भोगचलन गरेको वर्षौँ भयो तर लालपुर्जा भएन « Khabarhub

भोगचलन गरेको वर्षौँ भयो तर लालपुर्जा भएन


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – जिल्लाको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्वासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।

सुकुम्वासी बस्तीका सुकमाया परियारलाई लालपुर्जा पाइन्छ भन्ने आशा मरिसकेको छ । बस्तीकै मालढुङ्गा–बेनी सडकको छेवैमा एकतले छाप्रोमा बस्दै आएकी राममाया परियारलाई पनि बासको चिन्ता छ । ‘सडक विस्तार गर्दा घर जान्छ भनेका छन् आफ्नो अन्त कतै जग्गा–जमिन छैन’, उनले भनिन्, ‘कहाँ बस्ने के खाने दिनभर ज्याला–मजदुरी गरेर कमाएको पैसाले बिहान–बेलुकाको छाक टार्नै धौधौ छ । जमिन छैन, बस्ने बास कसरी बनाउने ।’

‘बाउबाजेको पालादेखि यहीँ बसियो, अन्यत्र जाने ठाउँ पनि छैन । वर्षौँदेखि बसे पनि लालपुर्जा नहुँदा समस्या परेको छ’, उनले दुखेसो पोखिन् । ‘लालपुर्जा दिलाइदिन्छौँ भन्नेहरु धेरै आए तर हामीले अहिलेसम्म पाउन सकिरहेका छैनौँ’, उनको गुनासो थियो । ‘चुनावताका पार्टीका नेताहरू आउँछन्, आश्वासन बाँड्छन् तर काम गर्दैनन्।’

यहाँ बसोबास गर्ने ३० घरपरिवारको दुखेसो एउटै छ । सबै जनाको एकतलाको छाप्रोको बास छ । लालपुर्जा नभएकाले घर बनाउन सक्नेले पनि बनाउन पाएका छैनन् । बस्ती तल सडक र माथि सामुदायिक वन छ । सडक विस्तार गर्दा बस्तीलाई असर पुग्ने देखिन्छ भने माथि सामुदायिक वन भएकाले बस्ती विस्तार गर्न समस्या भएको सुकुम्वासी बताउँछन्।

वर्षौँदेखि बस्दै आएको जमिन आफ्नो नाममा नामसारी नहुँदा सरकारी सेवा सुविधा प्राप्त गर्नबाट समेत वञ्चित हुनुपरेको सीता परियारले सुनाइन् । ‘गाउँपालिकाबाट प्राप्त हुने विभिन्न अनुदानका कृषि कार्यक्रममा समेत हामीहरूले पाउँदैनौँ’, उनले भनिन्, ‘ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नुछ । आजकल काम पनि पाइन छाड्यो, पालिकाले अनुदानमा बाख्रापालन, कुखुरापालनलगायतका कार्यक्रम दिन्छ भन्छन् तर हामीहरूले अहिलेसम्म पाएका छैनौँ ।’

यहाँका सबै जनाले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दछन् । गाउँपालिकाको वडा नं ३ मल्लाजको चिउरी पतलाबाट ४० वर्षअघि बसाइँ सरेर लामाखेतस्थित धुलेपाल्सिङ सामुदायिक वन छेवैमा आएर सुकुम्वासी बसेका हुन् । पटक–पटक जग्गा नामसारी गरी लालपुर्जा पाउन माग गरे पनि उनीहरूको माग अझै सुनुवाइ भएको छैन।

‘चुनावताका आउने नेताहरूले लालपुर्जा दिलाइदिने आश्वासन दिन्छन्, जितेर गएपछि फर्किएर आउँदैनन्’, उनले भनिन्, ‘भोट माग्दा मात्र यो बस्तीमा नेताहरू आउँछन् तर हाम्रा समस्या बुझ्न फर्किएर नआउँदा हाम्रो मन दुखेको छ ।’ लालपुर्जाको आशमा धेरैपटक कुश्मा पुगेर फारम भरे पनि लालपुर्जा हातमा नपरेको सुकुम्बासीहरूले बताएका छन् ।

लामाखेतका सुकुम्बासीहरूको समस्या वर्षौँदेखिको भएको र समाधानको पहल भएको पूर्व वडाध्यक्ष भीष्म मल्लले बताए । राष्ट्रिय भूमि आयोगमा सबै कागजात पुर्‍याएको र पुर्जा पाउने प्रक्रियामा रहेको उनको भनाइ छ  । राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले सबै भूमिहीन, अव्यवस्थित बसोवासी र सुकुम्वासीका आवेदनहरु सङ्कलन भइसकेको अब लालपुर्जा वितरणको प्रक्रियामा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : १२ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री