आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

 एलन मस्कले ट्विटर किने

विश्वकै धनाढ्य एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने भएका छन् ।

ट्विटरको बोर्डले ४४ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । अब यस सहमतिलाई ट्विटरका शेयरधनीहररूले सदर गरेपछि अन्ततः ट्विटर मस्कको स्वामित्वमा आउने जनाइएको छ ।

दुई साताअघि मात्रै मस्कले ट्विटर खरिद गर्ने इच्छा प्रकट गरेका थिए । शुरुमा मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक नलिएपनि पछिल्लो पटक ट्विटरले उनको प्रस्तावमा सहमति जनाएको हो ।

‘वाक् स्वतन्त्रता सबल लोकतन्त्रको आधारशीला हो र ट्विटर शहरको डिजिटल चोक जस्तै हो, जहाँ मानव भविष्यका महत्वपूर्ण विषयमा बहस हुन्छ’ सम्झौतापछि मस्कले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘म नयाँ फिचर र खुला स्रोत अल्गोरिदमका साथ ट्विटरलाई अहिलेसम्मकै सबैभन्दा राम्रो बनाउन चाहन्छु ।’ विज्ञप्तिमा मस्कले लेखेका छन्, ‘ट्विटरमा विशाल सम्भावना छ ।’

फोर्ब्स म्यागेजिनका अनुसार २ खर्ब ७३ अर्ब डलरसहित मस्क विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति हुन् ।

स्विडेन र फिनल्याण्डले अर्को महिना नेटोमा सदस्यताका लागि आवेदन दिने

स्विडेन र फिनल्याण्डले अर्को महिना नेटोमा सदस्यताका लागि आवेदन दिने भएका छन् । ती मुलुकका स्थानीय अखबारहरूले आगामी मे महिनामा नेटोमा सदस्यताका लागि आवेदन दिने खुलासा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

फिनल्याण्डको ‘इल्थालेह्टी’ र स्विडेनको ‘एक्सप्रेसेन’ अखबारले श्रोतलाई उद्धृत गर्दै दुबै मुलुकले अर्को महिना नेटो सदस्यताका लागि आवेदन दिने जनाएका हुन् ।

‘इल्थालेह्टी’ का अनुसार मे महिनाको मध्यमा दुबै मुलुकका नेताहरूले भेट गरी सार्वजनिक रुपमा नेटो सदस्यताका लागि आवेदन दिएको घोषणा गर्नेछन् ।

यसबारे फिनल्याण्डका विदेशमन्त्री पेक्का हाभिस्टोले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ ।

यस्तै, स्विडेनको ‘एफ्टोनब्लाडेट’ अखबारले स्विडेन सरकार निकट श्रोतलाई उद्धृत गर्दै बेलायत र अमेरिकाले मुलुकमा सैनिक उपस्थितिलाई बढाउने बाचा गरेको जनाएको छ ।

‘एक्सप्रेसेन’‘एफ्टोनब्लाडेट’ को समाचारबारे स्विडेनको विदेश मन्त्रालयले पनि टिप्पणी गर्न अस्वीकार गरेको जनाइएको छ ।

दुई साताअघि स्विडेनी समकक्षी माग्दालेना एण्डरसनसँगको भेटमा फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले केही साताको अवधिमा फिनल्याण्डले नेटोमा सदस्यता दिने नदिनेबारे निर्णय गर्ने अपेक्षा गरेको बताएकी थिइन् ।

नेटोका साझेदारहरूसँग सैनिक सहयोग र सहकार्यलाई बढाएपनि यी दुई मुलुकले यसअघि नेटोमा आबद्ध हुन आनाकानी गरिरहेका थिए ।

यद्यपि गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि भने दुबै मुलुकले नेटोको सदस्यताका लागि आवेदन दिन लागेका हुन् ।

आणविक शक्तिलाई अझ विस्तार गर्ने किम जोङ उनको घोषणा

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले मुलुकको आणविक शक्तिलाई अझ विस्तार गर्ने घोषणा गरेका छन् ।

सोमबार अबेर आयोजित सैन्य परेडलाई सम्बोधन गर्दै सर्वोच्च नेता किमले आफ्नो मुलुकको आणविक शक्तिलाई अझ विस्तार गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

‘हामी सबैभन्दा तीव्र गतिमा हाम्रो राष्ट्रको आणविक क्षमताको विकास गर्न तथा यसलाई बढाउनका लागि निरन्तर कदमहरू चाल्नेछौँ ।’ सर्वोच्च नेता किमलाई उद्धृत गर्दै उत्तर कोरियाली सरकार सञ्चालित समाचार संस्था केसीएनएले जनाएको छ ।

उत्तर कोरियाली सेनाको स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय आणविक क्षेप्यास्त्र, पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र तथा अन्य हतियारहरू पनि प्रदर्शन गरिएको जनाइएको छ ।

परेडमा हालै परीक्षण गरिएको ह्वासोङ १७ नामक क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको बीबीसीले जनाएको छ । गत मार्च महिनामा उत्तर कोरियाले ह्वासोङ १७ को सफल परीक्षण गरेको दाबी गरेको थियो ।

यद्यपि दक्षिण कोरियाली सैन्य नेतृत्वले भने उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको सफलतामा प्रश्न उठाउने गरेका छन् ।

जर्मनीले युक्रेनलाई विभानभेदी प्रणाली उपलब्ध गराउने

जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली उपलब्ध गराउने भएको छ ।

सत्तारुढ गठबन्धनको उदारवादी फ्रि डेमोक्र्याट्स पार्टीका नेता योहान्नेस भोगलले सुडडोइच जेइतुङ अखबारलाई बताएअनुसार रक्षामन्त्री क्रिस्टिएन लाम्ब्रेख्टले साझेदारहरूसँग सल्लाह गरी यसबारे निर्णय गर्नेछिन् ।

भारी हतियार आपूर्ति नगरेको भनी जर्मनीभित्रै र अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको जर्मनीले युक्रेनलाई विमानभेदी प्रणाली उपलब्ध गराउन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि जर्मन चान्सलर ओलाफ शोल्जले युक्रेनलाई विमानभेदीट्यांकभेदी प्रणाली सहयोग गर्ने बाचा गरेको रोयटर्सले जनाएको छ ।

उनले यस्ता हतियारहरु रक्षात्मक भएको भन्दै जर्मनीको सैनिक मौज्दातमा रहेका केही हतियार युक्रेनलाई दिन सकिने बताएका थिए ।

मोल्दोभाको रुसी पृथकतावादीको नियन्त्रणमा रहेको क्षेत्रमा बम विष्फोट

युक्रेनको छिमेकी मुलुक मोल्दोभाको रुसी पृथकतावादीले शासन चलाइरहेको क्षेत्रमा बम विष्फोट भएको छ । मोल्दोभाको ड्निस्टर नदीपारि रुसी पृथकतावादीद्वारा सञ्चालित ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट भएको हो ।

ट्रान्सनिस्ट्रयाको टिरास्पोल शहरमा बम आक्रमण भएको त्यहाँको पृथकतावादी सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत ट्रान्सनिस्ट्रियाको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विष्फोटबाट केही भवनमा क्षति पुगेको जनाइएको छ ।

यद्यपि विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । ट्यांकभेदी ग्रिनेडबाट आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीय टिभिएस टेलिभिजनले बम विष्फोट भएको क्षेत्रमा वेवारिसे ग्रिनेड लन्चर फेला परेको जनाएको छ ।

आक्रमणको जिम्मा हालसम्म कसैले पनि लिएको छैन । यता पृथकतावादी क्षेत्रमा विष्फोट भएपछि मोल्दोभाको राष्ट्रपति माइया सन्दुले मुलुकको शीर्ष सुरक्षा परिषद्को बैठक डाकेका छन् ।

करिब ५ लाख जनसंख्या रहेको ट्रान्सनिस्ट्रयामा सन् १९९२ मा मोल्दोभाविरुद्ध भएको युद्ध यता रुस समर्थित पृथकतावादीहरुले शासन चलाइरहेका छन् । यद्यपि यस पृथकतावदी क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता भने अत्यन्त सीमित रहेको बताइन्छ ।

युक्रेन र मोल्दोभाको सीमामा पर्ने यस क्षेत्रमा रुसले ‘शान्ति स्थापना’ का लागि भन्दै १५ सय सैनिक परिचालन समेत गरेको छ ।

यसअघि रुसका एकजना वरिष्ठ सैनिक कमाण्डरले रुसले युक्रेनको दक्षिणी भूभाग कब्जा गरेको खण्डमा ट्रान्सनिस्ट्रया भौगोलिक रुपमा रुसमा जोडिने बताएका थिए ।

युक्रेनी इन्धन तथा तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको रुसको दाबी

रुसी सेनाले मध्य युक्रेनको क्रेमेन्चुक शहरमा रहेको इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको एउटा ब्रिफिङमा रुसी सेनाले धेरै सैन्य क्षेत्रमा हमला गरेको जनाएको छ ।

प्रवक्ता कोनासेन्कोभले भने, ‘रुसी सशस्त्र बलहरूले युक्रेनमा विशेष सैन्य कारबाही जारी राखेका छन् । लामो दूरीका हतियारहरूले क्रेमेन्चुक सहरको बाहिरी भागमा रहेको तेल प्रशोधन केन्द्र ध्वस्त पारेका छन् ।’ 

रुसी फौजले युक्रेनका ५६ ओटा सैन्य आधारहरूमा हमला गरेको मस्कोले दाबी गरेको छ। यद्यपि, मस्कोको दाबी पुष्टि हुन बाँकी नै छ।

रुसले मारिओपोलमा रहेको एजोभस्टल स्टिल कारखानामा आक्रमण रोक्ने र त्यहाँबाट सर्वसाधारणलाई बाहिर निस्कन दिने बताएको छ। तर, युक्रेनले लिखित सुरक्षा सुनिश्चितताको माग गरेको छ।

एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको रुसको दाबी

रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनका ५ सय सैनिक मारिएको दाबी गरेको हो ।

विज्ञप्तिमा युक्रेनका ८७ सैनिक निशानामा आक्रमण गरिएको समेत जनाइएको छ । रक्षा मन्त्रालयले रुसी वायुसेनाले युक्रेनको विभिन्न स्थानका ८७ सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको जनाएको हो ।

पूर्वी युक्रेनको खारकिभ शहरमा रहेका दुई हतियार भण्डारणमा पनि आक्रमण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

यद्यपि रुसी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ । यसबारे युक्रेनी पक्षबाट कुनै टिप्पणी नआइसकेको बताइएको छ ।

रुस युक्रेनमा असफल भएको अमेरिकी विदेशमन्त्रीको टिप्पणी

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्कनले सो धारणा राखेको बीबीसीले जनाएको छ ।

उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै अमेरिकी रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा पुगेका थिए ।

युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतबार युक्रेनको राजधानी किभ पुगेका हुन् । 

पछिल्लो समयमा रुसले आफ्नो आक्रमण पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । यसअघि रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो । रुसको आक्रमण सुरु भएपछि यो उच्चस्तरीय अमेरिकी भ्रमण हो ।

रुसी विदेशमन्त्रीद्वारा तेश्रो विश्वयुद्धको चेतावनी

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेश्रो विश्वयुद्धको चेतावनी दिएका छन् । रुसी समाचार संस्था इन्टरफ्याक्सका पत्रकारहरूसँग कुरा गर्दै उनले तेश्रो विश्वयुद्धको चेतावनी दिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

उनले युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका हुन् । लाभरोभले शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले जनाएको छ ।

उनले भने– ‘सद्भावनाको सीमा हुन्छ । तर यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मद्दत गर्दैन ।’

लाभरोभले टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भएको बैठकमा युक्रेनी पक्षले अघिल्लो अडानबाट पछि हटेर सम्झौताको मस्यौदा प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

यसबाहेक लाभरोभले रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तोकेको टोलीसँग वार्तामा संलग्न हुने कुरामा जोड दिएका छन् । तर लाभ्रोभले भने जेलेन्स्कीले शान्तिवार्ताको नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् ।

लाभरोभले तेस्रो विश्वयुद्धको खतरा बाहिर सुनिए जत्तिकै वास्तविक रहेको समेत चेतावनी दिएका छन् । ‘खतरा गम्भीर छ, यो वास्तविक हो ।’ उनले भने ।

दक्षिण कोरियामा कोरोना भाइरसका ८० हजार संक्रमित थपिए

दक्षिण कोरियामा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेको देखिएको छ । त्यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार गएको २४ घन्टाभित्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ ।

दक्षिण कोरियामा पछिल्ला हप्ताहरूमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण रहेको पाइएको पनि समाचारमा जनाइएको छ ।

त्यहाँ अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो ।

सोमबार मात्र यहाँ कोभिडका संक्रमित ८० हजार नाघेको बताइएको छ । तर पनि पछिल्ला दिनहरूमा कोभिडका सङ्क्रमितहरूको संख्या घट्दै गएको देखिएको अधिकारीहरूले जनाएका छन् ।

संक्रमितमध्ये ६१३ जनाको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

संक्रमणबाट पछिल्लो पटक ८२ जनाको ज्यान गएको बताइएको छ । अहिलेसम्म कोभिडबाट दक्षिण कोरियामा २२ हजार ३२५ जनाको ज्यान गएको बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले कोभिड संक्रमितहरूमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ४३ बजे

एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरूले बोलिसकेर

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेकी महिला पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पार्ने युवतीलाई प्रहरीले

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका