काठमाडौं- एपीएफ क्लब नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा पाचौँ भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा पाचौँ स्थानका लागि शुक्रबार दिउँसो भएको खेलमा एपीएफले पुश स्पोर्ट्स क्लब दिल्लीलाई ६ विकेटले पराजित गर्दै पाचौँ स्थान पक्का गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पुश स्पोर्ट्स दिल्ली १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ६२ रनमा समेटियो ।
पुशलाई सस्तैमा समेट्न एपीएफका भुवन कार्कीले ४, विपिन खत्रीले २ तथा अमर सिंह रौतेला र नन्दन यादवले १–१ विकेट लिए ।
६३ रनको लक्ष्य एपीएफले १२ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । एपीएफको जितमा आयुश्मान बमले २१ रन र सन्दीप जोराले १२ रन जोडे ।
उपाधिको लागि भने शनिबार रूपन्देही र मलेसिया ११ दिउँसो २ बजे आमने सामने हुनेछन् ।
प्रतिक्रिया