विश्वभर आज: चीनमा तैरिरहेको क्रेन डुब्दा २७ बेपत्ता, चालीस आतंककारी मारिएको सोमाली सेनाको दाबी | Khabarhub Khabarhub

विश्वभर आज: चीनमा तैरिरहेको क्रेन डुब्दा २७ बेपत्ता, चालीस आतंककारी मारिएको सोमाली सेनाको दाबी


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यी हुन् आज दिनभर विश्वभर घटेका मुख्य घटनाक्रम

चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता

चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन् ।

सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ । प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले सो घटना बारे पुष्टि गरेको छ ।

बेपत्ताहरुको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू समेत परिचालन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार राति १२ बजेतिर तीन जनाको उद्धार गरिएको थियो भने २७ जना पानीमा डुबेर बेपत्ता छन् ।

विज्ञप्ति अनुसार खोजी तथा उद्धार कार्य जारी रहेको छ । केही चालक दलले जहाजलाई त्यागेका थिए, उनीहरूलाई सुरक्षामा तान्न प्रयासमा बाधा पुर्या्एको थियो, उद्धारकर्ताहरूले भने, न्यूयोर्क पोस्टका अनुसार।
आँधीले अधिकतम ६८ माइल प्रतिघण्टाको गतिमा हावा चलेको बताइएको छ ।

दक्षिण चीन सागरमा सञ्चालित औद्योगिक सहायता जहाज दुई दर्जनभन्दा बढी चालक दलका सदस्यको डुबानमा पारेको हुन सक्ने देखिएको छ ।

अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु

उत्तरपूर्वी वासिङ्टन डीसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्यूमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ।

चालकले सडक नियम विपरीत रातो बत्ती बलिरहेको बेला ट्रक चलाउँदा साइकल यात्रुलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो । घटनास्थलमै दुई वयस्कको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटना बारे अनुसन्धान जारी छ।

चालीस आतङ्कारी मारिएः सोमाली सेना

सोमाली राष्ट्रिय सेनाले अल शबाबका ४० जना आतङ्कारीलाई मारेको दाबी गरेको छ ।

देशको मध्यभागमा अवस्थित शबेले क्षेत्रमा शनिबार गरिएको सैनिक कारबाहीमा अल शबाबका ४० जना लडाकालाई एलिट फोर्स दानबले मारेको राष्ट्रिय सेनाले आइतबार बताएको हो ।

सैन्य कारबाहीका क्रममा अल शबाबका केही नेता पनि मारिएका तथा उसका सवारीसाधनमा आगो लगाइएको समाचार सोमाली राष्ट्रिय रेडियोले प्रसारण गरेको छ ।

अल शबाबका विद्रोहीहरूले देशका ग्रामीण क्षेत्रमा सुरक्षाकर्मीका साथै सर्वसाधारणलाई समेत लक्षित गरेर विद्युतीय धराप र बारूदी सुरूङ विछ्याएर जनजीवन त्रसित पार्दै आएका छन् ।

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौं अस्ट्रेलियाली सडकमा

अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको विरोधमा हजारौं अस्ट्रेलियालीहरू देशभर विरोध प्रदर्शनमा उत्रिएका छन् ।

अष्ट्रेलियाको सबैभन्दा ठूलो ¥यालीमा करिब १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘मैले हजुरआमाबाट यो चिन्ह लिएको छु’ र ‘सबैले शारीरिक स्वायत्तताको अधिकारका हकदार छन्’ जस्ता प्लेकार्ड बोकेका थिए ।

गत साता एतिहासिक सर्वोच्च अदालतले १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरुलाई पुनर्स्थापना गरिदिएको थियो ।

अमेरिकामा जस्तै अष्ट्रेलियामा पनि गर्भपतनसम्बन्धी कानुन राज्यहरु नै तय गर्छन् । देशको सबैभन्दा बढी जनसंख्या भएको न्यु साउथ वेल्सले सन् २०१९ मा गर्भपतनलाई वैधानिकता दिएको छ । न्यु साउद वेल्स गर्भपतनलाई अधिकार दिने अष्ट्रेलियाको अन्तिम राज्य हो ।

चीनको उइगुर स्वायत्त क्षेत्रमा भूकम्प

चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।

भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिनजियाङमा ४ दशमलब ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो ।

दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्निच्युटको भूकम्प गएको थियो ।

ट्युनिसिया संविधान समितिद्वारा प्रस्तावित संविधान अस्वीकार

ट्युनिसिया संविधान समिति प्रमुखले राष्ट्रपति कैस सैदले प्रस्तावित संविधानको अस्वीकार गरेको छ । राष्ट्रपतिको संस्करण खतरनाक भएको र समितिद्धारा प्रस्तावित पहिलो संशोधनसँग मेल नगरेको समिति प्रमुख साडोक बेलेडले स्थानीय पत्रिका असाबाहलाई जानकारी दिए ।

राष्ट्रपति सैदद्वारा प्रकाशित संविधानमा देशलाई एक लज्जास्पद तानाशाही शासनतर्फ उन्मुख गर्ने अध्याय समावेश गरिएको बेलेडले प्रस्ट्याए ।

,जनमत सङ्ग्रहको लागि औपचारिक रुपमा प्रकाशित संविधान हामीले निर्माण गरी राष्ट्रपतिलाई बुझाएकोसँग सान्दर्भिक नभएको कुरा जिम्मेवारीपूर्वक र निष्पक्ष रुपमा सबैलाई अवगत गराउनु चाहन्छौँ, उनले असाबाहमा प्रकाशित एक चिठीमा उल्लेख गरेका छन् ।

गत बिहीबार ट्युनिसियाको औपचारिक ग्याजेटमा संविधान प्रकाशित भएसँगै राष्ट्रपतिले कुनै पनि टिप्पणी व्यक्त गरेका छैनन् । सो संविधानले राष्ट्रपति सैदलाई अत्याधिक शक्तिशाली बनाउनेछ । तथापि, आगामी महिना यसलाई जनमत सङ्ग्रहको लागि राखिनेछ ।

यूजीटीटी सङ्गठनका प्रमुखले पनि प्रस्तावित संविधानले देशको लोकतन्त्रलाई पनि खतरामा ल्याउन सक्ने आशंका व्यक्त गरे । दश लाखभन्दा बढि सदस्य भएको सो राजनीतिक पार्टीका सदस्यलाई प्रस्तावित संविधानलाई मत अधिकार प्रयोग गरी मल्याङ्कन गर्न दिने संगठन जनाएको छ । जुलाई २५ मा हुने जनमत सङ्ग्रहमा संविधानको स्वीकार्यको लागि मतदाताहरूलाई आग्रह गरिनेछ ।

सिड्नीमा मुसलधारे वर्षा, घर खाली गर्न आह्वान

अष्ट्रेलियाको सिड्नीमा आएको मुसलधारे वर्षा र बाढीका कारण दशौँ हजार बासिन्दाहरूलाई घर खाली गर्न आह्वान गरिएको छ । सिड्नीको पश्चिमी भूभागमा सडक अवरुद्ध भएसँगै १८ निकासी आदेश घोषणा गरिएको छ भने चेतावनी बढे सम्भावना रहेको छ ।

यो जोखिमयुक्त आकस्मिक परिस्थिति हो, न्यू साउथ वेल्सका आकस्मिक सेवा मन्त्री स्टेफनी कुकले जानकारी दिइन् । अचानकको बाढी, खोला उत्पन्न बाढी र तटीय कटाव जस्ता विभिन्न क्षेत्रमा परेको असरका कारण हामी खतराको सामना गरिरहेका छौँ ।

मौसम विभागले केही क्षेत्रमा ३५० मिलिमिटर पानी परेको र नेपियन नदीबाट बाढीको सम्भावना बढेसँगै उनले चेतावनीको घोषणा गरिन् । विगत २४ घण्टामा आकस्मिक सेवाअन्तर्गत ८३ बाढी उद्धार कार्यक्रम सञ्चालन सम्पन्न भइसकेको उनले जानकारी गराइन् ।

विशेषज्ञका अनुसार जलवायु परिवर्तन र ल निनिया मौसम परिस्थितिका कारण बाढी आकस्मिक अवस्था जीर्ण बनेको हो । जब तीव्र गतिको हुरीले प्यासिफिकको तातो सतहको पानीलाई दक्षिणी अमेरिकाबाट बगाएर इन्डोनेसिया तर्फ लग्छ तब ल निनिया परिस्थितिको सृजना हुने गर्दछ । अष्ट्रेलियामा ल निनियाले वर्षा, साइक्लोन र दैनिक तापक्रममा गिरावट जस्ता समस्याको वृद्धि भएको छ ।

पाकिस्तानको शेरानीमा बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु, १२ घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको शेरानी जिल्लामा आइतबार एक यात्रुबाहक बस खाल्डोमा खस्दा १९ यात्रुको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो घटना उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै भएको हो । तीव्र गति र वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले थप मृत्यु हुने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ ।

देशको राजधानी इस्लामाबादबाट बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा जाँदै गरेको बसमा ३० भन्दा बढी यात्रु सवार थिए ।

चीनद्वारा ताइवानमाथि सम्भावित आक्रमणप्रति अमेरिकाको सतर्कता

ताइवानमाथि चिनियाँ आक्रमण निकट नभएको तर अमेरिका यस विषयमा सतर्क भएको अमेरिकाका जेनेरल मार्क मिलिले जानकारी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गर्ने क्षमता वृद्धि गरिरहेको तर आक्रमणको लागि भने राजनीतिक छनौटले असर गर्ने जेनेरल मिलिले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीलाई बताए ।

ताइवान एक छुटिएको प्रान्त भएको जुन आवश्यक परे शक्ति प्रयोग गरी पुन एकीकृत हुनु पर्ने चीनको भनाइ छ ।

अमेरिकाले ताइवानको स्वतन्त्रताको समर्थन गरेको चीनले आरोप लगाउँदै यस्तो प्रयासलाई निश्चित रुपमा अस्वीकार गर्ने प्रतिबद्धता जनाएको छ ।

चीनले युद्धविमान ताइवानको वायु रक्षा क्षेत्रमा पठाइरहेको छ भने अमेरिकाले नौसेना जहाजहरू ताइवानको समुन्द्री माध्यमबाट पठाइरहेको छ ।

गत मेमा अमेरिकाका राष्ट्रपतिले चीनले ताइवान नजिक आफ्नो युद्धविमान उडाएर खतरासँग खेलिरहेको टिपणी गरेका थिए । बाइडेनले आक्रमण भएमा सो टापुलाई सैन्य रुपमा संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।

ताइवान सम्बन्धीको प्रतिबद्धता र चीनको मामिलामा दखल दिएको भन्दै चीनले बाइडेनको टिप्पणीलाई खण्डन गर्दै लड्नको लागि नहिचकिचाउने र ताइवानलाई औपचारिक रुपमा स्वतन्त्र बन्न नदिने जवाफ दिएको थियो ।

दुवै युक्रेन र रुसले नै गरे लाइसान्स्कमाथि नियन्त्रणको दाबी

युक्रेनको पूर्वी सहर लाइसान्स्कलाई युक्रेनी तथा रुस सेनाले आफ्नो नियन्त्रणमा भएको दाबी गरेका छन् । रुसद्धारा लाइसान्स्कमा भारी मात्रामा भएको आक्रमणको प्रतिरोध गरेको तर सहर कब्जा नभएको युक्रेनको दाबी छ । तथापि, रुसी समर्थित अलगाववादीहरुले भने सहरमा सफलतापूर्वक प्रवेश गरेको र सहरको बीचमा पुगेको दाबी गरिरहेको छ ।

रुसी सञ्चार माध्यमले रुसी सेना सडकहरूमा परेड गरिरहेको विभिन्न भिडियोहरु प्रसारण गरिरहेको छ । सहरको क्षतिग्रस्त प्रशासनिक विभागमा सोभियत झण्डा फरफराइरहेको भिडियो विभिन्न रुसी स्रोतहरूले ट्विट गरेका छन् । यस भिडियोको पुष्टि भने हुन बाँकी नै छ ।

रुसी सेना लाइसान्स्क सहरतर्फ बढ्दै गए आक्रमण जारी भएपनि सो सहर नछाडेको लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैडाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

लाइसान्स्क नियन्त्रणमा आइसकेको तर हाल स्वतन्त्र नभएको लुहान्स्क जन गणतन्त्रमा रुसका राजदूत रोडियन मिरोश्रिकले एक टेलिभजन अन्तवार्तामा जानकारी गराए ।

सन् २०२२, २४ फेब्रुररीमा रुसले नाटो निकट हुँदै गएको युक्रेनलाई अतिक्रमण गरेपश्चात, हजारौँ सर्वसाधारणलगायत लडाकूहरु घाइते भएको, ज्यान गुमाएको र १ करोड २० लाख मानिस पलायन भइसकेका छन् ।

भियतनाम युद्धकी प्रतीक फान थिक भन्छिन्– अब म ‘नेपल्म गर्ल’ रहिन

भियतामी युद्धको प्रतीक किम फुक फान थिको ५० वर्षपछि छालाको अन्तिम उपचार पूरा भएको छ । जलेको र पीडामा चिच्याएको उनको तस्बीर भियतनामी युद्धको परिणामको प्रतीक बनेको थियो । सन् १९७२ मा दक्षिण भियतनामी लडाकु विमानले नेपल्म (रसायनिक पदार्थ) लाई खसालेपछि बिना कपडा सडकमा दौडिरहेको र पीडामा चिच्याइरहेकी ९ वर्षीया किम फुक फान थिको तस्बीले संसारभर तरंग ल्याएको थियो ।

सन् १९७२ को जुनमा तस्बीर खिच्ने फोटोग्राफर निक उटले उनलाई मेडिकल उपचारका लागि लगेका थिए । उक्त तस्बीरका लागि एसोसिएटेड प्रेस फोटोग्राफरले पुलित्जर पुरस्कार जितेका थिए । सो घटनापछि थीलाई ‘नेपल्म गर्ल’ उपनाम दिइएको थियो ।

सन् १९९२ सम्म भियतनाममा बसेकी उनी श्रीमानसँगै क्यानडामा बसोबास गर्न थालेकी थिइन् । अहिले पनि उनी क्यानडामै नै बसोबास गर्छिन् ।

यसै साता ५९ वर्षीया थीले मियामी डर्मेटोलजी र लेजर इन्स्टिच्युटमा उनको १२औँ र अन्तिम चरणको लेजर उपचार पूरा भएको छ । शल्यक्रियापछि उनले फोटोग्राफर पनि भेटेकी थिइन् । उनले आफ्नो जीवन बचाएको श्रेय पनि उनै फोटोग्राफरलाई दिँदै आएकी छिन् ।

‘अब ५० वर्षपछि म युद्धको शिकार छैन म नेपल्म केटी होइन । अब म साथी हुँ, सहयोगी हुँ, म हजुरआमा हुँ’ फानले भनिन् । यसअघि उनलाई नेपल्म लेडीको रूपमासमेत चिनिन्थ्यो ।

उनले भनिन्, ‘ सबैले प्रेम, आशा र क्षमाका साथ बाँच्न सकून्, र यदि सबैले यसरी बाँच्न सिक्छन् भने हामीलाई युद्धको आवश्यकता पर्दैन् ।’

 

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ५२ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक