पोखरामा नवौँ राष्ट्रिय खेलकुदको तयारी घनिभूत « Khabarhub

पोखरामा नवौँ राष्ट्रिय खेलकुदको तयारी घनिभूत


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकको सुन्दर पर्यटकीय नगरी पोखरामा यही २८ असोजदेखि ३ कात्तिकसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ।

प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले जानकारी दिए। उनले भने, ‘हामी नवौँ राष्ट्रिय खेलकुदको नजिक आइपुगिसकेका छौँ। प्रतियोगिता सुरु हुन अब २० दिन मात्र बाँकी छ। अब बाँकी तयारीलाई घनिभूतरूपमा पूर्णता दिने, कहीँ कतै कमी–कमजोरी देखिए सुधार गर्दै समन्वय र सहकार्यलाई बलियो तुल्याइनेछ।’

प्रतियोगिताका सन्दर्भमा गठन भएका समिति र उपसमितिले आ–आफ्नो कार्य जिम्मेवारीलाई तीव्र तुल्याएको जानकारी दिइएको छ। मन्त्रालयले पनि सरोकारवाला र निजी क्षेत्रसँग छलफल गरी प्रतियोगिताका लागि प्रायोजन गर्ने वातावरण बनाएको छ। राष्ट्रपतिलाई प्रतियोगिता उद्घाटन तथा प्रधानमन्त्रीलाई समारोहमा सरिक हुन मन्त्रालयले केही दिनभित्रै औपचारिकरूपमा अनुरोध गर्नेछ।

यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकाम पुर्‍याएर देखाउने काम भइरहेको छ। उक्त ट्रफी केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिकीकरण गरेका थिए।

सचिव डा रेग्मी भन्छन्, ‘खेलाडीको नाम दर्ता गराउने प्रक्रिया भइसकेको छ, वास्तविक सङ्ख्या परिषद्बाट केही दिनमै सार्वजनिक हुनेछ। प्रतियोगिताका लागि आवश्यक सामग्री सार्वजनिक खरिद प्रक्रियाअनुसार नै अघि बढिसकेको छ।’

खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथिसहित करिब १० हजारको सङ्ख्यामा सहभागी हुने व्यक्तिलाई आवास व्यवस्थापनको चुनौतीलाई सहज तुल्याउँदै मन्त्रालयले प्रतियोगितालाई खेलउत्सवका रूपमा व्यवस्थित र ऐतिहासिक तुल्याउने ढङ्गबाट तयारी गरिरहेको छ। पहिलोपटक प्रादेशिक आधारमा हुन लागेको प्रतियोगितामा सहभागी ११ वटै टोलीका खेलाडीको सहभागिता बढाएर पदकमाथि प्रभुत्व जमाउने हिसाबले अन्तिम तयारीमा जुटिरहेका छन्।

प्रतियोगितामा सात प्रदेशका सात, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को टिमबीच प्रतिस्पर्धा हुनेछ। यसअघिका प्रतियोगितामा पदकमाथि विभागीय टोलीले कब्जा जमाउँदै आएको थियो। यसपटक भने विभागीय टोलीलाई प्रदेश टोलीले चुनौती खडा गर्ने अनुमान गरिएको छ।

प्रतियोगिता सञ्चालनका क्रममा प्रस्तुत हुने झाँकीले प्रदेशको पहिचान उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन योगदान पुर्‍याउनेछ। प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलले जानकारी दिए।

नेपालको खेलकुदको इतिहासमा पोखरामा ३९ वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो। प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ।

प्रतियोगिताका खेल

नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन्। त्यस्तै हयाण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन्।

प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई रु ४९ लाखका दरले रकम उपलब्ध गराएको थियो। प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेतालाई रु २५ हजार तथा सामूहिकतर्फका स्वर्णधारीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ। चार सय आठ प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदकको यसअघि नै तय भइसकेको छ।

पोखरा घुम्नका लागि अत्यन्तै अनुकूल मौसम र वातावरणमा हुन लागेको प्रतियोगिताले पोखराको सौन्दर्य प्रवर्द्धन गर्न थप योगदान पुर्‍याउनेछ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : २३ बजे

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।