बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार  | Khabarhub Khabarhub

बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियम विपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेलधुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् ।

जिल्लामा एक मात्र आयल स्टोर रहे पनि एक सयभन्दा बढी व्यापारीहरूले अवैध रूपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका हुन् । जिल्ला सदरमुकाम गोठलापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्छन् ।

यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम छ भने उनीहरूले अत्यधिक महँगो भाउमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडासमेत बढाएका छन् ।

यस्ता व्यापारीका कारण बजारहरूमा दुर्घटनाको जोखिम बढेको निर्माण व्यवसायी मदनमोहन बिष्टले बताए । उनले भने, ‘जिल्लाका व्यस्त बजारहरूमा ड्रममा भरेर डिजल र पेट्रोल राखिएको छ । अति प्रज्वलनशील पदार्थमा सामान्य आगो लागेमा बजार नै सखाप हुने जोखिम छ । औषधि पसल, होटेल तथा मदिरा पसल, कपडा पसल, जुत्ता पसल, किराना पसलदेखि तरकारी पसल सम्ममा पेट्रोलको बिक्री हुन्छ ।’

अवैध कारोबारीले डिजेल र पेट्रोल अत्यधिक मूल्यमा बिक्री गर्दै आएका छन् । डिजेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ भए पनि अवैध कारोबारीले २१० रुपैयाँ प्रतिलिटरमा बेच्दै आएका छन् । पेट्रोलको मूल्य १८५ रहेकोमा अवैध कारोबारीले कम्तीमा २२० रुपैयाँमा बेच्दै आएका छन् ।
अवैध कारोबार गरिरहेका व्यापारीबाट सरकारी कार्यालयहरू सहित अन्य उपभोक्ताले पेट्रोलियम पदार्थ खरिद गर्दै आएका छन् ।

बैतडीको सतबाँजमा रहेको एक मात्रै भण्डारी आयल स्टोरले भने डिजल मात्रै बेच्ने गरेको छ ।  उक्त आयल स्टोरलाई जिल्ला प्रशासनले पटक–पटक पेट्रोलको कारोबार गर्न निर्देशन दिए पनि तीन वर्षदेखि आनाकानी गरिरहेको छ ।

जिल्लाको खोड्पेमा स्थानीय व्यापारी भानु बिष्टले पाँच वर्षअघि नै पेट्रोल पम्प खालेकोमा अझै सञ्चालन अनुमति पाएको छैन । अनुमतिका लागि पटक–पटक जिल्लादेखि केन्द्र सम्म धाएका बिष्टले अनुमति नपाएपछि पेट्रोल पम्पमा गरेको करिब एक करोड लगानी खेर गएको छ । तर, जिल्लामा अर्को पम्प नहुँदा उपभोक्ता भने मारमा परेका छन् ।

जिल्लामा पेट्रोलियम पदार्थको अवैध कारोबारका बिषयमा जिल्ला प्रशासन कार्यालयले चासो देखाएको जनाएको छ । जिल्लामा सञ्चालीत भण्डारी आयल स्टोरलाई पेट्रोलको कारोबारका लागि त्रिपक्षीय सहमति गरेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।
उनले भने, ‘भण्डारी आयल स्टोर र नेपाल आयल निगमसँग हामीले संयुक्त छलफल गर्दा स्टोरका तर्फबाट वातावरणीय प्रभावका कारण घाटा हुने कुरा आएपछि निगमले पेट्रोल मूल्यमा ०.२४ प्रतिशत घाटा व्यहोर्ने बतायो ।

यो निर्णयसँगै उक्त आयल स्टोरले पेट्रोलको कारोबार गरेमा समस्या समाधान हुन्छ ।’ सतबाँजस्थित आयल स्टोरले चिसो ठाउँमा सञ्चालन गरेकाले पेट्रोलमा घाटा हुने बताउँदै आएका थिए ।

बजारहरूमा अवैध रुपले पेट्रोलियम पदार्थको कारोबार भइरहेको विषयमा भने केही व्यापारीसँग आयल निगमको अस्थायी  अनुमति रहेको भारती बताउँछन् ।

उनले भने, ‘बजार अनुगमनका क्रममा हामीले प्रश्न गर्दा एक/दुई जनासँग पम्पमा पेट्रोल नआएसम्मका लागि कारोबार गर्न पाउने कागज छ । तर, पम्पले पेट्रोल ल्याएमा उनीहरूको कारोबार बन्द हुन्छ । अन्य व्यापारीहरू आफ्नै निजी प्रयोगका लागि पेट्रोलियम पदार्थ ल्याएर राखेको बताउँछन् ।’

अहिले जिल्लामा रहेको आयल स्टोरलाई सुचारु गर्नका लागि पहल गर्ने भारतीको भनाइ छ । ‘५० लाख धरौटी राखेर अर्काले खोल्न सक्दैन । उसैले कारोबार गर्ने भएको छ । उसले लगातार तीन वर्षसम्म ल्याएको छैन । अब नल्याएमा बन्द हुन्छ र अरुले आयल स्टोर खोल्छन्,’ भारतीले भने ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : ०६ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई