काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. नयाँ अर्थसचिव नियुक्त गर्ने सरकारको तयारी
सरकारले नयाँ अर्थसचिव नियुक्त गर्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा नयाँ अर्थमन्त्री नियुक्ति गर्नसक्ने बालुवाटार स्रोतले जनाएको छ । हिजो बसेको सत्ता गठबन्धनको बैठकमा अर्थ सचिवमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई ल्याउने सहमति जुटेको बताइएको छ । त्यही अनुसार पोखरेललाई उद्योगबाट अर्थमा सरुवाको तयारी गरिएको छ ।
२. परराष्ट्रमन्त्री नारायण खड्काद्वारा कोसी प्रभावित क्षेत्रको निरीक्षण
परराष्ट्रमन्त्री नारायण खड्काले कोसी प्रभावित क्षेत्रको निरीक्षण गर्दै उद्धार र राहतमा कमी नगर्न निर्देशन दिएका छन् । आज बिहान आफ्नो निर्वाचन क्षेत्र समेत रहेको उदयपुरको बेलका नगरपालिकास्थित प्रभावित क्षेत्र पुगेर मन्त्री खड्काले कोसी पीडितहरूको सुरक्षा र राहतका लागि राज्यको सम्पूर्ण शक्ति अहिले प्रभावित क्षेत्रमा खटिएको बताए ।
साथै उनले अब कोसीको बहाव घटेपछि बाँध लगाउने कार्यलाई सुरु गरिने जनाए ।
३. विकास र समृद्धिका लागि छ ‘ब’ कार्यान्वयन गर्नुपर्नेमा जोड
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि छ ‘ब’ नीति कार्यान्वयन गर्न जोड दिनुपर्ने बताएका छन् । प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णालीको विकासका लागि छ ‘ब’ को अवधारणा पनि नीति तथा कार्यक्रममै समेटिएको उनको भनाई छ ।
मुख्यमन्त्री शाहीले ६ ‘ब’ भन्नाले बाटो, बिजुली, वन, बजार, व्यवस्थापन र विचार भएको पनि स्पष्ट पारे ।
४. नेपाल र जापानबीच उच्चस्तरीय श्रम बैठक जारी
नेपाल र जापानका उच्च अधिकारीहरूबीच उच्चस्तरीय संयुक्त श्रम बैठक काठमाडौंमा बसिरहेको छ ।
नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै गरिएको ‘सहकार्य गर्ने समझदारी’ (एमओसी) को प्रभावकारी कार्यान्वयनका लागि बैठक बसिरहेको बैठकका सदस्यसचिव समेत रहेका श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले जानकारी दिए ।
५. चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौंको लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । गएराति चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोङ्गबुमा बन्धक बनाएर राखेको आरोपमा ६ नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
अपहरण गरी बन्धक बनाइएका चिनियाँ नागरिकको उद्धार गरिएको छ । चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले जनाएको छ ।
६. लुम्बिनीका ट्राफिक प्रहरीलाई मोटरसाइकल प्रदान
लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाइकल प्रदान गरेको छ । आज बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यका ती मोटरसाइकल प्रहरीलाई प्रदान गरेको मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।
७. श्री एयरलाइन्सको इन्जिनमा समस्या
इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज फेरि नेपालगन्ज फर्किएको छ। नेपालगन्जबाट काठमाडौंका लागि उडेको केहीबेरमै समस्या देखिएपछि नेपालगन्ज फार्काएको श्री एयरलाइन्सले जनाएको छ । ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगन्ज फर्किएको हो।
जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको र अहिले जहाज पार्किङमा राखेर प्राविधिकहरूले अध्ययन गरिरहेको जनाएको छ ।
८.ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु
दाङको लमही नगरपालिका–६ देउपुरमा ट्रयाक्टरबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् ।
ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
९. रुससँगको युद्ध अन्त्यका लागि पहल गरिदिन जेलेन्स्कीको आग्रह
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ नेता सी जिनपिङसँग ‘सीधा’ कुरा गर्न खोजिरहेको बताएका छन् । एससीएमपीसँगको एउटा अन्तर्वार्तामा युक्रेनी नेताले चीनलाई रुसमाथि आफ्नो ठूलो राजनीतिक र आर्थिक प्रभाव प्रयोग गरी युद्धको अन्त्य गर्न आग्रह गरेका छन् ।
चीन संयुक्त राष्ट्र सुरक्षा परिषदको एक स्थायी सदस्य पनि भएकोले रसियालाई राजनीतिक, आर्थिक रूपमा प्रभाव पार्न सक्ने जेनेस्कीको भनाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
१०. साफ यू–२० च्याम्पियनसिपको नेपाली टोली आज स्वदेश फर्किदै
भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली आज दिउँसो नेपाल फर्कने जनाएको हो ।
नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।
प्रतिक्रिया