कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा « Khabarhub

कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेस विगतको आफ्नो विरासत जोगाउन प्रयासरत छन् । एमाले भने थारु मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छ ।

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले प्राप्त गरेको जित जोगाउनुपर्ने दबाबमा छिन् । कांग्रेसका उम्मेदवार रामजनम चौधरी २०४८ देखि प्राप्त गर्दै आएको जित जोगाउने दबाबमा छन् ।

थारु बाहुल्यता रहेको सो क्षेत्रमा दुईजना थारूको उम्मेदवारी परेका कारण मत विभाजन हुने र नतिजा आफ्नो पक्षमा आउने अपेक्षा एमालेका उम्मेदवार तपेन्द्र रावलको छ ।

टीकापुर घटनालाई राजनैतिक मुद्दा बनाइनुपर्ने र पहिचानमा आधारित संघीयताको मुद्दा बोकेर करिब एक वर्षअघि रञ्जिताकै अध्यक्षतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीले गत वैशाखमा कैलालीको टीकापुर क्षेत्रमा चार पालिकामा जित हासिल गरेको थियो । २०७४ मा भूमिगत रूपमै कैलाली १ बाट उम्मेदवार बनेका रञ्जिताका श्रीमान् रेशम चौधरी अत्यधिक मतले विजयी भएका थिए ।

तर नागरिक उन्मुक्ति पार्टीका लागि कांग्रेसका रामजनम चौधरी चुनौती बन्ने देखिएका छन् । थारु बाहुल्यता रहेको सो क्षेत्रमा रामजनम चौधरी समुदायसँग भिजेका नेता हुन् । रामजनम २०४८ को आमनिर्वाचनमा कैलाली–२ बाट २८ वर्षको उमेरमा सांसद भएका थिए । तत्कालीन अवस्थामा कैलाली जिल्लामा तीन निर्वाचन क्षेत्र थिए । त्यसपछि पनि उनी २०५१, २०५६ र २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातिक तर्फबाट सांसद बने । २०७० मा भने कैलाली ३ मा पराजित भएका थिए । उनी २०५४ मा सामान्य प्रशासन सहायक मन्त्री, २०५५ मा शिक्षा राज्यमन्त्री, २०५८ मा भूमिसुधार राज्यमन्त्री र २०७२ मा स्वास्थ्यमन्त्री भएका थिए ।

स्थानीय तहमा पाएको मतले पनि रामजनमलाई केही हौसला थप्न सक्दछ । कैलाली–१ मा सत्तारुढ गठबन्धन दलले वडास्तरमा २२ हजार मत पाएका छन् । जहाँ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार मत मात्रै प्राप्त गरेका छन् । एमालेले वडास्तरमा नौ हजार आठ सय मत प्राप्त गरेको थियो । 

टीकापुर नगरपालिकाको मेयर भइसकेका एमालेका उम्मेदवार रावल आफूले गरेका कामको मूल्यांकन जनताले गर्ने र पुनः मौका दिनेमा आशावादी छन् । स्थानीय तहमा एमालेले सो क्षेत्रबाट साढे नौ हजार मत मात्रै पाएको थियो । तर दुईजना चौधरी समुदायका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा थारु मत विभाजन हुने र पहाडी मतदाताको मत पाएर आफू चुनाव जित्ने रणनीति रावलको छ । देशैभर एमालेप्रति जनलहर रहेका कारण आफूलाई चुनाव जित्न समस्या नहुने उनी बताउँछन् ।

२०७४ को निर्वाचनमा रेशमलाल चौधरीले नागरिकको सहानुभूति मत पाएका थिए । तर अहिले रेशमको स्थानमा उनकी पत्नी उम्मेदवार छन् । आममतदाताले उनकी पत्नी रञ्जितालाई कसरी हेरेका छन्, सो कुरा पनि महत्वपूर्ण हुन सक्दछ । 

पहिचानसहितको संघीयता, टीकापुर घटनाको राजनीतिक रूपमा सम्बोधन, पछाडि पारिएका वर्गको अधिकारको सुनिश्चिततासहितका मुद्दा समेटेर जेलमा रहेका रेशमले श्रीमती रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीको गठन गरेका थिए । नागरिक उन्मुक्तिले ती मुद्दा उठाउँदै टीकापुर  नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकमा जितेको थियो ।

रञ्जिता आफू चुनाव जित्नेमा ढुक्क रहेको बताउँछिन् । ‘गरिबका छोराछोरीलाई अधिकार मागेकै आधारमा जेलमा राखिएको छ, उनीहरूको न्यायका लागि मेरो उम्मेदवारी हो,’ रञ्जिता भन्छिन्, ‘हाम्रो गुमेको पहिचान फिर्ता ल्याउन र पछाडि पारिएका वर्ग समुदायलाई राज्यको मूलधारमा ल्याउन मेरो उम्मेदवारी हो । त्यसैले म चुनाव जित्नेमा ढुक्क छु ।’ 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : २७ बजे

नेतृत्व छाड्ने दबाबबीच एमालेका पोस्टरबाट हराउन थाले केपी ओली

काठमाडौं- संसद्को नेस्रो दल नेकपा एमालेले यही वैशाख ९ गते

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवाद, उच्च अदालत जनकपुरले थाल्यो नयाँ अभ्यास

काठमाडौं– उच्च अदालत जनकपुर इजलासले सरकारी बाटो व्यक्तिले आफ्नो नाममा

चक्कु प्रहार गरी युवकको हत्या, कञ्चनपुर बिहेमा गएका १८ वर्षीय उज्जलको गयो ज्यान

हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

एजेन्सी– आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको