विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

आज चैत्र २७, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

इमरान खान पदमुक्त

पाकिस्तानी संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका छन् । शनिबार अबेर बसेको संसद्को बैठकले खानविरुद्धको अविश्वासको प्रस्ताव पारित गरेसँगै अब उनी प्रधानमन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणका अनुसार अविश्वासको प्रस्ताव पारित गर्ने पक्षमा १ सय ७४ मत खसेको थियो । पाकिस्तानमा सरकार गठन गर्न संसद्मा कायम कूल ३ सय ४२ मध्ये १ सय ७२ सांसदको समर्थन चाहिन्छ ।

मतदान गर्ने बेला प्रधानमन्त्री इमरान खान भने संसद् बैठकमा उपस्थित थिएनन् । यससँगै अब विपक्षी दल पाकिस्तान मुस्लिम लिग नवाजका नेता एवम् पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज शरिफ प्रधानमन्त्री बन्ने निश्चित प्रायः रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।नयाँ प्रधानमन्त्री चयन नर्ग सोमबार मतदान हुने जनाइएको छ ।

बिहीबार सर्वोच्च अदालतले अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुख सुरीको रुलिङ र संसद् भंग गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गरेको थियो । सर्वोच्चले शनिबार अविश्वासको प्रस्तावमाथि मतदान गर्न आदेश दिएपछि  शनिबार पाकिस्तानी संसद्को बैठक बसेको हो ।

यद्यपि सांसद शाजिया सोबियाकी आमाको निधन भएको भन्दै केही समयलगत्तै बैठक साढे १२ बजे बस्नेगरी सारिएको थियो । स्थानीय समयअनुसार करिक अढाई बजे ढिलागरी शुरु भएको बैठकमा केही सांसद्ले अविश्वासको प्रस्तावका विषयमा आफ्नो धारणा राखेपछि फेरि बेलुकी साढे सात बजेको इफ्तारपछि सम्मका लागि स्थगित गरिएको थियो ।

यसअघि गत आइतबार यसबारे मतदान हुने कार्यक्रम थियो । तर, विपक्षीहरूले सभामुख असद कुशैरविरुद्ध नै अविश्वासको प्रस्ताव ल्याएपछि संसद्को अध्यक्षता गरेका उपसभामुख कसिम खान सुरीले पाकिस्तानी संविधानको धारा ५ का आधारमा संसद्बाट अविश्वासको प्रस्ताव खारेज गरिदिएका थिए ।

लगत्तै प्रधानमन्त्री खानले संसद् भंग गरी नयाँ चुनावमा जान राष्ट्रपति समक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपतिले सदर गरेपछि राजनीतिक रस्साकस्सी सर्वोच्चमा पुगेको थियो ।

त्यसअघि प्रधानमन्त्री खानले गोप्य रूपमा फेला पारिएको कूटनीतिक सूचनामा ‘पाकिस्तानमा अमेरिकाले सत्ता परिवर्तन चाहेको’ प्रमाण रहेको दाबी गर्दै आएका थिए ।  आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले यही दाबीलाई दोहो¥याउँदै आफूविरुद्ध विदेशी षड्यन्त्र रचिएको बताउँदै आएका थिए ।

सोही कूटनीतिक सूचनाबारे छलफल गर्न अघिल्लो साताको आइतबार अर्थात् मार्च २७ मा पाकिस्तानी राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकिएको थियो । उक्त बैठकपछि सुरक्षा परिषद्ले कूटनीतिक सूचनामा गैर कूटनीतिक भाषाको प्रयोग भएको र पाकिस्तानको आन्तरिक मामिलामा यस्तो हस्तक्षेप अस्वीकार्य रहेको जनाएको थियो ।

यही बैठकका निर्णयलाई आधार मान्दै उपसभामुखले धारा ५ अनुसार प्रस्ताव खारेज गरेको जनाएका थिए ।

पाकिस्तानी संविधानको धारा ५ मा हरेक नागरिक राज्यप्रति वफादार रहनुपर्ने तथा विश्वको जुनसुकै ठाउँमा रहेको पाकिस्तानी नागरिक वा पाकिस्तानमा रहने जो कोहीले पनि पाकिस्तानी संविधान एवम् कानून मान्नुपर्ने उल्लेख छ ।

पाकिस्तानमा नयाँ प्रधानमन्त्रीका लागि दुई मनोनयन दर्ता

पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयनका लागि दुई मनोनयन परेको छ ।नयाँ प्रधानमन्त्री बन्नका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन पार्टीका अध्यक्ष शहबाज शरिफ र इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष शाह मोहम्मद कुरैशीले मनोनयन दर्ता गराएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि संसद् सचिवालयले आवेदकले दिउँसो दुई बजेसम्म नयाँ प्रधानमन्त्रीको मनोनयन दर्ता खुला गरेको थियो । यद्यपि पीटीआईले मनोनयन प्रक्रिया ढिला गरी शुरु गर्न गरेको आग्रहलाई सचिवालयले अस्वीकार गरेको थियो ।

नयाँ प्रधानमन्त्री चयन गर्न भोलि सोमबार दिउँसो २ बजे संसद् अधिवेशन डाकिएको छ ।

पीटीआईका सबै सांसदले सामूहिक राजीनामा दिने

निवर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीका वरिष्ठ नेता तथा निवर्तमान सूचनामन्त्री फवाद चौधरीले सोमबार आफ्ना सबै सांसद्हरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

राजधानी इस्लामावादमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा फवाद चौधरीले यस्तो घोषणा गरेको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ । यसअघि इमरान खानसहित पार्टीका शीर्षस्थ नेताहरुले वर्तमान अवस्थाबारे छलफल गरेका थिए ।

उक्त बैठकले पीटीआईका सबै सांसद्ले राजीनामा दिनुपर्ने इमरान खानलाई सल्लाह दिएको बताइएको छ ।

संसद् सचिवालयले नयाँ प्रधानमन्त्री छान्ने प्रक्रियाका लागि पाकिस्तान मुस्लिन लिग नवाज पीएलएम–एनका अध्यक्ष शहबाज शरिफको मनोनयन दर्ता गराएपछि फवाद चौधरीको यस्तो भनाइ आएको हो । यसअघि शरिफको मनोनयनप्रति पीटीआईले आपत्ति जनाएको थियो ।

‘शहबाज शरिफको मनोनयन पत्रबारे हाम्रो आपत्तिको सम्बोधन नभएको खण्डमा हामी भोलि राजीनामा दिनेछौँ ।’ चौधरीलाई उद्धृत गर्दै डनले जनाएको छ ।

बेलायती प्रधानमन्त्री युक्रेनको राजधानी किभमा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् ।

उनी शनिबार किभ आइपुगेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ । उनले किभमा रहँदा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको छ ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री जोनसनले युक्रेनलाई १२० बख्तरबन्द गाडी र पानीजहाजमा मार हान्न सक्ने क्षेप्यास्त्र सहयोग गर्ने बाचा गरेको १० डाउनिङ स्ट्रिटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । त्यस्तै जोनसनले युक्रेनलाई ७७ करोड पाउण्ड सहायता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

उनको भ्रमण अन्तिम समयसम्म गोप्य राखिएको थियो । लण्डनस्थित युक्रेनी दूतावासले सामाजिक सञ्जाल ट्विटरमा जोनसन र जेलेन्स्कीले सँगै खिचाएको तस्वीर राखेपछि मात्र उनी युक्रेन पुगेको खुलासा भएको थियो ।

‘युक्रेनी जनताप्रति ऐक्यबद्धता दर्शाउनका लागि राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रुपमै भेट्न प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्नुभएको छ ।’ प्रधानमन्त्री कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री जोनसनले विज्ञप्ति जारी गर्दै युद्धको समयमा युक्रेनी राष्ट्रपतिको अटल नेतृत्व र युक्रेनी जनताको साहसको प्रशंसा गरेको बताएका छन् । त्यस्तै, युक्रेनलाई सहयोग गर्न संयुक्त अधिराज्य बेलायत सधैँ तयार रहेको समेत जोनसनको भनाइ छ ।

त्यस्तै, जेलेन्स्कीले बेलायतको ‘निर्णायक एवम् महत्वपूर्ण समर्थन’ को स्वागत गर्दै पश्चिमा मुलुकहरुलाई रुसमाथि दबाब बढाउन आग्रह गरेको बताइएको छ ।

पेट्रोल पम्पको निगरानी गर्न श्रीलंकाली उर्जा मन्त्रालयद्वारा गृहलाई आग्रह

चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव व्यहोरिरहेको श्रीलंकाको उर्जा मन्त्रालयले गृह राज्य मन्त्रालयलाई पेट्रोल पम्पहरुमा हुने इन्धन वितरणको निगरानी गर्न आग्रह गरेको छ ।

सबै जिल्ला तथा प्रान्तीय कार्यालयहरूलाई इन्धन वितरणको निगरानी गर्नका लागि निर्देशन दिन गृह राज्य मन्त्रालयललाई आग्रह गरिएको हो ।

श्रीलंकाबाट प्रकाशित हुने डेली मिररले जनाएअनुसार हाल मुलुकमा विदेशी मुद्राको संकट रहेपनि विदेशबाट आवश्यक इन्धन आपूर्ति गरिएको छ । सीमित परिमाणमा इन्धन आयात गरिएका कारण यसको वितरणमा सहजिकरणका लागि उर्जा मन्त्रालयले यस्तो निर्देशन दिएको बताइएको छ ।

सीमित इन्धनलाई उचित व्यवस्थापनसहित मुलुकको अर्थव्यवस्थाका अत्यावश्यक गतिविधिमा मात्र प्रयोग गर्न आग्रह गरिएको डेली मिररले जनाएको छ ।

पेट्रोल पम्पहरुमा इन्धन वितरणमा अनियमितता भएको धेरै गुनासाहरु आएका कारण यस्तो कदम चाल्नु परेको उर्जा मन्त्रालयले जनाएको छ ।

ट्रम्पले अर्को चुनावमा पनि उम्मेद्वारी दिन सक्ने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेद्वारी दिनसक्ने बताएका छन् । नर्थ क्यारोलाइना राज्यको सेल्मा शहरमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले सन् २०२४ मा हुन राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिनसक्ने बताएका हुन् ।

‘सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितेँ । मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरेँ ।  र अब हामीले फेरि यो दौडमा भाग लिनुपर्ने हुन सक्छ।’ र्‍यालीलाई सम्बोधन गर्दै उनले भने ।

‘के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ ?’ समर्थकले भरिभराउ र्‍यालीमा उनले प्रश्न गरेको नर्थ क्यारोलाइनाको राजधानी राहली शहरबाट प्रकाशित हुने राहली न्युज एण्ड अब्जर्भरको अनलाइन संस्करणले जनाएको छ ।

यद्यपि ट्रम्पको उम्मेद्वारीबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा भने नभइसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

र्‍यालीमा ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ‘एकपछि अर्को अपमानजनक आत्मसमर्पण’ गरेको आरोप लगाए । ट्रम्पले बाइडेनले गैरकानूनी रुपमा विदेशीलाई अमेरिकामा आउन दिएको आरोप समेत लगाएका थिए ।

दक्षिण कोरियाली होटेल भत्काइदिने उत्तर कोरियाको धम्की

उत्तर कोरियाले दक्षिण कोरियाको स्वामित्वमा रहेको एउटा होटल भत्काउने घोषणा गरेको छ । सो होटल अन्तर–कोरियाली भेटघाट र बैठकको अन्तिम प्रतीकमध्ये एक हो ।

उत्तर कोरियाली नेता किम जोङ–उनले कुमगाङ सहरमा रहेका दक्षिण कोरियाली सुविधाहरूलाई पुराना र जर्जर भनिरहेकै बेला उत्तर कोरियाको घोषणा आएको हो । सियोलका अधिकारीहरूले उत्तरको एकतर्फी कदम रोक्न आह्वान गरेका छन् ।

उत्तिर कोरियाले एकतर्फी रूपमा होटल भत्काइरहेको घटनाप्रति दक्षिण कोरियाले खेद प्रकट गरेको एकीकरण मन्त्रालयका प्रवक्ता चा देओक–चेओलले बताए ।

यस विषयमा स्पष्टीकरण र वार्ता गर्न सीउलले अन्तर–कोरियाली सञ्चार च्यानलहरू प्रयोग गरेको तर उत्तरले बेवास्ता गरेको उनले बताए ।

सन् १९९० को दशकमा दक्षिण कोरियाले उत्तर कोरियाको डायमन्ड माउन्टेन रिसोर्टमा दर्जनौं सुविधाहरू निर्माण गरेको थियो ।

फ्रान्समा राष्ट्रपतीय निर्वाचन

फ्रान्समा राष्ट्रपति चयनका लागि मतदान भएको छ । नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान भएको हो ।

स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुकी ८ बजेसम्म चल्ने जनाइएको छ । पहिलो चरणको राष्ट्रपतीय निर्वाचनका लागि १२ उम्मेद्वार चुनावी मैदानमा छन् ।

यद्यपि पहिलो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रोँ तथा दक्षिणपन्थी नेतृ मरी ले पेनबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । यद्यपि अझै पनि धेरै मतदाताहरू कसलाई मतदान गर्ने भनेर अन्यौलमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेको खण्डमा सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच आगामी २४ अप्रिलमा दोश्रो चरणको प्रतिस्पर्धा हुनेछ ।

फ्रान्समा मतदानका लागि ४ करोड ९० लाख मतदाता योग्य रहेको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि रुसी आक्रमण, मुद्रास्फीति तथा बढ्दो मूल्यवृद्धि, न्यून ज्याला, आप्रवासन समस्या लगायतका मुद्दाले यसपटकको चुनावमा प्रभाव पार्ने बताइएको छ ।

नयाँ लकडाउन हुनसक्ने बेलायती प्रधानमन्त्रीको संकेत

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन्।

जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे तर बच्चाहरूलाई नयाँ भेरियन्ट देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको बताए ।

शुक्रबार एक अन्तर्वार्तामा  उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु तर म कुनै कुरालाई इन्कार गर्न सक्दिन ।’

बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठूलो गिरावट आएको छ तर नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : ०५ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र