जग्गा विवादले सिंचाई आयोजनामा ढिलासुस्ती « Khabarhub

जग्गा विवादले सिंचाई आयोजनामा ढिलासुस्ती


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ- सम्झौताअनुसार काम भएको भए खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लोकतान्त्रिक सिँचाई योजना हाल सञ्चालनमा आइसकेको हुन्थ्यो।

दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासे, दिप्रुङ चुइचुम्मा गाउँपालिका-सछितापोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीका खेतमा सिँचाइ सुविधा पुगिसकेका हुन्थे। तर, सम्झौता म्याद नाघिसक्दा सिँचाई योजनाको करिब ६० देखि ६५ प्रतिशत मात्र काम सकिएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए।

२०७९ असार मसान्तभित्र काम सम्पन्न गर्नेगरी लोकतान्त्रिक सिँचाई आयोजनाको सम्झौता ७ मंसिर २०७६ मा गरिएको थियो।

डिजाईन परिवर्तन, निर्माण कम्पनी स्काई रामसागर विवस जेभीको ढिलासुस्ती र कोभिड-१९ को महामारीका कारण लोकतान्त्रिक सिँचाई योजनाको काम सम्झौता अवधिमा पुरा हुन नसकेको हो।

प्रदेश सरकारको ७ करोड ८२ लाखको लागतमा दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको सिँचाई आयोजनाको काम सुरु गरिएको हो। सुरुमा सिँचाई योजनाको नहर आरसीसी ढलान गर्नेगरी डिजाइन गरिएको थियो। सोही अनुसार रुटमा पर्ने क्षेत्रका जग्गाधनीबाट जग्गा व्यवस्था गरिएको थियो।

तर, त्यसको केही समयपछि आरससीसी ढलानको सट्टा पाईप राख्नेगरी अर्को डिजाइन तयार पारेर काम अघि बढाइयो। आयोजनाको डिजाइन परिवर्तनले पाइप लाईन डाउन हुँदा नहरको रुट पनि परिवर्तन हुन पुग्यो। पाईप फुटेको खण्डमा जोखिम हुने भन्दै नयाँ रुटमा पर्ने जग्गादाताले जग्गा दिन अस्वीकार गरेपछि आयोजनाको काममा थप विलम्ब भएको हो। जमिनमा नगाडी तेस्र्याएर राखिएको पाईप फुट्दा विपत्ति निम्त्याउने त्रासले स्थानीयले जग्गा दिन अस्वीकार गरेको लोकतान्त्रिक सिँचाई योजना उपभोक्ता समिति अध्यक्ष खगेन्द्र राईले बताए।

सिँचाई योजनाको ११ किलोमिटर पाईपलाईनको काम गर्नुपर्ने सम्झौता छ। मुहाननजिकै काठले पाइपलाई टेवा दिइएको पाइएको छ। ‘पहिला नहरको आरसीसी ढलान गर्ने भनेर रुटमा पर्ने जग्गा व्यवस्था गरिएको थियो। पछि ढलानको सट्टा पाईप राख्नेगरी डिजाइन परिवर्तन भयो,’ अध्यक्ष राईले भने, ‘पाइपलाई थोरै डाउन गर्दै राख्नुपर्ने भयो। त्यसो गर्दा पहिला सर्भे भएको ठाउँभन्दा तलबाट पाईपलाइन विस्तार गर्नुपर्ने अवस्था आयो। तर , नयाँ रुटमा पर्ने जग्गादाताले जग्गा दिन अस्वीकार गरे। जग्गा प्राप्त गर्न समय लाग्यो।’ जग्गासम्वन्धी केही समस्या हल गरेर काम अघि बढाइएको र केही समस्या हल गर्न बाँकी रहेको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले जनाएको छ।

निर्माण कम्पनी स्काई रामसागर विवस जेभीले माटो कटिङ, फिलिङ, मेसिनरी वाल, जाली, आरसीसी ढलान र पाइप जडानको ठेक्का लिएको छ। स्वयं उपभोक्ता समितिले पनि ५४ लाख बराबरको झाडी फाँड्ने, माटो कटिङ, फिलिङ, मेसिनरी वाल, जाली भर्ने र आरसीसी ढलानको जिम्मा लिएको छ। उपभोक्ता समितिले हालसम्म २६ लाखको काम गरिसकेको जनाएको छ। हालसम्म आयोजनाको काम भएवापत ५ करोड निकासा भइसकेको छ। सम्झौता म्यादभित्र सिँचाई योजनाको काम नहुँदा स्थानीय निरास बनेका छन्।

सिँचाई योजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए। ‘जुन समयमा सक्नुपर्ने हो, त्यो समयमा सकिएन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘योजनाले सबैभन्दा बढी बतासेको इजरामा सिँचाई सुविधा पुग्ने छ। बारीलाई खेत बनाउने वातावरण बन्छ। तर काममा ढिलासुस्ती भएको छ।’

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : २५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय