मनोरञ्जन

बढ्दै छन् साउथ फिल्मका दर्शक 

By खबरहब

June 14, 2022

काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन फिल्महरूको क्रेज रोकिने सम्भावना छैन । एकपछि अर्को आइरहेको साउथ इन्डियन फिल्महरुले दर्शकलाई आकर्षित गरिरहेका छन् । फिक्सन फिल्ममा बाहुल्यता रहेको साउथ इन्डियन फिल्मको हुलमा पछिल्लो समय आएको कन्नडा फिल्म ‘७७७ चार्ली’ ले कथाको मजबुतीलाई प्रस्ट्याएको छ । यद्यपि साउथ फिल्ममा आकर्षण भने बाहुबली सिरिज मार्फत बढेको हो । त्यसलाई बढाउने काम गर्‍यो केजीएफ र पुष्पाले । गत वर्षको डिसेम्बरमा रिलिज भएको फिल्म पुष्पापछि साउथ फिल्महरू सिधै हिन्दीमै रिलिज हुन् थाले । साउथ प्रदर्शन भइसकेको फिल्मलाई हिन्दी राइट्स लिएर डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन पछिल्लो समय लगभग कम भएको छ । अब फिल्महरू एकै डेटमा हिन्दीमा समेत प्रदर्शन हुन् थालेका छन् । सुकुमार निर्देशित फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुन र रश्मिका मन्दनाको अभिनय रहेको थियो ।

फिल्मको डायलग र प्रस्तुतीकरणलाई दर्शकले रुचाए । पुष्पाले बनाएको दर्शकलाई बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मको स्वाद विश्वभरका दर्शकलाई चखाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ प्रदर्शनमा आयो । यो फिल्मले नन होलिडेमा आक्रामक व्यापार गर्‍यो । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि फिल्म ‘आरआरआर’ आक्रामक कमाइ गर्यो । सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्ने फिल्ममा ब्रिटिसले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने कथा देखाईको छ । 

फिल्मले गर्ने व्यापारसँगै दर्शकको जितेको विश्वासलाई कायम गर्यो ‘केजीएफ : च्याप्टर २’ ले । आरआरआर हेरेर पुनः हल फर्किएका दर्शकलाई केजीएफको सिक्वेलले निराश बनाएन् । पहिलो च्याप्टर गुमनाम तरिकाले प्रदर्शनमा आएता पनि दोस्रो च्याप्टरले इनिसियल व्यापार निकै गर्‍यो । ‘केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ । यी प्रदर्शन भइसकेका फिल्महरू बाहेक पनि केही फिल्म छन् । जसले आउँदा दिनमा साउथ इन्डियन फिल्मको दबदबा झनै बढ्ने देखिन्छ ।

बाहुबली सिरिज मार्फत सुपरस्टार बनेका अभिनेता हुन् प्रभास । पछिल्लो फिल्म ‘राधे श्याम’ फ्लप भएता पनि उनी अभिनीत फिल्महरू आदिपुरुष , सलार , प्रोजेक्ट के लगायत प्रतीक्षित छन् । ओम राउतले निर्देशन गरेको फिल्म ‘आदिपुरुष’ मा कृति सेनन र सैफ अली खानको पनि मुख्य भूमिका रहने छन्। प्रशान्त नीलको निर्देशनमा तयार भइरहेको सलारमा प्रभासले श्रुति हसनसँग स्क्रिन सेयर गरेका छन् । यस्तै नाग आश्विनको निर्देशनमा तयार भइरहेको फिल्म ‘प्रोजेक्ट के’ मा उनले अमिताभ बच्चन र दीपिका पादुकोणसँग स्क्रिन सेयर गरेका छन् । यी फिल्महरु मार्फत प्रभास निकै प्रतीक्षामा छन् । 

फिल्म ‘अर्जुन रेड्डी’ मार्फत एकाएक चर्चामा आएका अभिनेता हुन् विजय देवरकोण्डा । त्यसपश्चात उनले अभिनय गरेको फिल्महरु गीता गोविन्दम , डियर कमरेडले पनि उनलाई चर्चामा ल्यायो । यिनै विजयले बलिउडमा डेब्यु गरेको हो ,’टाइगर’ । पुरी जगन्नाथको निर्देशनमा तयार भइरहेको फिल्म एक्सन र थ्रिलर रहनेछ । फिल्ममा अनन्या पाण्डे, रोनित रोय, राम्या कृष्णको पनि अभिनय छ। 

पुष्पा मार्फत साउथ फिल्मबाट बाहिर निस्किएर आफ्नो स्टारडम प्रस्ट्याएका अभिनेता हुन् अल्लु अर्जुन । पुष्पा हेरेका दर्शकले सिक्वेल ‘पुष्पाः द रुल’ को प्रतीक्षा गरिरहेका छन् । फिल्मको प्रदर्शन आउँदो वर्ष हुने अनुमान गरिएको छ । यद्यपि निर्माण पक्षले रिलिज घोषणा गर्न सकेको छैन । हालै प्रदर्शन भएका फिल्महरु आरआरआर र केजीएफ : च्याप्टर २ भन्दा कथालाई सशक्त बनाउन र सिरिजमा कथालाई अगाडि बढाउन निर्देशक सुकुमार मेहनत गरिरहेका छन् । 

नायक, रोबोर्ट, आइ जस्ता फिल्म निर्देशन गरेका निर्देशक शंकरले राम चरणलाई लिएर फिल्म निर्देशन गरिरहेका छन् । फिल्मको टाइटल अझै राखिएको छैन । यस फिल्मलाई लिएर पनि दर्शक प्रतीक्षित छन् । ‘रोबर्ट : २.०’ पश्चात निर्देशक शंकरले सुरु गरेको प्रोजेक्ट यहीँ हो । फिल्मको कथावस्तु केही बताइएको छैन भने यसमा कियारा अड्वानी पनि मुख्य भूमिकामा छिन् । जुनियर एन्टीआरको आउँदो दुई फिल्मको प्रतीक्षा छ दर्शकलाई । उनले निर्देशक कोरतोला शिवा र प्रशान्त नीलको आउँदो फिल्ममा काम गर्दैछन् ।

यी दुवै फिल्मको बारेमा अन्य केही खुलाइएको छैन । यद्यपि थ्रिलर र एक्सन जनरामा फिल्म बन्ने बताइएको छ । तीन सय करोडभन्दा बढी लागतमा निर्माण हुने फिल्मको छायांकन यसै वर्ष सुरु हुने बताइएको छ । यता हालै ‘केजीएफ: च्याप्टर २’ मार्फत सफलताको स्वाद चाखेका प्रशान्तले ‘सलार’ को काम सकेपछि मात्र जुनियर एन्टीआरसँग काम सुरु गर्नेछन् ।