स्वास्थ्य सेवामा अब्बल बन्दै खजुरा « Khabarhub

स्वास्थ्य सेवामा अब्बल बन्दै खजुरा


१३ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको खजुरा गाउँपालिका जनप्रतिनिधि आएको पाँच वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको छ । 

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी प्रदेशका बर्दिया, दाङलगायत सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ठूलो सङ्ख्यामा बिरामी आउनेक्रम बढेको छ । खजुरा गाउँपालिकाले वडा नं ३ मा १५ शैययाको अर्को अस्पताल निर्माण गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै त्यसलाई अस्पतालका रुपमा निर्माण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिएका छन् । 

उनका अनुसार गाउँपालिकाले संघीय सरकारको रु १८ करोड छ लाख लागतमा उक्त अस्पतालको भौतिक निर्माणको काम सञ्चालन गरेको छ । गाउँपालिकाले सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन हरसम्भव योजना बनाएर काम गर्दै आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा खजुरा गाउँपालिकाले स्वास्थ्य सेवाका लागि रु ८१ लाख दुई हजार बजेट र नागरिक आरोग्य केन्द्रका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । त्यसअनुसार पालिकामा काम भइरहेको छ ।

हाल गाउँपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र रहेका छन् । प्रत्येक वडामा एक स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य पूरा गरेको गाउँपालिकाले वडास्तरबाटै जनताको स्वास्थ्यमा पहुँच बढाएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुदीप पौडेलले बताए । उनका अनुसार हाल गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच स्वास्थ्यचौकी र दुई आधारभूत स्वास्थ्य केन्द्र गरी आठ स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थालाई गाउँपालिकाको स्वास्थ्य शाखाले नियमित अनुगमन गर्ने गरेको छ । 

“वडामा रहेका स्वास्थ्यचौकीमा आउने समस्यालाई वडाबाटै समस्याको समाधान गर्न उहाँहरूलाई सिकाउने गर्दछौँ, त्यसपछिका समस्यालाई स्वास्थ्य शाखा र पालिकासम्म समन्वय गरेर समस्याको समाधान गर्ने गरेका छौँ”, उनले भने “जहाँ जनशक्तिको अभाव हुन्छ, त्यहाँ नजिकैको स्वास्थ्य संस्थासँग समन्वय गरेर काम गर्छौ ।” गाउँपालिकाले निरन्तरता दिएको सबैभन्दा महत्वपूर्ण योजना स्वास्थ्य शिविर हो । प्रत्येक वर्ष पालिकाले प्रत्येक वडामा विभिन्न किसिमका स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा विशेषज्ञ चिकित्सकसहितको टोलीसहित वडामा पुगेर पालिकाका सबै नागरिकको स्वास्थ्य जाँच गर्दै आएको छ ।

शाखा प्रमुख पौडेलका अनुसार गाउँपालिकाको नियमित कार्यक्रमअन्तर्गत वार्षिकरूपमा विशेषज्ञ चिकित्सक टोलीका साथ सबै वडामा स्वास्थ्य जाँच गर्ने शिविर रहेको छ । पहिलो दुई वर्ष नियमित सञ्चालन भएको शिविर कोरोनाका कारण दुई वर्ष केही प्रभावित भए पनि फेरि शिविरलाई निरन्तरता दिइएको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाएका ज्येष्ठ नागरिकलाई शिविरमा विशेष प्राथमिकता दिएको छ । विभिन्न कारणले टाढा गएर जाँच गर्न नसक्ने अवस्था भएको हुँदा चिकित्सकको टोलीसहित जाँच गर्ने र आवश्यक परामर्श दिने काम शिविरमा हुने गरेको पौडेलले बताए ।

गाउँपालिकाले दुई वर्षदेखि सुत्केरीसँग स्वास्थ्यकर्मी योजना सञ्चालन गर्दै आएको छ । त्यसमा स्वास्थ्य संस्थाबाट सुत्केरी गराएका आमा र बच्चाको हेरचाहका लागि स्वास्थ्यकर्मी घरदैलोमा पुग्ने गरेका छन् । मातृशिशु दर कम गर्न र आमा तथा बच्चाको स्वास्थ्य अवस्था बुझ्न सञ्चालन गरिएको यो योजना धेरै प्रभावकारी देखिएको छ । सुत्केरीसँग स्वास्थ्यकर्मी योजनाअनुसार सम्बन्धित संस्थाका नर्सिङ कर्मचारीबाट सुत्केरी भएको तीन र सातौँ दिनमा बच्चा तथा आमाको अवस्था जाँच गर्ने गरिएको छ । दुई वर्षमा पालिकाले एक हजार २४३ सुत्केरी आमालाई सेवा दिइसकेको छ ।

गाउँपालिकाले नेपाल सरकारको वार्षिक कार्यअनुसार ९६ प्रतिशत काम सम्पन्न गरेको पाइएको छ । मातृशिशु, सुत्केरी सेवा, हात्तीपाइले, कोभिड एवं नियमित खोप, पोषणका कार्यक्रम गाउँपालिका स्वास्थ्य शाखाले नियमित सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ३१ बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा