अडियो सुन्नुहोस्ः
स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृत
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् । राष्ट्रिय सुरक्षा परिषदको चैत १७ गतेको सिफारिस र मन्त्रिपरिषद्को २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
निर्वाचन आयोगद्वारा १० स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर
निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने १० वटा स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर गरेको छ ।आयोगले एक सूचना जारी गर्दै विभिन्न जिल्ला स्थानीय तहमा यस अघि खटाइएका निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको हो ।विभिन्न कारणले १० स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतलाई हटाउँदै त्यस ठाउँमा अन्य १० जनालाई नियुक्त गरिएको आयोगले जनाएको हो ।नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र अर्थात् आजैदेखि नै लागू हुने गरी तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।
निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह गरेका छन् । आज शहरी विकास मन्त्रालयले काठमाडौंमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरेका छन् । आगामी दिनमा सरकारी कार्यक्रमहरू आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्ने उनको भनाई छ । त्यस्तै प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठूला शहरमा आगामी वर्षदेखि नै पाइलट प्रोजेक्ट सुरु गरिने बताए ।
गठबन्धनले विप्लवलाई देखाएर चुनाव सार्ने खेल गर्दैछः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने गठबन्धनको षड्यन्त्रको शिकार नबन्न विप्लवलाई आग्रह गरेका छन् । आज नेकपा एमाले ललितपुर जिल्ला कमिटीले सिद्धिपुरमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विप्लवलाई देखाएर सत्ता गठबन्धनले निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको भन्दै गठबन्धनको शिकार नबन्न विप्लवलाई आग्रह गरे । विप्लवलाई चुनावमा सहभागी गराउने नाममा वैशाख ३० गतेको निर्वाचन सार्ने बहाना मान्य नहुने उनको भनाई छ । उनले स्थानीय निर्वाचनमा भाग लिने भए स्वतन्त्र रूपमा लड्न वा सूर्य चिन्ह लिएर लड्न विप्लवलाई सुझाव दिए ।
घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान उत्साहका साथ सम्पन्न भयोः कांग्रेस
नेपाली कांग्रेसले घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान उत्साहका साथ सम्पन्न भएको जनाएको छ । आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने काम अभियानका क्रममा भएको जनाएको हो ।सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण गरिएको कांग्रेस प्रवक्ता डा प्रकाशशशरण महतले जानकारी दिए ।
अर्थतन्त्र समस्यामा परेका बेला राष्ट्र बैङ्कको गभर्नरलाई कारबाही गर्नु गलतः कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अर्थतन्त्र समस्यामा परेका बेला राष्ट्र बैङ्कको गभर्नरलाई कारवाही गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले मुलुकको अर्थतन्त्र सुधार गर्ने काम गर्न लाग्दा गभर्नरलाई कारवाही गरेर सरकारले सही काम नगरेको बताए । अर्थमन्त्री र गभर्नरको खटपट विश्वभर नै हुने गरेको तर नेपालमा भने अनाहक तवरले कारवाही गरिएको उनको भनाई छ । त्यस्तै उनले विवादीत व्यक्तिलाई धमाधम नियुक्ति गर्नुको कारणबारे सरकारले जनतालाई जवाफ दिनुपर्ने बताए ।
दाहालले गरे आफ्नो मनोनयनको बचाउ
राष्ट्रियसभा सदस्य नारायण दाहालले आफ्नो मनोनयनको बचाउ गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पारिवारिक सदस्य भएकै कारण राष्ट्रियसभा सदस्यमा मनोनित गरेको भन्दै आलोचना भइरहेका बेला दाहालले भने आफूले अवसरहरू गुमाएको दाबी गरेका छन् । आज राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले अध्यक्ष र आफू एकैदिन होलटाइमर भएर हिँडेको भएपनि आफूले पाउनुपर्ने अवसरहरू गुमाएको बताए ।
जसपाको सुदूरपश्चिम अध्यक्ष चौधरीले दिए राजीनामा
जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समेत रहेका चौधरीले आज फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । चौधरी पहिलो संविधानसभा सदस्य निर्वाचनमा कैलालीबाट प्रत्यक्षतर्फको निर्वाचनमा निर्वाचित भएका थिए ।
मेलम्चीको पानी सुरुङमा पठाइयो, खानेपानीमन्त्रीले गरे उद्घाटन
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरु गरिएको छ । टनेल सफा गर्ने काम सकिएपछि आज बिहान सुरुङमा पानी पुनः पथान्तर गरिएको हो । पानी सुरुङमा पठाउन खानेपानीमन्त्री उमाकान्त चौधरी मुख्य आयोजनास्थल आम्बाथान पुगेका थिए । मन्त्री चौधरीले २६५ लिटर प्रतिसेकेण्डका दरले मुख्य सुरुङभित्र पानी पठाइएको आयोजनाले बताएको छ । गत असार १ को बाढीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । मुख्य मुहानमा क्षतिसँगै मेलम्ची पुनः काठमाडौं ल्याउन सकिन्छ/सकिँदैन अन्योल थियो ।
मधेश प्रदेश सभाको ८ औँ अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदै
मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको ८ औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर आजराति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य हुने जानकारी दिए । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्र सदनमा पढेर जानकारी गराएका थिए । प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।
पूर्व प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको नरसिंह–५ स्थित श्री प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक (हाल अवकाश प्राप्त) सिद्धिनाथ लाल दाससहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा महावीर प्राथमिक विद्यालय सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक मनोज कुमार चौधरी र तारणी प्रसाद खतिवडा रहेका छन् ।
राष्ट्र बैंकद्धारा ८ महिनाको आर्थिक विवरण सार्वजनिक
नेपाल राष्ट्र बैंकले गठबन्धन सरकार बनेपछिको पछिल्लो ८ महिनामा अर्थतन्त्रका प्रायः सबै सूचकहरू नकारात्मक देखाएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फिती ७ दशमलब १४ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको यसै समयमा यस्तो मुद्रास्फिती ३ दशमबल ३ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थको मूल्यमा ७ दशमलब ५१ प्रतिशत र अन्यमा ६ दशमबल ८४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो फागुन महिनाको तुलनामा यस वर्षको सोही समयमा घिउ, तेल, तरकारी, दूधजन्य उत्पदन, अण्डा, दाल तथा गेडागुडीलगायत उपभोग्य वस्तुमा करिब २७ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।
शेयर बजार परिसूचक नेप्सेमा आज पनि गिरावट
शेयर बजार परिसूचक नेप्से आज पनि गिरावट आएको छ । आज नेप्से ३४ दशमलव ७८ अकंले घटेर २ हजार ३ सय ८५ दशमलव विन्दुमा पुगेको हो । आज कारोबार रकममा पनि घटेको छ । आज कुल ३७ लाख ८३ हजार २४ रुपैयाँमा कारोबार भएको छ । आज होटल तथा उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेको छ । यस्तै निर्जीवन बीमा, जीवन बीमा, उत्पादन, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ । समग्र बजार घटे पनि नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
मोरङमा मानवको खप्पर तथा हड्डीसहित एक जना पक्राउ
मोरङमा मानवको खप्पर तथा हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विराटनगर महानगरपालिका १५ रानीस्थित नम्बर १ घाट इलाकाबाट भारत घर भएका २६ वर्षीय आदित्य चिन्हालाई प्रहरीले आज पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका निजलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलामा सो मानव खप्पर तथा शरीरका विभिन्न हड्डी फेला परेको प्रहरीले जनाएको छ ।
पर्सामा लागू औषधसहित एकजना पक्राउ
पर्सामा लागू औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिरी नगरपालिका–७ बस्ने २४ वर्षीय बाङचुङ शेर्पा रहेका छन् । वीरगञ्ज महानगरपालिका वडा १६ बसपार्कस्थित पैदल हिडिरहेका उनलालाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १२८ एम्पुल डाइजेपाम, २८ एम्पुल नूफिन, १२६ एम्पुल फेनेरगन र १०० एम्पुल बुप्रिनूफिन गरी जम्मा ३८२ एम्पुल लागू औषध बरामद गरेको छ ।
सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु
सर्लाहीको मलंगवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका–९ निवासी ३६ वर्षीय अवधेश साह रहेका छन् । आफनै साहलाई आफ्नै घरमा मोटर जडान गरेको पानी तान्ने ह्यान्ड पाइप चलाउने क्रममा साहको आज दिउँसो क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याए लगतै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया