सिन्धुपाल्चोकमा अलैँचीखेतीप्रति कृषकको आकर्षण घट्दो « Khabarhub

सिन्धुपाल्चोकमा अलैँचीखेतीप्रति कृषकको आकर्षण घट्दो


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– व्यावसायिकरुपमा अलैँची उत्पादन हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो वर्ष कृषकमा आकर्षण घट्न थालेको छ । अलैँचीको मूल्यमा भएको गिरावट, विभिन्न रोगको प्रकोपका कारण अलैँचीखेतीप्रति कृषक निराश हुन थालेका हुन् ।

पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गर्दै आएका लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरका किसान रोग लागेर अलैँचीका बिरुवा मर्न थालेपछि चिन्तित बनेका छन् । अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेको अलैँची व्यवसायी शशिनाथ शाक्यले बताए । रोग लागेर अलैँचीका बिरुवा सखाप हुनुअघि शाक्यले वार्षिक पाँच लाख आम्दानी गर्ने गरेको बताए । अलैँचीको बेर्ना उत्पादन तथा भट्टी राखेर लाखौँ आम्दानी गर्ने शाक्यले अहिले यो व्यवसाय चटक्कै छोडेको बताए । 

अलैँचीमा लागेको उक्त रोगका बारेमा जिल्ला प्राविधिक कार्यालयमा सहयोग मागे पनि समुदायले आफैँले नष्ट गर्नुपर्ने भनेपछि समुदायले आफैँले नष्ट नगरेको उनले बताए । उनका अनुसार अलैँचीमा लाग्ने सिन्धुरे रोग एक ठाउँमा नष्ट गरे पनि वरिपरि सबै ठाउँमा नष्ट नगरेसम्म अन्त्य हुँदैन । उक्त रोग लागेको अलैँची नष्ट गर्न खर्चिलो हुने भएपछि स्थानीयले पेशा नै छाडेको शाक्यले बताए । शाक्य जस्तै अत्तरपुरका प्रायः किसानले अलैँची लगाउन छाडेका छन् । 

जिल्लामा अलैँचीको राम्रो सम्भावनासँगै उत्पादन पनि व्यापक हुन थालेपछि विदेशिएका युवा पनि गाउँमै व्यावसायिक अलैँची उत्पादन गर्दै आएका थिए । पछिल्ला वर्षमा अलैँचीका बिरुवामा विभिन्न प्रकारका रोग तथा सङ्क्रमण भएपछि बोट मर्ने तथा उत्पादन घट्न थालेको अलैँची व्यवसायी महासङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष दोकदोक तामाङले बताए ।

उपाध्यक्ष तामाङका अनुसार केही वर्षअघिसम्म कृषकमा जुन उत्साह थियो । हाल त्यस्तो नभएको र धेरै कृषकले अलैँचीखेती छाड्ने तरखरमा रहेका छन् । कतिपयले त व्यावसायिक अलैँचीखेती नै छाडेर अन्य पेशातर्फ लाग्न थालेको उनले बताए । कुनै समय सिन्धुपाल्चोकमा उत्पादित अलैँची नेपालकै नमूनाका रुपमा चिनाउन सफल भए पनि पछिल्लो वर्षमा पहिलाकै तुलनामा उत्पादन हुन नसकेको उनको भनाइ छ ।

जिल्लामा उत्पादित अलैँचीको निश्चित बजार नहुँदा बजार खोज्नुपर्ने झन्झट, उत्पादनका बेला मूल्य घटाउने, विचौलियाको चलखेल र रोग प्रकोप लागेका बिरुवामा उचित उपचार नपाएपछि व्यवसायी पेशाबाटै पलायन हुन बाध्य भएको शिखरपुरका अलैँची व्यवसायी शंकर खनालले दुःखेसो पोखे ।

अलैँची उत्पादनसँगै जिल्लामा व्यावसायिकरुपमा अलैँचीका बिरुवा पनि उत्पादन हुँदै आएको थियो । पछिल्ला वर्षमा अलैँची बिरुवा पनि खासै उत्पादन हुन नसकेको ज्यामिरेका अलैँची व्यवसायी विनोद गिरीले बताए । उनका अनुसार अघिल्ला वर्षमा जिल्लाका नर्सरीमा उत्पादित अलैँचीका बिरुवा अन्य जिल्लामा समेत निर्यात हुने गरेको थियो । अहिले निर्यात हुनेगरि अलैँची बिरुवा उत्पादन हुन छाडेको छ । जिल्लामा करिब एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँचीखेती हुँदै आएकामा पछिल्लो समय कृषकमा अलैँचीखेतीतर्फ आकर्षण कम हुँदै गएको छ । 

अलैँचीको मूल्य प्रतिकिलो रु दुई हजार पाँच सयसम्म पुगेपछि धान फल्ने खेतमा अलैँचीका बिरुवा लगाएका शिखरपुरका कृष्णबहादुर खनाललाई पनि अलैँचीखेतीतर्फ आकर्षण कम हुँदै गएको छ । अलैँची व्यवसायी खनालका अनुसार दशकअघि प्रतिकिलो दुई हजार पाँच सयसम्म रहेको अलैँचीको हालको मूल्य गिरावट भई प्रतिकिलो पाँच सयसम्म झरेको छ । यद्यपि जिल्लाको अलैँची गुणस्तरीय भएकै कारण खरिदकर्ताले आठ सयदेखि नौ सय पनि तिर्ने गरेका छन् । 

जिल्लाको हेलम्बु, पाँचपोखरी, मेलम्ची, जुगल, बाह्रबिसे, लिसङ्खुपाखर, त्रिपुरासुन्दरीका एक हजार दुई सय मिटरभन्दा माथिल्लो भागमा व्यावसायिक अलैँचीखेती हुने गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ३ : २० बजे

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय