पोखरामा गिद्ध गणना गरिने « Khabarhub

पोखरामा गिद्ध गणना गरिने


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार पोखरामा गिद्ध गणना गर्न लागिएको हो ।

प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मन शान्त घिमिरेले जानकारी दिए । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । यिनीहरूले हानिकारक कीटाणु सडेको मासु पचाउन सक्ने भएकाले यिनीहरूलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ ।

नेपालमा गरिएको विभिन्न अध्ययनले पछिल्लो दुई दशकमा गिद्धको सङ्ख्या झण्डै ९० प्रतिशतले घटेको छ । गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध संकटापन अवस्थामा पुगेको बताउँदै घिमिरेले पछिल्लो समयमा गाईबस्तु पाल्नेक्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समेत समस्या थपिएको जानकारी दिए । 

डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको छ । घिमिरेका अनुसार औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै पोखरा र आसपासका क्षेत्रमा पाइने घिमिरेले जानकारी दिए । त्यसैले पनि पोखरा र आसपासको क्षेत्र गिद्धको मुख्य बासस्थानका रुपमा रहेको छ ।

उनका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गुर, सुन, सानो खैरो, हिमाली, हाडखोर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान एवं किर्गिजिस्तानबाट आउने गरेका छन् । नेपालमा पाइने हिमाली गिद्ध १० हजारको सङ्ख्यामा छन् भने डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । 

त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच/पाँच सयको सङ्ख्यामा रहेको जनाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको छ । पछिल्ला वर्षमा बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धानकर्ता बताउँछन् । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्ध सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् ।

पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिए । विभिन्न विकास निर्माण, ट्रान्समिसन लाइन आदिका कारण पनि गिद्ध समस्यामा पर्ने गरेको जनाउँदै उनले गत वर्ष तनहुँको व्यास नगरपालिका वडा नं ८ मा ल्यान्डफिल साइड नजिकैको ट्रान्समिसन लाइनमा ठोक्किएर करिब ७० वटा हिमाली गिद्ध मरेको पाइएको जानकारी दिए । 

त्यस्तै गत वर्ष नै घाचोकमा दुई वटा सुन गिद्ध, एक/एक वटा डङ्गोर गिद्ध र हिमाली गिद्ध मरेको उनले जानकारी दिए । पोखराको चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायतका स्थानमा डेढ दशकअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा घट्दै गएको अनुसन्धाता बताउँछन् । चाउथेलगायतका फाँटमा बस्ती विकाससँगै सिमलका ठूलाठूला रूख यतिखेर काटिइसकेको, बढ्दो बस्ती विकास, धुलोधुवाँलगायतका कारण पनि यिनीहरू सङ्कटमा परेको जनाइएको छ । 

 गणना विभिन्न सात ठाउँबाट गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए । पोखराका घाचोक, पोखराको ल्यान्डफिल साइट, दोभिल्ला, पुम्दीकोट, हेम्जा, सेती नदीको तल्लो भूभाग (दुलेगौँडा सम्म) र दमौलीको ल्यान्डफिल साइटमा एकै समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म गणना गर्न लागिएको उनले जानकारी दिए । 

सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्ध प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको उनको भनाइ छ । अघिल्लो वर्षको पोखरामा गरिएको गणनामा २२३ सेतो गिद्ध, ९१ डङ्गोर गिद्ध, २८ सुन गिद्ध, १३ सानो खैरे गिद्ध, नौ वटा हिमालयन गिद्ध र एक वटा राज गिद्ध पाइएको अध्यक्ष घिमिरेले जानकारी दिए  । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि पोखराको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।

 

 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : ३५ बजे

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी