काठमाडाैँ- आज दिनभर नागरिकता विधेयक जस्ताकाे त्यस्तै अघि बढाउने सत्ता गठबन्धनकाे निर्णय, जबराविरुद्ध महाअभियोग दर्ता भएको ६ महिनापछि कारबाही प्रक्रिया सुरू, गठबन्धन सरकारका कारण अर्थतन्त्र ओरालो लागेकाे ओलीकाे आरोप, प्रचण्ड र हर्क साम्पाङबीच भेटवार्ता, भारतबाट लगातार तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य,काठमाडौंको फोहोर बाेकेका गाडी बञ्चरेडाँडा पुगे लगायतका समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू:
नागरिकता विधेयक जस्ताकाे त्यस्तै अघि बढाउने सत्ता गठबन्धनकाे निर्णय
पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै संसदबाट पारित गरि प्रमाणीकरणका लागि पठाउने सहमति गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई संसदमा तत्काल प्रक्रिया अघि बढाई पारित गरेर पुन प्रमाणीकरणका लागि पठाउने सहमति गरेको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
यसअघि संसद्ले साउन १५ गते पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते सुझावसहित पुनः विचारका लागि फिर्ता पठाएकी थिईन ।
त्यस्तै बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा सरोकारवालाहरुसंग छलफल गरि आएका सुझावका आधारमा संशोधन गरी अघि बढाउने सहमति भएको काकीले जानकारी दिए ।
जबराविरुद्ध महाअभियोग दर्ता भएको ६ महिनापछि कारबाही प्रक्रिया सुरू
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि कारबाही प्रक्रिया सुरु हुने भएको छ ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक भोलि विहान साढे ११ बजेका लागि बोलाइएको छ । न्यायपालिका प्रमुखविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि सिफारिस समितिको पहिलो बैठक भोलि सिहंदरबारमा बस्ने भएको हो ।
महाभियोग सिफारिस समितिका सचिव लक्ष्मी गौतमले भोलिको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको बताउनुभयो महाभियोग सिफारिस समितिको पहिलो बैठकको अध्यक्षता कांग्रेसबाट समिति सदस्य रहेका रामबहादुर विष्टले गर्नेछन ।
गठबन्धन सरकारका कारण अर्थतन्त्र ओरालो लागेकाे ओलीकाे आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो सरकार बन्न सकेमात्रै मुलुकको सहि तरिकाले बिकास हुने बताएका छन ।
अखिल नेपाल महिला संघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले गलत नेतृत्वमा सरकार बन्दा मुलुकको अवस्था कस्तो हुन्छ भन्ने पछिल्लो १ बर्षले देखाएको भन्दै राम्रो सरकार बन्न सकेमात्रै मुलुकको सहि तरिकाले बिकास हुने बताएका हुन ।
उनले गठबन्धन सरकारका कारण अर्थतन्त्र ओरालो लागेको, संसदलाई पंगु बनाएको, अदालतलाई बन्धक बनाएको र समग्र मुलुकमा नै अराजकता सिर्जना भएको आरोप लगाए ।
प्रचण्ड र हर्क साम्पाङबीच भेटवार्ता
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
विभिन्न स्थानीय समस्या सम्बोधनका लागि काठमाडौं आएका धरानका मेयर साम्पाङ र दाहालबीच खुमलटारमा भेटवार्ता भएको हो । साम्पाङले अध्यक्ष दाहालसँगको भेटवार्तामा धरानको विकास र सम्बृद्धिका विषयमा छलफल गरेको दाहालले सचिवालयले जनाएको छ ।
निर्वाचन प्रयोजनका लागि काँग्रेसद्वारा आयोगमा दल दर्ता
मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि नेपाली कांग्रेसले दल दर्ताका लागि निवेदन दिएको छ ।
निर्वाचन आयोग पुगेर पार्टीका उपसभापति धनराज गुरुङ लगाएतका नेताहरु दल दर्ताका लागि आज निवेदन दर्ता गराएका हुन् । निवेदनपछि कांग्रेस उपसभापति गुरुङले पार्टी अव निर्वाचनमा होमिएको बताए ।
त्यस्तै उनले पाँच दलीय गठबन्धनमा माओवादीभित्र एउटै चिन्ह लिने सहमतिमा कुनै असर नपर्ने बताए । उनले गठबन्धमा तालमेलको छलफल जारी रहेकाले सिटको टुङ्गो नलागेको जिकिर गरे ।
त्यस्तै आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी तथा नेकपा एकता अभियानले निर्वाचन आयोगमा निवेदन दिएका छन् । एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल लगाएतको टोली आयोग पुगेर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् ।
यसैबीच निर्वाचन आयोगले ७६ वटा दलहरु आगामी निर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल दर्ताका लागि निवेदन दिएका दलहरुको आजबाट रुजु सुरु हुने बताए ।
भारतबाट लगातार तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयाल कर्पोरेसनले आइओसीले आज पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ ।
नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहने देखिएको छ ।
समग्रमा अब निगमलाई १५ दिनको नोक्सान ३१ करोडमा झरेको छ । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । त्यस्तै साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो ।
अन्त र्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । यसैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने बताएको छ । निगमले आज पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएअनुसार निगमले मूल्य बढाउन नसक्दा अहिले मूल्य घटाउन नसकिएको निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए ।
अहिले निगमलाई ५० अर्ब घाटा रहेको उनको भनाइ छ । नयाँ मूल्य अनुसार मासिक ६२ करोड घाटा हुने निगमले जनाएको छ । अहिले ऋणको ब्याज मात्र मासिक १४ करोड बुझाउनु परेको उनले बताए ।
पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन घोषणा
पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो ।
निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए ।
भदौ १ सम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने महासंघले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ ।
काठमाडौंको फोहोर बाेकेका गाडी बञ्चरेडाँडा पुगे
काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध पार गर्दैँ धादिङ धुनिवेशी नगरपालिकामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पु¥याइएको छ ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पु¥याइएको जानकारी दिए ।
गाडीलाई स्थानियले अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले आज दिउँसो केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको थियो । स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको थियो ।
थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परिक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एन्टीजेन परिक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । थप ५ सय २६ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ हजार २ सय ५९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।
प्रतिक्रिया