माछापुच्छ्रे र अन्नपूर्णकाे बीचमा खेल्न पाउँदा खेलाडी उत्साहित « Khabarhub

माछापुच्छ्रे र अन्नपूर्णकाे बीचमा खेल्न पाउँदा खेलाडी उत्साहित


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रकृतिको क्रीडाभूमि पोखरा सहरमा यतिबेला खेलकुदको कुम्भमेला चलिरहेको छ । झण्डै चार दशकपछि यहाँको  खेलमैदानमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३६ खेलमध्ये  १० खेल गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेका छन् भने बाँकी २६ खेल पोखराको खेल मैदानमा भइरहेका  छन् । ११ टोलीका छ हजार एक सय ५७ खेलाडीमा चार हजार ५०० बढी खेलाडी भने पोखराको खेल मैदानमा छन् ।

यतिबेला पोखराको मौसम पनि निकै स्वच्छ भएको छ । खुलेको आकाश र सेतो हिमशृङ्खलाले यहाँ आउने जो कोहीलाई मोहित पार्छ नै त्यसमाथि पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण साक्षी राखेर खेलमैदानमा उत्रेका खेलाडी पनि उत्तिकै  दङ्ग देखिन्छन् । आइतबार क्रिकेट खेलका लागि तयार हुँदै गर्दा महिला क्रिकेट टोलीको मधेस प्रदेशकी क्याप्टेन कविता गौतम निकै उत्साहित देखिन्थे । खेल मैदानबाट टलक्क टल्केको माछापुच्छ्रेतीर आँखा लगाउँदै उनले भने, ‘यहाँको स्वच्छ र  सुन्दर वातावरणले बेग्लै मज्जा आउँछ, सुन्दर र स्वच्छ देखिएको हिमाल हेर्दै आनन्द लाग्ने,  यस्ता दृश्यले खेलाडीलाई निकै ऊर्जा थप्छ’, क्याप्टेन गौतमले करिब १० वर्षअघि पोखराको खेल मैदानबाट आफ्नो टोलीले स्वर्णपदक जितेको अनुभवलाई ताजा बनाउँदै भने, ‘खेलाडीले जहाँ गए पनि खेल त खेल्ने हो तर पोखराको मैदानमा खेल्दाको अनुभूति बेग्लै र आनन्ददायक लाग्छ, यो सुन्दर सहर पोखराको विशेषता हो ।’

उनले अहिले पनि पोखराको खेल मैदानमा माछापुच्छ्रे साक्षी राखेर खेल्दा निकै उत्साह थपिएको बताए । ‘खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ ।’ 

नेपाल महिला क्रिकेट टोलीकी क्याप्टेन रुविना क्षेत्री पनि पोखराको सुन्दरताले खेलाडीलाई बेग्लै ऊर्जा थप्ने बताए । ‘माछापुच्छ्रे र अन्नपूर्णको हिमशृङ्खलाको काखमा रहेको पोखरा रङ्गशालाको खेल मैदानमा खेल्दा क्रिकेट खेलाडीलाई निकै उत्साहित बनाउँछ, पोखराको सुन्दरता अनुपम ‘, उनले देशविदेशका विभिन्न खेल मैदानमा पुगेर खेल प्रदर्शन गरेको अनुभव भए पनि पोखराको सुन्दरताले गजबको ऊर्जा थप्ने अनुभव सुनाए । 

‘हिमालकै देशको खेलाडी भए पनि खुलेको हिमशृङ्खला देख्दा कहिल्यै मन थाक्दैन, हेरिरहूँ लाग्ने । यहाँ आएपछि मन आनन्दित हुन्छ र घुम्न निस्कँदा पनि विदेश गएको झल्को आउँछ’, क्याप्टेन क्षेत्रीले भने, ‘माछापुच्छ्रे अन्नपूर्णलगायत हिमशृङ्खलालाई हेर्दै आत्मविश्वास जगाएर खेल्ने अवसर अरु ठाउँमा विरलै पाइन्छ तर पोखरा यस्तो सहर हो जहाँ आँखा अगाडि हिमाल हेर्दै खेल्ने अवसर पाइन्छ ।’ उनले तालतलैया, मिलेको बस्ती, हरियाली डाँडापाखा र सफा वातावरणले पनि खेलाडीलाई मोहित गर्ने बताए ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले पोखरा सहरको सुन्दरता अवर्णित रहेको बताए। ‘खेलाडीका लागि सबैभन्दा पहिला प्रफुल्ल मन र आत्मविश्वास आवश्यक पर्छ, पोखराको खेल मैदानमा उत्रेका सबै खेलाडीमा यो भाव देखिन्छ, पोखराको खेलमैदानले यो ऊर्जा खेलाडीमा जगाएको छ ।’ उनले भने, पोखरालाई ‘स्पोर्टस्को सिटी’ भनेर पनि चिनिन्छ । ‘म पनि २०४० सालमा पोखराको मैदानमै खेलेको  खेलाडी हुँ, यहाँका सुन्दर दृश्यले अन्तर्राष्ट्रिय खेलाडीलाई पनि उत्तिकै लोभ्याउँछ । स्वच्छ र सफा वातावरण सधैँ खेलाडीको रोजाइ हुने गर्दछ जुन पोखरामा छ ।’ 

मुख्य प्रशिक्षक टमटाका अनुसार अहिले दुई वटा विभागीयसहित नौ वटा क्रिकेट टोली प्रतियोगितामा  सहभागी छन् । खेलाडीका लागि राज्यले आर्थिक पाटो सबलीकरण हुने वातावरण सिर्जना गर्नसके यस क्षेत्रमा महिला र पुरुष दुवै खेलाडीको सङ्ख्या बढ्ने देखिन्छ । पोखरामा भइरहेको राष्ट्रिय खेलमा म्याग्दी जिल्लाबाट सहभागिता जनाएका तेक्वान्दो खेलाडी राजकुमार परियारले पनि पोखराको सुन्दर वातावरणमा आफ्नो खेल प्रदर्शन गर्न निकै आतुर भएको बताए । उनले भने, ‘होम ग्राउण्डमा खेल्दा यसै पनि आनन्द लाग्छ दर्शकको अपार माया र साथले बलियो प्रतिस्पर्धीलाई पनि जित्न सकिन्छ भन्ने लाग्दोरहेछ, साथसाथै आफ्नै प्रदेश भएकाले पनि हावापानी मिल्दा पनि फुर्तिलो बनाएको अनुभव भएको छ ।’ खेलाडी परियारले खेलाडीका लागि पोखराको हावापानी र सुन्दरताले थप ऊर्जा थप्ने बताए । 

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले सयौैँचोटी पोखरा आउँदा पनि आफू कहिल्यै नथाक्ने सहरमा अहिले खेलाडीका साथ रहन पाउँदा निकै खुसी लागेको छ भने। ‘अहिले दुईसय तीन पौडी खेलका विभिन्न इभेन्टका खेलाडी पोखरामा छन् , त्यति नै मात्रामा खोलाडीका आफन्त  पनि सहभागी छन् । पोखराको सुन्दरताले खेलाडी निकै उत्साहित छन् ।’ उनले बताए, ‘खुलेको आकाश र टल्केको माछापुच्छ्रेको आँगनमा आफ्नो खेलको क्षमता प्रदर्शन गर्दा खेलाडी निकै खुसी भएका छन्।’

    अध्यक्ष बज्राचार्यले भने, ‘खेलमा हारजित हुनु स्वाभाविक हो । यति खेलमा पराजित भएका खेलाडी पनि पोखराको सुन्दरता स्वच्छ सुन्दर हिमाल तथा ताल हेर्दा र घुम्दा ‘रिफ्रेस’ बन्न सघाउँछ ।’ 

–जमुना वर्षा शर्मा रासस

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : १६ बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१