उद्योगीलाई बैंकमा लगानी गर्न रोक्नुपर्छ : पूर्व गभर्नर नेपाल  « Khabarhub

उद्योगीलाई बैंकमा लगानी गर्न रोक्नुपर्छ : पूर्व गभर्नर नेपाल 


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बुटवल- पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायीलाई फाइदा हुने र साना तथा मझौला उद्योगी व्यवसायी मर्कामा पर्ने अवस्था आएको भन्दै उनले यसको अन्त्यका लागि उद्योगी व्यवसायीले कुनै एउटा मात्र रोज्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको उद्योगी व्यवसायीसँगको छलफलमा पूर्व गभर्नर नेपालले ब्याजदर घटाउन सरकारले पनि ठोस् आर्थिक नीति ल्याउन नसकेको टिप्पणी गरे । ‘पुँजीगत खर्च बढाउन सक्ने हो र बजारमा पैसा आउने हो भने ब्याजदर स्वतः घट्छ, यसका लागि सरकारले उद्योगमा लगानी बढाउनुपर्छ’, उनले भने ।

बैंकको स्प्रेड दर घटाउने, आधार दर साढे ७ वा ८ प्रतिशतमा झार्ने र सिडिरेसियो कम गर्ने हो भने बैंकको ब्याजदर घटाउन सकिने नेपालको तर्क छ । अहिले बैंक वित्तीय संस्थाले मुद्दती निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् भने कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि पुर्‍याएका छन् ।

सरकारले आर्थिक सुधारको नीति अवलम्बन गर्नुको साटो केन्द्रीय बैंकसँग निहुँ खोज्ने काम गरेको र केन्द्रीय बैंकले पनि मौद्रिक नीति बनाउँदा अहिलेको अर्थतन्त्रको मूलभूत समस्या सम्बोधन गर्न चुकेको उनको भनाइ छ । कोरोना महामारी तथा रुस–युक्रेन युद्धका कारण मुद्रास्फीतिमा चाप पर्दा अर्थतन्त्रमा समस्या आएको विश्लेषण गर्दै पूर्व गभर्नर नेपालले भने– ‘अब अर्थतन्त्र माथि उकास्नका लागि सरकारले बजारमा पर्याप्त पैसा पठाउनु पर्छ ।’

अर्थतन्त्रमा संकट आए पनि नेपाल श्रीलंकाको अवस्थामा नपुग्ने पूर्व गभर्नर नेपालको विश्लेषण छ । ‘श्रीलंका मूलतः चर्को ब्याजमा लिएको वैदेशिक ऋणको मारमा परेर संकटमा पुगेको हो, तर नेपालले लिएको वैदेशिक ऋण सहुलियतपूर्ण ब्याजदरमा छ । सात अर्बमा झरेको विदेशी मुद्राको सञ्चिति नौ अर्ब ३५ करोड पुगेको छ, त्यसैले डराउनुपर्ने अवस्था छैन,’ उनले भने ।

सरकार उद्योग स्थापना गर्ने भन्दा पनि राजस्वमुखी भएकाले दीर्घकालका लागि भने समस्या हुन सक्ने उनको विश्लेषण छ । ‘सरकारले उद्योगी व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा अरबौँ रकम उद्योगी व्यवसायीलाई दिएको छ, तर त्यो उद्योग स्थापनामा लगानी हुन सकेको छैन, सरकारले यसमा जोड दिनुको साटो आयातमा जोड दिएर राजस्व बढी उठाउने नीति लिएको छ, जसले दीर्घकालमा संकट निम्त्याउन सक्छ,’ उनले भने ।

कोभिडको असर लगत्तै रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि भएको र जसका कारण डलरमा पेट्रोलियम पदार्थको आयात गर्दा वैदेशिक मुद्राको सञ्चितिमा गिरावट आएको र राष्ट्र बैंकले यसको अवस्थामा सुधार ल्याउन डलर खर्च गरेर ल्याउनुपर्ने महँगा मालवस्तुको आयात नियन्त्रण गर्नुपर्ने अवस्था आएको भन्दै उनले अब यो धेरै समय नरहने विश्लेषण गरे ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीहरू ठूलो मारमा परेको भन्दै निकासका लागि पहल गर्न आग्रह गरेका थिए । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एजाज आलम, लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद कँडेल, महासचिव जेपी कँडेल, राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीलगायतले व्यापार व्यवसायमा ५० प्रतिशत ह्रास आएको तर ऋणको ब्याजदर शतप्रतिशत बढेको भन्दै ब्याजदर घटाउने उपायका बारेमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १२ : २४ बजे

पाकिस्तानमा सुरक्षा कारबाही : उत्तरपश्चिममा दुई छापामा १५ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानी सेनाले मंगलबार अफगानिस्तानको सीमा नजिक रहेको देशको उत्तरपश्चिमी

जेन-जी प्रदर्शनका घाइतेलाई सरकारले राहत उपलब्ध गराउने

काठमाडौं– सरकारले सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार

विराटनगरले पोखरालाई दियो एनपीएलकै उच्च २२१ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलबारको खेलमा विराटनगर किङसले

क्रम्प्टनको दशैं-तिहारको ठूलो हर्षका लक्की ड्र विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको ‘क्रम्प्टनदशैं–तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत

लोकश र मार्टिन चल्दा विराटनगरको स्कोर २०० नजिक, दबाबमा पोखरा

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा विराटनगर किङ्सका