रु र चालक दलका ३ सदस्य रहेको एनडीटीभीले जनाएको छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो ।
दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको जनाइएको छ । आँधीले विमान हल्लिएपछि क्याबिनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको हो ।
‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो’ एक यात्रुले एनडीटीभीलाई भने । नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया