प्रतिनिधि सभा निर्वाचन : कैलाली- २ मा त्रिपक्षीय प्रतिस्पर्धा | Khabarhub Khabarhub

प्रतिनिधि सभा निर्वाचन : कैलाली- २ मा त्रिपक्षीय प्रतिस्पर्धा


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । दर्ता भएको एक वर्ष पुग्नै लागेको नागरिक उन्मुक्ति पार्टीले अहिले यस निर्वाचन क्षेत्रमा प्रमुख दलहरूलाई चुनौति दिन थालेको छ ।

यस क्षेत्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीविच मुख्य प्रतिस्पर्धी बनेका छन् । कैलाली २ बाट नेकपा एमालेका झपटबहादुर रावल, नेकपा माओवादी केन्द्रका भगत बडुवाल र नागरिक उन्मुक्ती पार्टीका अरुण चौधरी चुनावी भिडन्तमा रहेका छन् ।

रावल र बडुवाल आफ्नो जितलाई निरन्तरता दिने रणनीतिमा छन् भने चौधरी पहिलो जितको खोजिमा हुनेछन् । झपट रावल २०७४ को र बडुवाल २०६४ को निर्वाचनमा कैलाली २ बाट निर्वाचित भएका थिए भने अरुन कुमार चौधरी प्रतिनिधि सभा सदस्यमा पहिलो पटक चुनाव लड्दै छन् ।

झपड रावल पहाडी समुदायको मत पाएर चुनाव जित्ने रणनीतिमा छन् । कैलाली २ मा पहाडी मत निर्णायक हुने र आफूले पहाडी क्षेत्रको मत पाउने उनको विश्वास छ । तर, स्थानीय तहको निर्वाचनमा बर्दगोरिया बाहेक २ नम्बर क्षेत्रमा पर्ने अन्य सबै पालिकाको नेतृत्व एमालले गुमाएको छ ।

स्थानीय तहभन्दा अहिले परिस्थिति फरक रहेकाले चुनाव जित्ने रावलको दाबी छ । उनले राजनीतिक मुद्दामा एमालले लगेको अडान, देशमा एमालले गरेको विकास र आफूले ५ वर्षमा गरेका कामको मूल्याङ्कन गरेर जनताले भोट दिने बताए । ‘हामी स्पष्ट धारण र मुद्दाका साथ चुनावमा आएका छौं,’ उनले भने, ‘अन्य दल एमालेको जस्तो मुद्दा छैनन्, त्यसैले जनताले एमालेलाई जिताउने छन् ।’

तर, सोही क्षेत्रका प्रभावशाली नेता तथा एमाले कैलालीका अध्यक्ष समेत रहेका रनत थापा लगायत थुप्रै नेता एमाले छोडेर नागरिक उन्मुक्ति पार्टी प्रवेस गरेका छन् । यसले रावललाई उनलाई चुनाव जित्न चुनौति थपिने छ । कैलाली–२ मा पर्ने पालिकामा एमालले गत स्थानीय तहको निर्वाचनमा १५ हजार ५ सय ६० मत पाएको थियो ।

२०६४ को निर्वाचनमा विजयी भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार बडुवाल भने गठबन्धनको साथ पाएर चुनाव जित्नेमा आसावादी छन् । २ नम्बर क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपाकिामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो मतको सदुपयोग गरेर चुनाव जित्न सकिने उनको दाउ हुनेछ ।

उनले संविधान जोगाउनका लागि जनताले आफूलाई मत दिने बताए । ‘संविधान नै समाप्त पार्ने शक्तिलाई जनताले समाप्त पार्ने छन्,’ बडुवालले भने, ‘गठबन्धनका कारण हामी त्यसैपनि बलियो छौं, चुनाव जित्नेमा ढुक्क छु ।’

तर, गठबन्धनमा सबैभन्दा ठूलो शक्ति रहेको नेपाली कांग्रेसबाट मत पाउनु उनको चुनौति बन्नसक्छ । आफ्नो जित निश्चित रहेको स्थान माओवादी केन्द्रलाई छोडेको भन्दै क्षेत्र नम्बर–२ का धेरै कांग्रेस नेता कार्यकर्ता रुष्ट बनेका छन् । रुष्ट मतदातालाई मनाउनु उनको चुनौति हुने छ ।

कैलाली २ का पालिकामा गत स्थानीय तहको निर्वाचनमा गठबन्धनले १८ हजार ९ सय ९१ मत पाएको थियो । यसमध्ये नेपाली कांग्रेसले मात्रै ११ हजार २ सय ३८ मत ल्याएको छ । स्थानीय तहको निर्वाचनबाट बलियो देखिएको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी भने दुई पहाडी नेता उम्मेदवार हुँदा पहाडी मत विभाजन हुने र आफू चुनाव जित्नेमा आशावादी देखिन्छन् ।

नागरिक उन्मुक्ति पार्टीले गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने पालिकाबाट चार हजार ९ सय ४९ मत पाएको थियो । तर, पहाडी क्षेत्रका मतदाताको मत विभाजन हुने उनको अनुमान छ । स्थानीय तहको निर्वाचन पछि एमालेका अध्यक्ष रतन थापा सहतिका नेता नागरिक उन्मुक्ति प्रवेस गरेका कारण सो समूहको मत समेत तान्नसके चुनाव जित्ने उनको रणनीति रहेको छ ।

उनी आफैँ पनि कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा लागेका अरुण कांग्रेसका युवाको भोट पनि आफुले पाउने दाबी गर्छन् । ‘सबै क्षेत्रमा जाँदा युवाको रोजाइमा हामी पर्ने गरेका छौं,’ चौधरीले भने, ‘बुढापाकाको पनि राम्रै सद्भाव पाएका छौं, त्यसैले हामी चुनाव जित्ने छौं ।’

चुनाव जिते सडक, कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । ‘विद्यालयमा हुने फोहोरी राजनीति अन्त्य गरेर शिक्षामा परिवर्तन ल्याउने मेरो एजेण्डा हो,’ उनले भने, ‘त्यसबाहेक पहाडी भेगमा कृषिको आधुनिकिकरण र स्तरीय सडक निर्माण गर्नुपर्छ भन्ने लागेको छ ।’

चौधरीको दल नयाँ भए पनि उनी परिचित नै अनुहार हुन् । तत्कालीन फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा पुगेका उनी २०७४ को चुनावमा प्रदेशसभा सदस्यको उम्मेदवार थिए । सो चुनावमा उनि दोश्रो बढी मत ल्याउने उम्मेदवार रहेका थिए । कैलाली क्षेत्र नम्बर–२ मा लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका वडा २, ५, ८ र ९ तथा मोहन्याल गाउँपालिकाका वडा नम्बर १४ पर्दछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : १० बजे

सरकार छाड्ने भएपछि कानुनमन्त्रीले गरेनन् न्यायाधीश नियुक्तिको निर्णय

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार नयाँ समीकरण बनेर

देशलाई संकटबाट मुक्त गराउन गणतन्त्रको विकल्प खोज्नुपर्छ : राप्रपा नेपाल

काठमाडौं– राप्रपा नेपालले संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाएको अमूर्त

एमालेले प्रचण्डलाई दिएको अल्टिमेटम सकिँदै, मन्त्रीहरू बालकोटको निर्देशन कुर्दै

काठमाडौं- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन आफ्ना मन्त्रीहरूलाई

तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल

एजेन्सी– अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा

एक्लिएपछि मास्कमा टेप टाँसेर बसे मुकुल ढकाल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक घण्टी घर