भारत भ्रमणबाट फर्केपछि कांग्रेससँग प्रचण्डको बार्गेनिङ « Khabarhub

भारत भ्रमणबाट फर्केपछि कांग्रेससँग प्रचण्डको बार्गेनिङ


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अचानक भारत भ्रमण जानु, भ्रमणबाट फर्किएर पुरानो नेकपाका नेताहरूसँग भेट्नु र कांग्रेस पार्टी बैठकका निर्णय राम्रो भन्नु प्रचण्डको संयोग होइन । यी सबै योजना प्रचण्ड स्वयंमले चाहेर एकपछि अर्को गरी भइरहेका छन् ।

भारत भ्रमण सकेर फर्किएका प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न पाएनन् । तर उनले सो भेट पाएको भए आफू नै अबको प्रधानमन्त्री भनेर किटान गर्न सक्थे । दक्षिणको साथ सहयोगले उनी चिनियाँ पक्षलाई लत्त्याउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सोझो रुपमा सहमति अगाडि बढाउन सक्थे ।

तर उनले अहिले त्यसो गरेका छैनन् । मात्रै कांग्रेसभन्दा बढी कम्युनिष्ट पार्टीका नेताहरूसँग एकपछि अर्को गरी परामर्श गरिरहेका छन् । यो भनेको उनले आफूलाई कम्युनिष्ट पार्टीका नेताहरुको पनि नेता बनाएर चुनावमा कांग्रेससँग कडा रुपमा बार्गेनिङ गर्ने ‘टूल’ हो भन्ने कुरा बुझ्न गाह्रो छैन ।

सिधा रुपमा प्रचण्ड आगामी चुनावपछि एकपटक प्रधानमन्त्री बन्न चाहन्छन् । माओवादी पछिल्लो पाँच वर्षमा सत्ताको नेतृत्वमा छैन । यसको छटपटी प्रचण्डमा छ । त्यो भन्दा पनि माओवादी सत्ताकै वरिपरि रहेर पनि सत्तामा रमाउन सकेको छैन ।

यसको छटपटी प्रचण्डमा बढी छ । सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएका प्रचण्डले दोस्रो पटक कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री बनाएका छन् । तत्कालीन प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याउन राजनीतिक खेल खेलेका प्रचण्डले बुढानिलकण्ठबाट देउवालाई बालुवाटार राख्न पनि काँध थापेका व्यक्ति हुन् ।

उनी आफूलाई आगो बताउने गरेका छन् । आगोसँग खेल्ने सबैलाई जलाइदिने पनि उनको चेतावनी छ । तर आफै घरी आगो, घरी पानी हुने गरेका प्रचण्ड मौसमी बायु जस्तै नेता हुन् । उनी कति बेला सत्ता र स्वार्थका लागि फेरिन्छन्, त्यो थाहै हुँदैन ।

उनी सत्ता र स्वार्थ केन्द्रित हुँदा माओवादी पार्टी धुँजाधुँजा भइसकेको छ । माओवादी पार्टी विकेन्द्रित हुँदा यसको सबैभन्दा ठूलो घाटा प्रचण्डलाई नै छ । तर पनि उनले अझै पनि माओवादीलाई बनाउनेभन्दा सत्तालाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् ।

यसले ढिलोचाँडो प्रचण्डको शक्ति अझै ध्वस्त हुने सम्भावना छ । किनभने उनी आफू प्रधानमन्त्री बन्नका लागि जस्तोसुकै शक्ति खर्चिन पनि तयार छन् । अझै धेरै कार्यकर्ताको योगदानलाई पैतालामा कुल्चिन तयार देखिरहेका छन् ।

यसको तत्कालको असर प्रचण्ड भारत भ्रमणबाट फर्किएपछिको हो । मंगलबार सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा प्रचण्डले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन्।

यो भनेको प्रचण्ड एक्ला एक्लैभन्दा कम्युनिष्ट पार्टीको झुण्ड लिएरै कांग्रेससँग बार्गेनिङ चाहन्छन् । जसले गर्दा बढीभन्दा बढी सिट लिन सकेर भोलि कांग्रेसलाई टक्कर दिन सकियोस् । यसको उनले भारत भ्रमणलाई हतियार बनाएका छन् ।

आफूलाई भारतको समेत समर्थन रहेको बताउँदै प्रचण्डले कांग्रेसलाई निर्णायक सम्झौताका लागि दबाब बढाइरहेका छन् । तत्काललाई कांग्रेसले आफूसँग १०० सिट राखेर बाँकी गठबन्धनका दललाई ६५ सिट दिने तयारी गरेको छ । यसमा सबैभन्दा ठूलो हिस्सा पाउने प्रचण्ड नै हुन् ।

तर पनि प्रचण्ड आफूसँगै अरुलाई पनि ठूलो हिस्साका लागि उक्साइरहेका छन् । यसरी आकार ठूलो बनाएर कांग्रेससँग दबाब बढाउने र आफू प्रधानमन्त्री बन्ने बाटो खोल्ने प्रचण्डको भित्री रणनीति छ । अब त्यसलाई कांग्रेसले ‘डिल’ गर्छ, त्यसैमा प्रचण्डको राजनीतिक कोर्स निर्भर छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : ०० बजे

देशभर बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य