पक्की पुल नबन्दा नागरिकलाई सास्ती | Khabarhub Khabarhub

पक्की पुल नबन्दा नागरिकलाई सास्ती


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची- मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनः निर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्ने बित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ ।

मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिक रूपमा रहेको झोलुङ्गे पुलको सहायक पर्खाल बाढीले बगाएका कारण एकै पटक धेरै मानिस आवतजावत गर्दा हल्लिने गर्दछ । मेलम्चीबाट दोभानटार र दोभानटारबाट रामपुरबेँसी जोड्ने यो पुल नै ओहोरदोहोरको माध्यम बनेको छ ।

बाढीले मेलम्ची बजारमा रहेको पक्की पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुल आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २, मेलम्ची नगरपालिका–७ र ८ का नागरिकका लागि गाडी प्रयोग गर्न भने हेलम्बु गाउँपालिकाको चनौटे पुगेर मेलम्ची आउनुपर्ने अवस्था रहेको छ । हेलम्बु गाउँपालिकाको चनौटेमा बाढीले मोटर गुड्ने पुल बगाएपछि नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माण गरी सञ्चालन भइरहेको छ ।

पुल नहुँदा बिरामी र सुत्केरी हुने महिला मारमा परेका छन् । मोटर बाटो प्रयोग गर्दा घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई भने हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाले आकस्मिक रूपमा अस्पताल लैजानुपर्ने बिरामी र सुत्केरीलाई हेलिकोप्टरमार्फत पनि सेवा दिँदै आएका छन् ।

मेलम्ची नगरपालिका–९ र १० लगायत आसपासका नागरिकका लागि दैनिक जसो मेलम्ची बजार ओहोरदोहोर गर्नु पर्दछ । उत्पादित तरकारी, फलफूल, दूध र मासुजन्य वस्तुको बजार भनेको मेलम्ची नै हो । सामान बोकेरै ल्याउनुपर्ने भएकाले पनि उत्पादित सामान बजारसम्म ल्याउन समस्या भएको मेलम्ची–१० की लक्ष्मी अधिकारीले बताइन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाकी डिलकुमारी श्रेष्ठ आफन्त र छोराछोरीसँग भेटघाटका लागि काठमाडौँ ओहोरदोहोर गरी रहन्थिन् । तर अहिले बाढीपछि भने उहाँ तीन महिनामा एक पटक मात्र आउने–जाने गर्नुहुन्छ । बाटो कति बेला बन्द हुन्छ भन्ने डरले पनि उनलाई रोकिरहन्छ । पहिलेको तुलनामा गाडी पनि नियमित रूपमा सञ्चालन नहुँदा यात्रा गर्न सहज नभएको उनको भनाइ छ ।

मेलम्ची–१० का कुमार दाहालको पनि समस्या उस्तै छ । पहिलेको पुल भएको ठाउँबाट झोलुङ्गे पुलसम्म आउन एक किलोमिटर छ भने बाहुनेपाटी जान दुई किलोमिटर घुमेर बजार जानुपर्ने बाध्यता छ । घरका लागि चाहिने सामान ल्याउन पनि समस्या भइरहेको उनले बताए । तीनै तहका सरकारले जतिसक्दो छिटो पुल निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बाढीका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिको गरिखाने ठाउँ नै बगर बनेको छ । बाढीपछि राहत र पुनः स्थापनाको काममा पनि सरकारले चासो नदिएका कारण मेलम्चीको पुनः स्थापनामा ढिलाइ भएको मेलम्चीका बासिन्दा गणेश दुलालले बताए। गत वर्षको बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको थियो ।

मानिसको आवतजावत कम भएका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष व्यापार व्यवसाय पनि कम भएको मेलम्चीका व्यापारी प्रकाश दाहालले बताए। बोकेर लान सक्ने सामान पनि कमै मात्रामा बिक्री भइरहेको र गाडी प्रयोग गरेर लाने सामान लान गाडी भाडा महँगो पर्ने भएकाले पनि वर्षा याममा बिक्री धेरै घटेको उनको भनाइ छ ।

यसअघि मेलम्चीमा ह्युमपाइप राखेर बनाइएको अस्थायी संरचनाको प्रयोग गरेर सामान लैजान सहज भएको थियो । अब वर्षा रोकिने बित्तिकै खोलामा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्न नगरपालिकालाई ध्यानाकर्षण गराइएको मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका महासचिव ताराबहादुर बानियाँले बताए । नगरपालिका क्षेत्रमा नागरिकको सुविधाका लागि वैकल्पिक बाटो बनाउने र बन्द भएका बाटो खुलाउने काममा नगरपालिकाले काम गरिरहेको नगरप्रमुख आइतमान तामाङले बताए।

‘‘दीर्घकालीन रूपमा पुनः स्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी जतिसक्दो छिटो मेलम्चीलाई पुरानै अवस्थामा ल्याउने छौँ”, उनले भने । क्षति भएका संरचनाको पुनः निर्माणमा पनि तदारुकताका साथ काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १ : ०३ बजे

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी– मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

एजेन्सी– लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु

‘नेपाल आफ्नै गतिको आर्थिक विकासमा छ’

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा

उत्पादन बढेपछि आठ स्थानीय तहमा ‘अलैँची जोन’

गलकोट– जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु

मणिपुरमा म्यानमाबाट सन्दिग्ध आतंकवादी भित्रिएको सूचना, सीमाक्षेत्रमा उच्च सतर्कता

नयाँ दिल्ली– युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतंकवादी भारतको मणिपुर